काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफूले अझै ३० वर्षका युवासँग राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्।
दाङको तुलसीपुरमा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले आफूले पार्टीमा लामो समय योगदान गरेको प्रसंग उल्लेख गर्दै अझै पनि युवाहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए।
पछिल्लो समय पार्टीमा समस्या उत्पन्न भएको र त्यो समाधान गर्ने प्रयास भइरहेको उनले बताए । इमान्दार कार्यकर्ताले उत्पन्न समस्या समाधान गर्न र पार्टी विभाजन नगर्न भनेर खबरदारी गरिरहेको उपाध्यक्ष गौतमले बताए ।
उनले आफूहरूसँगै बसेर उत्पन्न समस्या समाधानको प्रयास गरिरहेको बताए । उनले पार्टीभित्र समस्या भने रहेको स्वीकार गरे । साथै उनले मिलेको पार्टी विभाजनसमेत हुनसक्ने बताए ।
‘मिलेको पार्टी फुट्न किन सक्दैन ?’ उनले प्रश्न गरे । मर्दै नमर्ने व्यक्ति कोही नहुने र त्यो प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो कुरा नहुने उनको आशय थियो ।
पार्टीमा दुबै अध्यक्षको हैसियत बराबर भए पनि वरिष्ठताको आधारमा पहिला केपी शर्मा ओलीको नाम लेख्ने भन्ने कुरा भएको उनले तर्क गरे ।
उनले नेकपाभित्रको विवादलाई कुखुराको बानीसँग पनि तुलना गरे । ‘खोरमा पालेको हैन, छोडुवा कुखराले जब कुनै पनि खाने कुरा फेला पार्छ, त्यसले यति हल्ला मच्चाउँछ कि सारा कुखुरा त्यहीँ झुम्मिन पुग्छन्,’ गौतमले थपे, ‘अहिले भएको त्यही हो र हामी पनि हल्ला सुनेपछि झुम्मिएर झगडा गर्ने खुकुराजस्तै भएका छौं।’