दिपु वर्णवाल, विरगंज । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई न्युन राख्न आफुहरु लागिपरेको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महाविर पुनले बताएका छन् । कोरोना विरुद्धको युद्धमा अंग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न उपकरणहरुको आविष्कार गरि स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेको बताएका हुन् ।
शनिबार नारायणी अस्पतालमा आयोजना भएको कोभिड – १९ प्रोटेक्टेड ओपिडी समुद्घाटन तथा हस्तान्तरण समारोहमा प्रमुख अतिथीका रुपमा सहभागि भएका प्रमुख वैज्ञानिकले कोरोना विरुद्धको अस्त्रहरुको निर्माणमा आफु र आफ्नो संस्था खटिईरहेको जानकारी गराए ।
“विश्व युद्धमा सैनिकहरु लड्छन् । तर, यो कोरोना विरुद्धको युद्ध हो, यो स्वास्थ्यकर्मीहरुले लडिईरहेका छन् ।” वैज्ञानिक पुनले भने, “स्वास्थ्यकर्मीहरुलाई कोरोनाको युद्ध लड्न चाहिने स्वास्थ्य उपकरण बनाउन हामी लागि परेको छौ ।”
कार्यक्रममा केन्द्ले बनाएको वायु कवचको उपयोगिता बारे प्रस्तुती दिएका थिए । सामुदायिक संस्था सानो पाइला, राष्ट्रिय आविष्कार केन्द्र, सहायता नेपाल तथा नारायणी अस्पतालको समन्वयमा नारायणी अस्पताल परिसरमा निर्माण भएको कोभिड – १९ प्रोटेक्टेड ओपिडी वार्डको उद्घाटन गर्न वैज्ञानिक पुन बीरगन्ज आईपुगेका हुन् ।
वैज्ञानिक पुनले नारायणी अस्पताल परिसरमा निर्माण भएको कोभिड – १९ प्रोटेक्टेड ओपिडी नेपालमै नमुना ओपिडी भएको बताए । उनले अब बीरगन्जमा कोरोना संक्रमणको दायरा बढेपनि बिरामीहरुका लागि सुरक्षित स्वास्थ्य सेवा प्रवाह भईरहने बताए ।
अस्पताल परिसरमा निर्माण भएको कोभिड – १९ प्रोटेक्टेड ओपिडी वार्डमा बिरामीहरुको उपचार गर्द संक्रमणको सम्भावना निकै न्युन हुने नारायणी अस्पतालका मेसु डा। सञ्चय ठाकुरले बताएका छन् । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा। ठाकुरले कोरोना संक्रमणको दायरा बढ्दा ओपिडी सेवा बन्द गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनका अनुसार यस प्रोटेक्टेड ओपिडी वार्डमा चिकित्सक र बिरामीको साक्षात्कार हुने छैन ।
“सिसा वारि चिकित्सक र पारि बिरामी बस्नेछन् । माईक जडान गरिएको छ । उक्त माईकका माध्यमले चिकित्सकले परामर्श प्रदान गर्नेछन् ।” डा। ठाकुरले भने, “यस ओपिडी वार्डमा प्रवेश गर्नु अगावै बिरामीहरुको शारिरीक तापक्रम मापन गरिनेछ । सामान्यभन्दा बढी तापक्रम भएकाहरुलाई सस्पेक्ट वार्डमा पठाउने र सामान्य भएका लाई यस वार्डमा प्रवेश दिईनेछ ।”
नेपालकै नमुना ओपिडी बीरगन्जमा निर्माण भएकोमा खुशी व्यक्त गर्दै डा। ठाकुरले निर्माणमा संलग्न सामुदायिक संस्था सानो पाइला, राष्ट्र्रिय आविष्कार केन्द्रको उच्च प्रशंसा गरेका थिए ।
भिडभाडमा कोरोना संक्रमणको सम्भावना उच्च हुने हुँदा यस वार्डमा सामाजिक दुरीको अवलम्बन गर्दै बिरामीहरुको उपचारको व्यवस्था मिलाईएको डा.ठाकुरले भने । आउने केही दिनमा यहाँका सबै सेवाहरु अनलाईन पद्धतीबाट हुने व्यवस्था मिलाउन लागिएको उनको भनाई छ ।
सरकारले गर्ने काम सामुदायिक संस्था सानो पाइलाले गर्दै आईरहेको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले बताए ।
महासंघ अध्यक्ष बञ्जाराले अस्पतालमा अनेकन दाताहरुले सहयोग गरेपनि अस्पतालले सहयोगको संरक्षण गर्न नसकेको भन्दै आपत्ती प्रकट गरे । सरसफाई जस्तो आधारभुत सेवा प्रवाहमा पनि अस्पताल प्रशासन चुकेको उनको भनाई छ । करिब २ सय ५० भन्दा बढी कर्मचारीहरु रहेको अस्पतालमा सरसफाईको कमी लाजमर्दो विषय भएको भन्दै उनले रोश प्रकट गरे । कोरोनाका कारण आईसोलेसनमा रहेकाहरुलाई सानो पाईलाले भोजनको व्यवस्थापन गरेको अवधीको भुक्तानी पनि एक होटेललाई गरिएको भन्दै उनले छानबिनका लागि अनुरोध गरे ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले तराईमा व्याप्त राजनिती गिजलोका कारण नेशनल मेडिकल कलेजमा आईसोलेसन सञ्चालनमा समयमा लागेको बताए । आफुले भदौ १ गतेदेखि कलेजमा आईसोलेसन सञ्चालनका लागि थालेको पहल भदौ १० गते मात्र सम्भव भएको उनको भनाई छ । तर, कोभिडको उपचारका लागि नगवास्थित कलेजको आईसोलेसनमा भर पर्न नसक्ने उनले टिप्पणी गरे ।
कोभिडका तथा सामान्य अवस्थाका बिरामीहरुको उपचारका लागि नारायणी अस्पताल सदैव तयार रहनुपर्नेमा उनले जोड दिए । उनले समाज रुपान्तरणको यात्रामा अघि बढेको संस्थाहरुको पहलमा निर्माण भएको कोभिड १९ प्रोटेक्टेड ओपिडीको सफलताको शुभकामना व्यक्त गरे ।
नारायणी अस्पताल विकास समितीका अध्यक्ष पुरेन्द्र किशोर लाभको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय वैज्ञानिक केन्द्रका प्रमुख वैज्ञानिक महाबिर पुनको प्रमुख आतिथ्य थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग, नारायणी अस्पतालका मेसु डा.सञ्जय ठाकुर, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बञ्जारा, चिकित्सक तथा सानो पाइलाकी उपसभापति डा.सोनी झा ठाकुर, सानो पाइलाकी सचिव डा.सुष्मा तिवारीलगायतकाको उपस्थिती थियो ।
सञ्चारकर्मी विवेक कर्णले सहजीकरण गरेको कार्यक्रममा सामुदायिक संस्था सानो पाइलाका प्रमख कार्यकारी अधिकृत कञ्चन झाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।