काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै दिएको लिखित ‘अल्टिमेटम’ को समय सोमबार सकिँदैछ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेर लिखित रुपमै बैठक बोलाउन माग गरेका थिए ।
लिखित पत्र बुझाएका उनीहरुले सोमबारभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए । तर, ५ भाइ नेताको उक्त आग्रह र अल्टिमेटमलाई अध्यक्ष ओलीले भने वेवास्ता गरिरहेका छन् ।
बरु ओली प्रचण्डसँग छुट्टै संवाद र सहमतिपछि मात्रै बैठक बोलाउने पक्षमा छन् ।
त्यसका लागि उनले शनिबार ५ जना नेताहरु र आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ जना नेताहरुसँगको भेटमा पनि सहमति गरेर मात्रै बैठक बोलाउनुपर्ने आशय व्यक्त गरेका छन् । ओलीको यो आशयलाई भने नेकपाका नेताहरुले उल्टो गतिको संज्ञा दिएका छन् ।