सुदूरपश्चिममा थप ६२ जनामा कोरोना सङ्क्रमण



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, अछाम र बझाङ जिल्लामा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४३ नमूनाको परीक्षण गरिएको थियो । कोरोना भाइरसका नयाँ थपिएका समेत आजसम्म १३ हजार ९१ सङ्क्रमित पुगेका छन् ।

आजसम्म कैलाली २६, कञ्चनपुर १०, बझाङ र डडेलधुरामा तीन÷तीन, अछाम, बाजुरा र दार्चुलामा दुई÷दुई र बैतडी र डोटीमा एक÷एकजनासमेत ५० जना सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमित भई होम आइसोलेशनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

कोरोना सङ्क्रमित भई उपचार व्यवस्थापनपछि १० हजार ६७६ जना घर फर्किएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा दुईको सघन उपचारकक्ष र एकजनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । रुघाखोकी हुने र ज्वरो आउने कोरोना भाइरसको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्दा पनि नमूना सङ्कलनमा कमी आएको देखिएको जनाइएको छ ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाप्रमुख लक्ष्मीराज उपाध्यायले दैनिक कोरोना भाइरसका शङ्कास्पद १०० जनाको नमूना सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि लक्ष्य पूरा नसकिरहेको बताए । प्रदेशमा पछिल्लो महिनामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित बिरामी र जटिल अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु हुने दर पनि बढेको छ । सक्रिय सङ्क्रमित बिरामी दुई हजार ५४२ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्