सरकार र अनशनरत डा.केसी पक्षबीच आज वार्ता हुँदै



काठमाडौं । सरकार र आमरण अनशनरत डा.गोविन्द केसी पक्षबीच आज वार्ता हुँदै छ । अपराह्न चार बजेपछि वार्ता गर्ने तयारी छ ।

डा.केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले आज सरकारी टोलीसँग वार्ता हुने बताए । केसीले भने, हामी तयारी अवस्थामा छौं । सरकारले जति बजे, जहाँ बोलाउँछ, हामी त्यहीँ जान्छौं ।

सरकारी वार्ता टोलीका संयोजक एवम् शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली सार्क मन्त्रीस्तरीय बैठकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म सहभागी हुने कार्यक्रम रहेकाले त्यसपछि मात्रै वार्ता बस्ने तयारी गरिएको छ ।

डा.केसीले आमरण अनशन सुरु गरेको २४ औं दिनमा सरकारले बुधबार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतुत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्