भरतपुर आँखा रोगको उपचार सेवा आजबाट सुरु गरिएको छ । अस्पतालमा अाँखा रोग विभागको शुभारम्भसँगै सो सेवा सुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा.जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्म गरेका हुन् ।
सो अवसरमा अध्यक्ष डा.अधिकारीले अन्य रोगको उपचार हुदैँ गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताए । राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै उनले संघीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको बताए ।
निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.तिवारीले मधुमेह, उच्च रक्तचाप लगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको बताए । उनले भने, अहिले साधारण सेवाबाट शुरु गर्छौ, पछि विशिष्ट सेवा दिन्छौँ । हाल शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध हुने उनले बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ । पौडेलले अस्पतालको १३ औँ विभागको रुपमा आँखा विभाग स्थापना भएको बताए ।
यस अस्पतालमा चितवनसहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ट अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिने गरिन्छ ।