राउटे समुदायको ब्यवस्थापन बारे



राउटे समुदाय नेपाल सरकारले पहिचान दिएको नेपालको अन्तिम घुमन्ते समुदाय हो। समुदायको कोही पनि मान्छेको मृत्यु भएमा खराव भएको ठानी त्यो ठाउँँ नै छाड्ने प्रचलन राउटे समुदायको छ। यसर्थ उनीहरुको बसाईसराँई आवश्यकता भन्दा पनि परम्परागत प्रचलनको बाध्यकारी नियम हो । त्यसैले यो समुदायको स्वामित्वमा कुनै स्थायी जग्गाजमीन वा बासस्थान छैन ।

विज रोप्नुलाई पाप कर्म ठान्ने राउटे समुदायको प्रचलन रहेकोले कुनै पनि खालको खेतीपाती गर्दैनन्। साथै कुनै बस्तुभाउ पनि पाल्दैनन्। बनजंगलमा प्राकृतिक रुपमा जे पाइन्छ त्यसैको संकलन गर्ने तथा काठका बस्तुहरु बनाएर गाउँबस्तीमा बेच्ने वा सटही गर्ने र त्यसै बाट गुजारा गर्ने उनीहरुको पेशा हो ।

अहिलेको समाजमा परम्परागत पेशाले जीवन धान्न अरु समुदायलाई समेत हम्मेहम्मे परिरहेको सन्दर्भमा राउटे समुदायको जीवन गुजाराको कठिनतम् स्थितिलाई औंल्याउँछ ।

भिन्न परम्परा, प्रचलन, मान्यताका साथ जीवन गुजारा गर्ने राउटे समुदायको बारेमा नेपाल सरकारले विशेषरुपमा लिई विशेष कार्यक्रम बनाउनु जरुरी छ । सामान्य नीतिले यो समस्याको सम्बोधन सम्भव छैन् ।

बसाई संरक्षण :

घुमन्ते विशेषता बोकेको राउटे समुदायका लागि विचरणको इलाका निर्धारण गरी विशेष नीति अपनाउनु उपयुक्त हुन्छ । बन क्षेत्रको साँघुरिदो अवस्था र बन व्यवस्थापनका नयाँ–नयाँ आयाम तथा अन्य समुदायको आवश्यकता र स्वार्थ परिपूर्तीको कारण राउटे समुदायको परम्परागत जीवनशैली संकटमा परेको छ । विशेष गरी ६ नं. प्रदेशका विभिन्न जिल्लाहरुमा विचरण गर्ने योे समुदायका लागि सम्बन्धित प्रदेशमा विशिष्ट व्यवस्थापनका साथ इलाका निर्धारण तथा नीति निर्माण गरिनु उचित हुनेछ ।

आवास ब्यवस्थापन :

स्थायी रुपमा एकै ठाउँमा नबस्ने परम्परालाई तत्काल तोड्न नसकिने र यसो गर्दा राउटे समुदायको परम्परागत पहिचान र विशेषता नै मेटिने हुँदा आवास ब्यवस्थापन त्यही अनुसार गरीनुपर्ने आवश्यकता देखिन्छ । पालले छाउने र स्याउलाले बारीने छाप्राको ठाउँमा बस्न योग्य पालहरुको व्यवस्थापनको पहल गरिदिंदा तत्कालको समस्या हल हुन जान्छ । दीर्घकालिन सामाधानका लागि सार्न मिल्ने खालको घरहरुको व्यवस्थापनको योजनाका साथ पहल गरिदिनु उचित हुन्छ। यसका लागि व्यवस्थित योजना नेपाल सरकारले बनाउनुपर्छ।

फिरन्ते अवस्थामै रहेको योे समुदायको विशेषतालाई ध्यानमा राखी त्यही अनुसारको पहल, सुविधा र नियन्त्रणको व्यवस्था गरिनुपर्छ ।

ग्रामीण समुदायसँग पर्न आउने विभिन्न खालका मतभिन्नता समेतलाई ध्यानमा राखी आवास योजना तर्जुमा गर्नु उचित हुन्छ । जस्तो की सुरक्षा इकाई, स्वास्थ्य इकाई , गोदामघर , सभाहल र पसलघर रहनेसम्मको व्यवस्था गर्नु उचित हुन जान्छ ।

