प्रेम पाण्डेय, सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले गाउँपालिकाको एक बिद्यालयको दुइवटा कक्षाकोठामा तालाबन्दी गरेका छन् । उनले गाउँपालिकाको वडा नम्बर १ खाडास्थित गणेश आधारभूत बिद्यालयको दुईवटा कक्षाकोठामा तालाबन्दी गरेका हुन् । अध्यक्ष बमले ४ र ५ कक्षामा पढीरहेका बिद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकाल्दै आइतबार दिउँसो ३ बजे तालाबन्दी गरेको बिद्यालयका प्रधानाध्यापक सप्रन्द न्यौपानेले जानकारी दिए ।
उनले भने, “आइतबार गाउँपालिकाका अध्यक्षज्यू दिउँसो ३ बजेतिर बिद्यालयमा आउनुभयो, कक्षाकोठामा बिद्यार्थीहरु पढिरहेका थिए । उनीहरुलाई झोला ल्याएर बाहिर आओ भन्नुभयो । बिद्याथीहरु झोला समातेर बाहिर आए । अनि कक्षाकोठामा ताला लगाउनुभयो । दुई जनाको झोला त त्यही भित्र रहे । किन ताला लगाएको भनेर सोध्दा बोल्दै बोल्नु भएन ।” बिद्यालय व्यवस्थापन समितिका सदस्य मनप्रसाद न्यौपानेका अनुसार अध्यक्ष बमले दुइकोठे पक्कि भवन निर्माण गर्दा ६ लाख रकम लिन बाँकी रहेकोले तालाबन्दी गरेको जवाफ दिएका छन् ।
बिद्यालयमा ताला किन लगाएको भन्नेबारे परिबर्तन खबर टीमले अध्यक्ष बमलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन । तर प्राविधिक स्टीमेड अनुसार काम नभएको, उपभोक्ता समिति र विद्यालयको मिलेमतोमा अधुरो भवनमा हतारमा विद्यार्थी राखेपछी आफुले छानविन नहुँदासम्मको लागी ताला लगाएको भन्दै अध्यक्ष बमले बिभिन्न संचार माध्यममा प्रतिक्रिया दिएका छन् ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र हमालले विद्यालयको भवन निर्माण गर्दा उपभोक्ता समिति नै गठन नभएको जानकारी दिए । ‘अध्यक्ष बमले नै वडा नम्बर ७ का छत्रबहादुर बमलाई ठेक्का दिएर भवन निर्माण गर्न लगाएका थिए ।’ हमालले भने,‘उपभोक्ता समिति नै गठन भएको थिएन अनि कसरी उपभोक्ता समिति र विद्यालयलाई उहाँले आरोप लगाउनुभयो ? थाहा भएन ।’
अध्यक्ष बमले विद्यालयका कक्षाकोठामा ताला किन लगाएका हुन् भन्नेबारे परिबर्तन खबरले विद्यालयका प्रधानाध्यापक सर्पनन्द न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र हमाल र सदस्य मनप्रसाद न्यौपानेसँग सम्पर्क गरेको थियो । उनीहरुको भनाई संपादित रुपमा यहाँ प्रस्तुत गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक सर्पनन्द न्यौपाने
आइतबार गाउँपालिका अध्यक्ष आएर ३ बजेतिर कक्षाकोठामा ताला लगाउनुभएको हो । ताला किन लगाउनु भएको हो, के कारणले लगाउनु भएको हो त्यो केही बोल्दै बोल्नुुभएन । यसअघि अग्नी पीडितका कुराहरु चलेका थिए । २०७५ साल पौष ८ गते राती पलाँता गाउँपालिकाको वडा नम्बर १ को खाडास्थित न्यौपाने गाउँमा आगलागी भएको हजुरहरुलाई थाहा नै होला । आगलागीपछि पीडितलाई बिभिन्न ठाउँबाट राहत आएको थियो । राहत बाँडफाडमा गाउँपालिकाका अध्यक्ष बमले अनियमितता गरेको भनेर कुरा पनि उठेको हो । अर्कोकुरा उहाँ (लक्ष्मण बम)ले अग्नीपीडितलाई व्यक्तिगत रुपमा १५ लाख दिन्छु भनेर घोषणा गर्नुभएको थियो ।
