‘कर्णाली प्रदेशको विवाद मिलाउने जिम्मा ओलीकै हो’ : प्रचण्ड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तत्कालीन एमाले र माओवादी एकताअघि मुख्यमन्त्री भागवण्डा हुँदा कर्णाली प्रदेश माओवादीको भागमा परेको थियो ।

पूर्व एमालेतर्फका १५ सांसद र पूर्वमाओवादीका ३ सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सोमबार ओलीसँग बालुवाटारमा झण्डै एक घण्टासम्म भएको भेटमा प्रचण्डले विवाद मिलाउने जिम्मा ओलीकै भएको बताएका थिए ।

‘कर्णालीमा जे भयो राम्रो भएन भनेर प्रचण्डले भन्नुभयो’, प्रचण्डको सचिवालय
स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले नै मिलाएर लैजानुपर्छ’ भन्ने कुरा भयो । शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसद यमलाल कँडेल प्रधानमन्त्री ओली निकटका हुन् । उनी मुख्यमन्त्रीका आकांक्षी समेत हुन् ।

प्रचण्डले पार्टी एकताको काम नसकिँदै एकता विपरीतको गतिविधि भएकोमा प्रधानमन्त्री ओलीविरुद्ध असन्तुष्टि जनाएका थिए । ‘यसले पार्टीमा र जनतामा राम्रो सन्देश जाँदैन भनेर अध्यक्षले अर्का अध्यक्षसँग कुरा गर्नु भएको छ’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘पार्टी एकता मर्मतविरीत जाने काम कर्णालीमा भयो’ भनेर भन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्