स्थायी घर ओखलढुंगा जिल्लाको चिसंखुगढी–६ बाट स्थानान्तरण काठमाडौंमा बसोबास गर्ने भाउजु कमला रानामगर कार्की र दाजु भुपेन्द्र कुमार कार्कीले केहि वर्ष काठमाडौंमा भाडाको घरमा बिताउनु भयो।
ग्रामीण समाजमा प्रतिष्ठित परिवारमा रहेकाहरुलाई काठमाडौंमा भाडाको घरमा बस्दा घरबेटीको कचकच अहिले भन्दा त्यो बेला बढी नै थियो होला। त्यसैले बूढानीलकण्ठ–१० मा साढे ४ तल्ले घर बनाउनु भयो। काम गर्ने कामदारको अभाव, दाजु काममा जाने हुँदा भाउजुलाई खासै नटेर्ने ठेकेदार जस्ता कारणले २०६० सालमा निर्माण शुरु गरिएको घर २०६२ सम्म पनि पूर्ण रुपमा फिनिसिंग हुन सकेन।
दाजु भुपेन्द्र सरकारी कामको शिलशिलामा जनकपुर बस्नुपर्ने भएकोले साना २ छोरीहरुको लालनपालनमा आफूलाई समर्पित गर्नुभएकी भाउजु र दाजुबीचको भेटघाट पातलो हुन्थ्यो। त्यसैले साना छोरीहरुको अभिभावकत्व कमला भाउजुमा नै थियो। २०६० सालदेखि निर्माणकार्य थालिएको घर २०६२ सालमा पूर्ण रुपमा नटुङ्गिएपनि सर्न सक्ने खालको थियो। त्यसैले कार्की परिवारको २०६२ सालको दशैँ आफ्नै नयाँ घरमा रमाईलो गरी बित्यो।
रितु छोरीको देहावसान
२०६२ सालको दशैँ सकिएर तिहार नआउँदै कार्की परिवारमा बज्रपात आईलाग्यो। ग्रिल बनाउन जिम्मेवारी दिएको व्यक्तिले समयमा आएर झ्यालमा ग्रिल नराखिदिएको कारण सानी छोरी रितु खेल्दा खेल्दै बिहानको ८ः३० तिर चौथो तल्लाको झ्यालबाट भुईमा खसिन। उनको उपचारको लागि तत्काल चावहिलको ओम हस्पिटलमा भर्ना गरियो। डाक्टरले अनेकौँ प्रयत्न गर्दागर्दै ११ः३० बजेतिर हस्पिटलमै रितुको ईहलिला समाप्त भयो।
आमाबुवा दुबैको जिम्मेवारी निर्वाह गर्नुभएकी भाउजु कमलालाई आफ्नो दोश्रो छोरी गुमाउँदाको पीडाले अहिलेपनि सताईरहन्छ। छोरीको कुरा गर्ने बित्तिकै अहिले पनि भक्कानीने भाउजुलाई आफ्नो सानो कमजोरीले नै गुमाउनु परेको हो कि भन्ने पीडाले होला। उहाँलाई धेरै पिडा हुन्छ तर ग्रामीण भू–भागमा सयौँ किलोमिटर लडेर बेहोस भएका बच्चाहरु १ दिन हिडेर अस्पताल पुर्याउँदा पनि बाँचेका छन् । भूकम्पको बेला पचासौँ घण्टा पुरिँदा पनि बाँचेका बालबालिका अझै जिवित छन् । नौ तले धराहराको टुप्पोबाट भुईमा पछारिदा पनि बाँच्नेहरु छन् । त्यसैले त्यो एउटा संयोग जस्तो अवस्था हो। उनको उमेर नै त्यति थियो। भाउजुले सत्यलाई स्वीकार्नु पर्छ यहि ढंगले आफूलाई सम्हाल्नुपर्छ ।
हरेक मृत्युहरु पीडाहरु पीडादायी हुन्छन, चाहे त्यी उमेर पुगेका हुन् वा नपुगेका। अझ आफैले जन्माएर हुर्काएकी छोरी गुमाउँदाको पिडा वास्तवमै निकै दर्दनाक र पीडादायी हुन्छ। म आमा नै हुन नसकेपनि आमाको मात्सल्यता बारेमा बुझ्नसक्छु र अनुभूत गर्न सक्छु। मैले यो विषयमा लेख्न त खोजेको थिईन तर म सँग पटकपटक उहाँले छोरीको स्मृति गर्ने बित्तिकै म बोल्न सक्दिन। मेरी छोरी मरिन भनेर म कसरी भन्न सक्छु? त्यसैले आजसम्म मैले मृत्यूदर्ता पनि गरेकी छैन। कुरा गर्दा मलाई त्यहि दिनको याद आउँछ। त्यसैले हल्ला गर्न चाहन्न, भन्नुहुन्छ।
जन्मभूमि ओखलढुङ्गामा अक्षयकोष स्थापना नगरी यहाँ किन गर्नुभएको भन्ने प्रश्नमा भाउजु भन्नुहुन्छ, आफ्नो कान्छी छोरी यहि कपनमा जन्मिएको, यहीँको माटोमा हुर्किएको कारणले म यहीँको विद्यालयमा सहयोग गर्न चाहन्थे। मैले केहि वर्ष अघि बालउद्धारमा अक्षयकोष स्थापनाको लागि कुराकानी गरेको थिएँ। चित्त बुझ्ने कुराकानी नभएको कारण मैले उपयुक्त समयको पर्खाईमा थिएँ ।’
आज बिहान विद्यालय व्यवस्थापन समितिका साथीहरुको उपस्थितिमा नगरप्रवक्ता तथा बूढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईको समुपस्थितिमा सामान्य कार्यक्रम आयोजना गरी तत्काल ५ लाख र केहि समयपछि पाँच लाख थप्ने गरी रु. १० लाख बराबरको अक्षयकोषको घोषणा गरियो।
उहाँले दिनुभएको रकम र अन्य अक्षयकोषदाताहरुबाट प्राप्त भएको कोषको संचालन र व्यवस्थापनको लागि छिट्टै विद्यालयले निर्माण गर्ने कार्यविधिमा उल्लेख गरिनेछ । कोषहरुको ब्याजबाट प्राप्त रकमले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि सहयोग गरिनेछ। यो र यस किसिमका कोषहरुको व्यवस्थापन र संचालनको लागि कोष स्थापनाकर्ताहरुको प्रतिनिधि रहने एउटा छुट्टै समिति गठन गरिनेछ।
सधैँ हाँसिरहने कमला भाउजु !
बालउद्धार माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा हामीले जिम्मेवारी लिएको पनि डेढ वर्ष भयो। शुरुवाती समयदेखि नै कमला भाउजु विद्यालय व्यवस्थापन समितिको सदस्यको रुपमा भन्दा पनि एउटा परिवारको सदस्यको रुपमा सहयोग र सल्लाह दिनुहुन्थ्यो। म आफैँसँगको सामिप्यता ढिलै भएपनि दाजुहरु कुमार घिमिरे र अर्जुन घिमिरेसँगको पारिवारिक सामिप्यताले मलाई परिवारको सदस्यको रुपमा निकै उर्जा दिने गर्छ। १/२ ओटा बैठकपछि म हरेक बैठकमा उहाँलाई भाउजुको रुपमा सम्मान गर्छु। उहाँले पनि मेरा कामहरुमा परिवारको सदस्यको रुपमा सहयोग गरिरहनु भएको छ।
रितु स्मृति अक्षयकोष बालउद्धारको नोबेल पुरस्कार बनाईने छ। यसको वितरण र प्राप्त गर्ने विद्यार्थी निष्पक्ष ढंगले छनोट गरिने छ। बालउद्धारलाई एउटा भरोषायोग्य विद्यालय बनाउन यो कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ। पीडालाई समाजसेवामा बदल्ने कमला भाउजु जस्ता धेरै भाउजुहरु हाम्रो विद्यालयलाई चाहिएको छ।
कोष निर्माण गर्ने भाउजु कमला रानामगर कार्कीलाई धेरै–धेरै धन्यवाद ! भाउजुको प्रस्तावलाई समर्थन गर्ने आदरणीय दाजु भुपेन्द्र कुमार कार्कीलाई साधुवाद ! मेरै कार्यकालमा हजुरहरुले गर्नुभएको अनुकरणीय निर्णयले मलाई हर्षित बनाएको छ भने रितु छोरीलाई युगयुगसम्म जीवित राख्ने छ। भौतिक रुपमा रितु हामीबिच नरहेपनि उनका बुवाआमाले गरेको सुकर्मबारे उनको आत्माले थाहा पाउनेछ। उनको नामबाट स्थापित ‘रितु स्मृति अक्षयकोष’ले आर्थिक अवस्था कमजोर भएका हजारौँ छोरीहरुको पढाईमा बर्षाैसम्म योगदान पुग्नेछ ।
(लेखक ध्रुवप्रसाद घिमिरे बालउद्धार माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।)