तर पछि सरकारको सहयोगमा आगलागी पीडितका भवनहरु निर्माण भइसकेकोले आफ्नो व्यक्तिगत रकम बिद्यालयको भवन निर्माणमा लगाउँछु भन्दै उहाँ (लक्ष्मण बम)ले वडा नम्बर ७ नाइबाडाका छत्रबहादुर बमलाई ठेक्कामा दिनुभएको हो । हुनत बिद्यालयको दुइकोठे भवन पहिल्यै थियो । पछि ल्यान्टरवाला दुइकोठे पक्कि भवन बनाउने भनेर उहाँ (लक्ष्मण बम)ले नै पुरानो भवन भत्काउन लगाउनुभएको हो । ढुंगा बिद्यालयकै हुन् । बाहिरबाट ल्याएका होइनन् । त्यहाँ सिमेन्ट, सरीया र बालुवा मात्रै ल्याइएको हो । उहाँ (लक्ष्मण बम)को मान्छे नाइबाडाको छत्र बमले त्यो भवन बनाइदिएका हुन् ।
खाडाका मान्छेले त्यो भवनमा केही पनि काम गरेनन् । बिद्यालयको पुरानो भवन भत्काएर नयाँ भवन लगाउने बिद्यालय व्यवस्थापन समितिको कुनै निर्णय पनि थिएन । बिद्यालय व्यवस्थापन समितिलाई सोधपुछ पनि भएन । सोझै बिद्यालयमा आएर पुरानो भवन भत्काउन लगाउनुभयो । त्यसपछि मैले त्यतिबेलै ढुंगा दिदैनौं भनेर पहल चालेको हुँ । मेरो केही पनि लागेन त्यहाँ । सरकारको अगाडी केही पनि लाग्दैन हेर्नुहोस् कर्मचारीको यो ठाउँमा । फेरि उहाँ (लक्ष्मण बम)ले आफैं आएर हिजो पढीरहेका बिद्यार्थीलाई बाहिर निकालेर कक्षाकोठा बन्द गर्नुभयो । किन ताला लगाएको भनेर सोध्दा केही पनि बताउनुभएन । उहाँ(लक्ष्मण बम) आउनु भयो । बच्चाहरु भित्र बसेका थिए । ४,५ कक्षाका बिद्यार्थी कक्षाकोठामा बसालेको थिए । बच्चालाई झोला ल्याएर बाहिर आओ भन्नुभयो । झोला ल्याएर बाहिर आए । दुइ जनाको झोला त त्यही भित्र रहेका थिए । ती बिद्यार्थीहरुले सोमबार झ्यालबाट छिरेर झोला निकाले ।
वडा नम्बर एकको वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र हमाल
म अहिले बाँकेमा छु सर । मैले पनि विद्यालयमा तालाबन्दी गरेको खबर पाएँ । म एकदुई दिनपछि गाउँमा पुगेर बिस्तृत बुझौंला । तर अध्यक्ष लक्ष्मण बमले विद्यालय व्यवस्थापन समितिसंग पनि कुरा नै नगरी तालाबन्दी गर्नुभयो भन्ने सुने । विद्यालयका प्रधानाध्यापकसंग पनि सल्लाहा गर्नुभएन छ । पढीराखेका विद्यार्थीलाई बाहिर निकालेर तालाबन्दी गर्नु भएछ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य मनप्रसाद न्यौपाने
हिजो ३ बजे तिरको कुरा हो । बिद्यार्थीहरु कक्षा कोठामा पढीरहेका बेला गाउँपालिका अध्यक्ष लक्ष्मण बम विद्यालयमा जानु भएछ । बिद्यालयमा प्रधानाध्यापकसंग कुनै कुरा नगरेर ताला लगाएर जानु भयो भन्ने खबर सुनेँ । पहिले ४ कोठे भवन थियो त्यहाँ । खाडा गाउँमा आगलागी हुँदा लक्ष्मण बमले म व्यक्तिगत रुपमा १५ लाख रुपैंया सहयोग गर्छु भन्नुभयो ।
तर त्यहाँका जनताले तिम्रो व्यक्तिगत रुपैंया चाहिँदैन, भोली तपाई लफडा गर्नुहुन्छ भनेर आर्थिक सहयोग अस्वीकार गरेका हुन् । सरकारले सहयोग गरे पुग्छ भनेर अस्वीकार गरेका थिए । पछि उहाँले त्यो व्यक्तिगत १५ लाख रुपैंया अग्नीपीडितकै छोराछोरी पढ्ने गणेश आधारभूत बिद्यालयको भवनमा निर्माण गर्न लगाउनुभयो । विद्यालय व्यवस्थापन समितिको निर्णय बिनै । बिद्यालयमा ठेकेदारलाई दिएर २ कोठे भवन बनाउन लगाउनुभयो । पहिलेको २ कोठे भवन फालिदिनुभयो ।
त्यो दुईटा कोठा लगाउँदा मेरो ६ लाख रुपैंया लिन बाँकी छ भनेर हिजो ताला लगाउनुभएको रैछ । ६ लाख रुपैंया जनताबाट लिनुपर्ने हो कि बिद्यालयबाट लिनु पर्ने हो कि त्यो ठेकेदारबाट लिनुपर्ने हो त्यो स्पष्ट भएको छैन । उहाँले विद्यालय र उपभोक्ता समिति मिलेर रकम अनियमितता गरेको भनेर भन्नुभयो रे । तर त्यहाँ उपभोक्ता समिति नै गठन भएको थिएन । उहाँले नै छत्र बमलाई ठेक्कामा दिनुभएको थियो भवन निर्माण गर्न ।