महिला लिग फुटबलमा आज आर्मी र पुलिस भिड्ने



राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुदैँछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । पहिलो पटक बृहत्रूपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । उद्घाटनपछिका खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् । एपीएप क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुन लागेको हो । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन । यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडी समेत राख्न पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु.१० लाख, दोस्रोले रु.आठ लाख, तेस्रोले रु.पाँच लाख र चौथो हुनेले रु.तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु.५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्