काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा भक्तपुरमा ८७, ललितपुरमा १४१ र काठमाडौंमा ६४४ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।
गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट निको हुनेको दर ९३.३ प्रतिशत छ । पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ ।