काँग्रेस शीर्ष नेताबीच बैठक बस्दै, केन्द्रीय समिति बैठकबारे छलफल हुने



काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो १ बजे शीर्ष नेताबीच छलफल हुने नेता एनपी साउदले जानकारी दिए ।

पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि मंगलबारलाई स्थगित भएको बैठक आज बस्न लागेको हो । केसीको निधनको शोकमा मंगलबार दिउँसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित भएको थियो ।

पार्टीमा उत्पन्न विवादको समाधानका लागि सोमबार पनि काँग्रेस शीर्ष नेताहरुबीच छलफल भएको थियो । सोमबारको बैठक विना निष्कर्ष टुंगिएको थियो ।

१४ औं महाधिवेशनको कार्यतालिका, पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धमा काँग्रेसभित्र लामो समयदेखि मतमतान्तर छ ।

विभाग गठन मनोनया, भ्रातृ तथा शुभेच्छक संस्थाको म्याद थप र महाधिवेशन तथा क्रियाशील सदस्यताको वितरणका सन्दर्भमा भएका विधानविपरीत निर्णयहरु भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विरोधमा छ ।

प्रतिक्रिया दिनुहोस्