काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा भएको भेटमा पार्टीभित्र विवादबारे छलफल भएको बताइएको छ ।
गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा प्रतिवेदन ल्याएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली आक्रोशित बनेका छन् ।
प्रधानमन्त्री ओलीले मंसिर ३ गते बसेको बैठकमा प्रचण्डविरूद्ध आक्रोशसमेत पोखेका थिए । प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मंसिर १३ सम्मको समय मागेका छन् ।
दुई अध्यक्षबीच विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेल प्रचण्डलाई भेट्न गएका हुन् । यसअघि पनि उनी प्रचण्डलाई भेट्न उनको निवास खुमलटारमा पुग्ने गर्थे ।
धुम्बाराहीमा प्रचण्डलाई भेटेपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव पौडेलले परिस्थिति निकै गम्भीर भएको बताए ।