लोक सेवा आयोगले खोल्यो सहसचिव र उपसचिवको विज्ञापन, मंसिरदेखि परीक्षा सुरु



काठमाडौं । लोक सेवा आयोगले लामो समयपछि संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ ।

राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक/अप्राविधिक) स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो ।

एक सय ८० भन्दा बढी सहसचिव र चार सय ५० भन्दा बढी उपसचिव पदमा आयोगले आवेदन मागेको छ । अधिकांश कोटा बढुवाबाट पदपुर्ति हुने खालका छन् भने खुलामा थोरैमात्रै सिट छन् ।

कोरोनाभाइरस महामारीपछि गत चैतदेखि आयोगले आवेदन खुला गरेको थिएन । पहिलो चरणका परीक्षा दिएकाहरुको दोस्रो चरणका परीक्षा पनि महामारीले स्थगित थियो ।

आयोगले आज खुलाएको विज्ञापनअनुसार परीक्षाका लागि कात्तिक १८ गतेसम्म फारम भरिसक्नु पर्नेछ।

आयोगको वेवसाइट https://psc.gov.np/ मा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ।

दरखास्त दस्तुर राप पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र राप द्वीतीय श्रेणी/नवौं तहका लागि एक हजार दुई सय रुपैयाँ बुझाउनु पर्ने आयोगको भनाइ छ । परीक्षा मंसिरदेखि सुरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्