विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ ।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ ।

‘अहिले विद्यालय बन्द गर्नुपर्छ। पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ ।’ विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए ।

‘विद्यालयलगायत बन्द गर्न सिसिएमसीमा सिफारिस गरेका हौं,’ उनले भने, ‘बुधबार नै निर्णय गरेर सिसिएमसीमा पठाइएको छ ।’ पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ । बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्