काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवन थापा कक्षा ८ मा पढछन् । उनलाई विद्यालयसम्म पुग्नका लागि निकै मिहिनेत गर्नुपर्छ । हरेक दिन विद्यालय आउजाउ गर्न उनलाई चार घण्टा लाग्छ । जान दुई घण्टा । फर्कन दुई घण्टा ।
बिहान ८ बजे नै पाकेको गाँस टिपेर हिड्छन्, भुवन थापा । विद्यालय पुग्दा थकान र भोक पीडित भएका उनले घर फर्किदा रात परिसकेको हुन्छ । किताव खोल्न नपाई निदाउँछन् ।
थापा त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाकै विकटमध्येको एक धौलागिरि गाउँपालिका–७ बगरका बालबालिका गाउँमा विद्यालय नभएपछि दैनिक चार घण्टा हिडेर धारापानीको किसानी माध्यमिक विद्यालय जान बाध्य छन् ।
थापा अहिले धौलागिरि गाउँपालिकाले शिवाङको हेम माविमा सञ्चालन गरेको नमूना आवासीय माविको छात्रावासमा बस्न थालेका छन् । छात्रावासमा बस्न थालेपछि एक मिनेटमै कक्षा कोठामा पुग्न पाउँदा उनी दङ्ग छन् ।
आवासीय विद्यालय सञ्चालन भएपछि थापाजस्तै विकट क्षेत्रका विपन्न बालबालिकालाई आधारभूतस्तरको शिक्षा हासिल गर्न सहज भएको छ ।
सरकारी विद्यालयमा आवासीय सुविधा भएपछि दैनिक तीन÷चार घण्टा दुःख कष्टका साथ भिर, जङ्गल र खोलाको बाटो पैदल हिँडेर जङ्गली जनावरलाई छलेर स्कूल जानुपर्ने समस्या हटेको छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्ने क्रम घटेको छ । हाल कक्षा १ देखि १० सम्म अध्ययन गर्ने २२ जना बालबालिकाले आवासीय सुविधा पाएका छन् । पालिकाभर आवासीय विद्यालयमा राख्नुपर्ने ७६ जना विद्यार्थी पहिचान भएका छन् । उनीहरु सबैलाई आवासीयमा भर्ना गर्ने तयारी छ ।