जीविकोपार्जन बारेः

विज रोप्नुलाई पाप ठान्ने, बस्तुभाउ पालन नगर्ने परम्परालाई तत्काल हटाउन नसकिने भएकोले राउटे समुदायको जीविकोपार्जन सोचनीय विषय बन्न गएको छ । बनजंगलमा खान योग्य उपजहरु प्राप्त गर्न असम्भव प्राय भएको अवस्थामा राउटे समुदायको खाद्य व्यवस्था प्रति गाउँघरमा उत्पादीत र बजारमा उपलब्ध वस्तुमा निर्भर रहनुको विकल्प देखिदैन ।

कर्ममा बाँच्ने राउटे समुदायमा क्रमशः मागेर गुजारा गर्ने अवस्थामा पुग्दैछ । परम्परागत रुपमा चलीआएको काठे वस्तुको व्यवसाय अब सहानुभूतिमा सिमित हुँदै जादैछ । यस्तो अवस्थालाई ध्यानमा लिई राउटे समुदायका लागि विशेष व्यवसायको पहल गर्नु उचित हुन जान्छ ।

खासगरी रुखको गाठो निकाली परम्परागत काठका वस्नुहरु बनाउनमा राउटे समुदायका दक्षता छ । परम्परागत वस्तुहरुले अहिलेको मागको ठाउँ पूर्ति गर्न सक्दैन । त्यसैले सजावटका रुपमा राखिने ठेकी तथा काठमा वस्तुहरु साथै भोटे तथा शेर्पा समुदायमा प्रचलनमा रहेको फूरु (काठको कचौरा) लगायतका काष्ठकलामा विशेष तालिम दिने व्यवस्था मिलाउने तथा जरुरी औजारहरुको व्यवस्था गरी वस्तु उत्पादन गर्न लगाउने योजना बनाउनु उचित हुन्छ र विशेष बजार सिर्जना गरी काठका वस्तुहरुको बिक्रीवितरणबाट राउटे समुदायको गतिलो आयआर्जनको सिर्जना गर्न सकिन्छ ।

राउटे समुदायलाई लक्षित गरी बनाइएका वृत्तचित्रहरुको संकलन गर्ने साथै नयाँ र जरुरी वृत्तचित्रहरु बनाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी राउटे समुदायको जीविकोपार्जनको पूर्वाधार निर्माणमा पहल र सहयोग जुटाउन सकिन्छ ।

शिक्षा र स्वास्थ्यः

स्थायी बसोबास नगर्ने हुँदा राउटे समुदायको शिक्षादीक्षा तथा स्वास्थ्य समस्या हल गर्नु निकै जटिल छ । राज्यले निर्धारण गरेको शिक्षा तथा स्वास्थ्य नीतिले यो समुदायलाई समेट्न असम्भव छ । यसर्थ सरकारले यस सम्बन्धी विशेष नीति अपनाउनु जरुरी छ ।

पढ्नु लेख्नु आफ्नो समुदायले गर्न नहुने मान्यतालाई बदली समुदाय सुहाउँदो शैक्षिक मान्यता र व्यवस्था गर्नु उचित हुन्छ ।

राउटे समुदायमा चिकित्सकीय उपचारले देवता रिसाउने र अशुभ् हुने मान्यता क्रमशः कम हुँदै गइरहेको सन्दर्भमा उनीहरुको जीवन सुहाउँदो स्वास्थ्य उपचारको अध्ययन गरी लागू गर्ने योजना बनाउनु उचित हुन्छ ।

सारांश:

घुमन्ते अवस्थामा रहेका राउटे समुदायको समस्या आफैँमा एउटा विशिष्ट समस्या हो । यो समस्या महत्वपूर्ण राष्ट्रिय समस्या भएकोले सरकारले गम्भीर रुपमा लिई समाधान गरिनुपर्छ । साथै सामाजिक अभियान्ताहरुले यो समस्यालाई व्यवस्थापनको उचाइसम्म पुर्याउन व्यवस्थित ढंगले लाग्नुपर्छ ।

(लेखक हाल उपराष्ट्रपति नन्द बहादुर पुनका प्रमुख स्वकीय सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्