बागमती । मकवानपुर जिल्लाको हेटौंडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।
कोरोना सङ्क्रमित भएपछि होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए । मृतकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम बढेको छ ।
मकवानपुरमा सम्भावित रोकथाम र बचावट
कोभिड–१९ को सम्भावित रोकथाम र बचावटका सन्दर्भमा सङ्घीय सरकारले गरेको निर्णयबमोजिम मकवानपुर जिल्लामा पनि सोही बमोजिम पूर्ण पालना गराउन थालिएको छ । मकवानपुर जिल्लामा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सङ्घीय निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । अब मकवानपुर जिल्लामा सिनेमा घर, दोहोरी साँझ, जिम क्लब, आमसभा, जुलुस, स्वीमिङ पुल, रङ्गशालामा दर्शक सहितको खेलकूद तथा भीडभाड हुने कार्यक्रम सबै वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।
मेला, महोत्सव, जात्रा, विवाह आदिमा २५ जनासम्म मात्र उपस्थित हुन पाउने तथा विवाह, ब्रतबन्धको लागि पार्टी प्यालेसमा गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको छ । यस्तै सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने तथा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
यसैबीच हेटौंडा उपमहानगरपालिका भित्रको सार्वजनिक तथा निजी शैक्षिक संस्थाहरुमा वैशाख मसान्तसम्म भौतिक उपस्थिति नगराउने र अनलाइन तथा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ । मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका बाहेकका अन्य स्थानीय तहले भने जोखिमको मूल्याङ्कन गरेर जनस्वास्थ्यको मापदण्ड पूरा गरेर मात्र पठनपाठन गराउन पाउने भएका छन् । विद्यालय र कलेजको पूर्वनिर्धारित परीक्षा भने तोकिएअनुसार नै हुने जनाइएको छ ।
उपचारको क्रममा मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको छ । सर्लाहीको मलङ्गवा–३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मङ्गलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेट किटबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए । उनले पुरुष अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो ।