परिस्थिति र निशाना निर्धारण
पहिलो शान्तिवार्ता बिना निष्कर्ष टुंगिदैँ थियो। वास्तवमा यो शान्तिवार्ता शक्ति सन्तुलनको घोटक थियो। पुलिस फोर्स पूर्णरुपले पराजित भएको र सेनासंग आमने सामने भएको अवस्था थियो। फौजी तक्राव गुणात्मक रुपमा नयां ठाउॅ पूर्याउन हामीलाई तयारीको एउटा समय चाहिएको थियो। फौजी पहल कडमीका लागि राजनैतिक दाउंपेच जरुरी थियो, त्यो शान्तिवार्ताको रुपमा मुखरण भयो। त्यस बीचमा सैन्य सम्मेलन गर्यौं र सैन्य संरचनाको नामाकरण गरी जनमुक्ति सेना, नेपाल राखियो। आधारभूत सैन्य तालिमलाई घनिभूत पारियो। कमाण्ड स्तरीय कमाण्ड सैन्य ट्रेनिंगहरु सबै कमाण्डहरुमा सम्पन्न भए। प्राबिधिक तयारी, लिडिंग हतियारहरुको संकलन र खरिद(पश्चिम कमाण्डमा १ थान M16 राइफल, ३ थान AK47, र २ थान SLR) गर्ने काम मोटामोटी भयो। जनसेनाको संरचना कम्पनीबाट बटालियन स्तरमा उठाइयो।
मुख्य फोर्स शाही नेपाली सेना (आर्मी) संग नभिडीकन, आर्मीलाई पराष्ट नगरीकन हाम्रो लक्ष्यसम्म पुग्न सम्भव थिएन।आर्मीको पनि मर्मस्थानमा प्रहार गरी आक्रमणद्वारा आफ्नो सैन्य श्रेष्ठता प्रमाणित गर्न तथा प्रयाप्त हातहतियार खरखजना प्राप्त गर्न जरुरी थियो। पुलिस फोर्सलाई पूर्ण रूपमा प्रष्ट गर्दासम्म पुलिससंग भएको सबैखाले हतियारहरु प्राप्त भए पनि मुख्य फोर्ससंगको पहिलो लडाई हुनेभएकोले नव गठित जनमुक्ति सेनाको मनोबल(moral) उठाउन, जनतामा आशाभरोसा जगाउन र सरकारी सैन्य फोर्स माथि सैन्य आक्रमणद्वारा आतंक र दबाब पैदा गर्न clean कारबाहीको जरुरी थियो। यसका लागि उपयुक्त योजना र निशाना छनौंटको गर्ने दबाब हामीलाई थियो।
बिद्रोहात्मक धक्का सहित नयां सैन्य पहल कडमी ल्याउन पूर्वी कमाण्डलाई एक जिल्ला सदरमुकाम, मध्य कमाण्डलाई एक जिल्ला सदरमुकाम अनि पश्चिम कमाण्डलाई एक सैनिक ब्यारेक सहितको जिल्ला सदरमुकाम कब्जाको लागि जिम्मा दिइयो। पश्चिम कमाण्डको लागि कहां,कसरी,कस्तो गर्ने भन्ने बिषयमा छलफलहरु चल्दै गयो। माओबादीको प्रभाव बढी भएका जिल्लाहरुमा आर्मीको फोर्स केन्द्रित, मजबुत फर्टिपिकेशन र सजग थियो, प्राय सबै जिल्लाहरुमा बलियो सेना राखी सकेको थियो। हातहतियार खरखजनाको प्राप्तीको हिसाबले पनि भनेको जस्तो उपलब्धी आउंथेन।अन्ततः दाङको घोराही हरेक हिसाबले उपयुक्त रहेको निष्कर्षमा पुग्यौं।
कारबाहीको तयारी
घोराहीलाई निशाना बनाएर तयारी थाल्यौं। हाम्रो अगाडि निकै चुनौतीहरु थिए,
पहिलो– शाही सेना माथिको पहिलो आक्रमण भएकोले जनसेनाको मनोविज्ञान कमजोर हुने खतरा,
दोस्रो– हाम्रा हतियारहरु शाही सेनाको भन्दा कम र कमसल थिए, साथै प्रयाप्त फायरिंग पावर थिएन।
तेस्रो– निशाना निर्धारण गरिएको बारे खुल्ने खतरा, किनकि हामीले सबभन्दा ठूलो फोर्स मुभ र ग्यादरिंग गर्नु पर्ने, त्यसको व्यापक तयारी गर्दा अस्वाभाविक जनशक्ति परिचालन, सूचनाको चुहावट भई दुश्मनसम्म पुग्न सक्ने खतरा थियो।
दयी कुराहरुलाई ध्यानमा राखी तयारीमा लाग्यौं।
१. फोर्सको केन्द्रिकरण रोल्पामा गर्ने निधो गर्यौं ता कि रोल्पामा सामान्यत धेरै ग्याडरिंगहरु भइरहेकोले स्वभाविक थियो, टाढा भएकोलेआक्रमण कहाँ गर्छन् भनेर कन्फ्यूज पार्नु थियो।
२. निर्धारित घोराही बजार वरिपरी अवस्थितिको प्रारम्भिक सर्बेमा लाग्यौं। ब्यारेकको अवस्थिति, फोर्स, कमाण्ड र कमाण्ड पावर, हातहतियार तथा खरखजना र त्यसको सेटिंग, पुलिस फोर्सको अबस्थिति, सपोर्टिंग फोर्सेज र दूरी तथा गति सबै आकलन गर्यौं।
३. त्यस पछि ब्यारेकको जिम्मा बटालियनलाई, जि प्र का तथा कारागार D कम्पनीलाई, एस पी कार्यालय–सिडिओ कार्यालय–ट्राफिककार्यालय E कम्पनीलाई, नारायणपुर बेस र ने बै लि तथा मालपोत कार्यालयको जिम्मा जिल्ला प्लाटुनहरुलाई र तुल्सीपुर तथा लमहीलाई ब्लक गर्ने र डिस्टर्भ कारबाही गर्ने छुट्टै टिम सेटिंग गरी सोही अनुसार डिटेल सर्बेमा लाग्यौं।
४. वार्ता किनारा लगाउने र तयारी संगसंगै भएको हुँदा सर्बे र सप्लाईको काम सहज थियो। घोराही आफैमा बजार भएकोले पनि हाम्रो गतिबिधिहरु अस्वभाविक थानिएनन्।
५. प्राबिधिक तयारी पनि चाहिँदो पुग्यो। हतियारमा यस पटक हामीलाई पार्टीले ३ थान AK47 र १ थान M16 पार्टीले किनेर ल्याइदिएको थियो। यसले जनसेनाको मनोवल उठायो। २ थान SLR पहिले नै हामीसंग थियो। बाँकी पश्चिम कमाण्डमा भएका सबै फोर्स र हतियार केन्द्रित गर्यौं।
६. हामीले यसपटक भिन्न टिम यातायात मजदूर तथा ड्राइभरको परिचालनको तयारी गर्यौं। औषधी र उपचारको व्यवस्था तथा बिरामीओसारपसार र शहिदको व्यवस्थापन सबै गाडिबाट गर्ने, कब्जा भएको सामाग्रीहरुको ओसारपसार समेत गाडीबाट गर्ने तयारी गर्यौं।
७. रिट्रिट पोइन्ट मुख्यः रोल्पाको होलेरी दहबन साइद र शहिद व्यवस्थापन तथा घाइते व्यवस्थापन र उपचारका लागि दाङकै रामपुर हुँदै हाँसीपुर साइद पास गर्ने निदो भयो।
कोचिंग र फर्मिंग
मंसिर ८ गते राती ११ः०० बजे देशभर एकैचोटी धक्कामुलक आक्रमण गर्ने केन्द्रिय निर्देशन थियो तर त्यो मिति र समय हामी मुख्य कमाण्ड ग्रुपलाई मात्र थाहा थियो।
रोल्पाको जैँलीपोखरीमा चाहिएको फोर्स सबै केन्द्रित गरी तह तहमा कोचिँग गर्यौं।
कोचिँगमा अरु नियमित कोचिँग र टिम विभाजन कै कुरा भए तर अत्यन्तै फरक ब्यारेक सम्बन्धी थियो।
ब्यारेकको उत्तरपट्टी कमाण्डर (मेजर) को क्वाटर थियो। आक्रमण कै शुरुमा कुनै पनि हालतमा कमाण्ड टुटाउन त्यो मेजर कब्जा गर्ने गरी टिम र हतियार सेटिँग गरी कोच गरियो किनकी लडाईमा पहिलो भूमिका कमाण्ड कै हुन्छ, त्यसै माथि पहिलो प्राथमिकता दियौँ।
ब्यारेकको मध्ये भागमा कोटघर (हतियार तथा खरखजाना घर) थियो, त्यसको पूर्वी साइड कमजोर थियो। फुर्सेकालीबाट खोल्सी छिरेपछि कम अवरोधमा त्यहाँ पुग्न सकिन्थ्यो। त्यसैले सब भन्दा अफेन्सिभ टिम बनाई AK47 र SLR जोडेर कमाण्डो टाइपको टिम बनाएर जिम्मा दिइयो। तिब्र गतिमा सम्पूर्ण चार्ज सहित कोटगार्ड कब्जा गर्न सक्नु मै हाम्रो जित हुन सक्थ्यो। तसर्थ मरेर भएपनि कोटगार्ड कब्जा गर्ने कडा कोचिँग भयो। स्टोरमा पसेर हतियार निकाल्न सके मात्र आर्मी माथिको पहिलो आक्रमण सफल हुन सक्थ्यो त्यसैले त्यहाँ सबभन्दा ध्यान र जोड दियौँ।
मंसिर ५ गते रातको समय पारेर हिड्यौँ। मुख्य टिम रोल्पा मैचन्नेमा बस्यो। नारायणपुर जाने ग्रुप जौंलीपोखरीबाटै अर्कै बाटो लाग्यो।
मंसिर ६ गते दाङको भूगोल मुपुलमा बस्न गयौँ। रातभरी हिड्ने दिनभरी सुत्ने, अपुग तयारीहरु गर्ने गरिन्थ्यो। ६ गते राजनैतिक प्रशिक्षण कार्यक्रम (अन्तिम कोचिंग) पनि भयो।
मंसिर ७ गते घोराही नजिक कटुवा खोला पुग्यौं र लुकालो एउटा ठूलो खेतमा पराल ओछ्याएर सुत्यौं भने E कम्पनी लगायत दक्षिणसाइड जिम्मा परेको टिम मंसिर ७ गते नै सौंदियारको चोरगाउँ गएर सेल्टर लियो।
मंसिर ८ गते बिहान उठेर हेर्दा सबै साथीहरु बिस्कुन सुकाए झै खेत भरी सुतेका थिए। खै पराल कति ट्रक सकियो कुन्नी। दिनमा अपुग तयारीहरु पूरा गर्यौँ, मिलाउनु पर्ने मिलायौँ।
साँझ त्यहाँ भएको फोर्स दुई तिरबाट जाने भयो, उत्तर पूर्वबाट जाने फोर्स खोलैखोल दाङ मसिना भएर जाने र उत्तर पश्चिमबाट जाने फोर्स उत्तर पश्चिमतर्फको डाँडा काटेर सेवारखोला झरी बगाले हुँदै जाने निधो भयो।
आक्रमणको त्यो रात
आर्मी ब्यारेकको उत्तरपश्चिम भाग जहाँ कमाण्डर (मेजर) क्वाटर भएको तिर क. जीतको कमाण्डमा रहेको A कम्पनी , ब्यारेकको पश्चिमदक्षिण (बजार साइड)मा मेरो कमाण्डको B कम्पनीको र ब्यारेकको पूर्वी भाग क महानको C कम्पनीको आर्क परेको थियो। हामी उत्तर पश्चिमको जिम्मा पाएको फोर्स पछाडि सेल्टरबाट लामलस्कर उकालो लाग्यौं। हाम्रै साथमा कमाण्डर क. पाषांग थिए । डाँडाबाटओरालो झरेर बगाले माथि खोलामा लडाईमा नचाहिने सामानहरु छाडेर अगाडि लाग्यौं। A कम्पनी र B कम्पनी आफ्नो आर्कका लागि बगालेबाट छुट्टीयो। टुरुन्टपुर जाँदै गर्दा आर्मीले स्टेण्ड अपको बिगुल बजायो, क. पाषांगले ‘आपत्कालीन बिगुल पो बजायो, के भयो?’ भने। मैले त नियमित बिगुल नै सम्झिएं तर होइन रहेछ। बिकुल बज्दा राती १०ः०० बजेको हुँदो हो।
खासमा ११ः०० बजे सबैतिर एकैचोटी आक्रमण गर्नु पर्ने तर सुर्खेतका साथीहरुले रेडियो नेपालको सुर्खेत प्रसारण केन्द्रमा राती ८ः०० बजे नै आक्रमण गरेकाले देश ब्यापी अलर्ट गराएको रहेछ। त्यसैले आर्मीको सबै फोर्स स्टेनअप गराई अलर्ट गराएको रहेछ।
घोराही बजारमा क.अनन्त र क.विप्लब बसिरहेको र घरबेटी पूर्व आर्मी रहेकोले उनले ‘धेरै बर्ष पछि सेनाले स्टेन्डअप लगायो किन लगायो?’ भनेपछि बाहिर हेर्न गएको सबै गारारा न गुरुरु गर्दै पोजिशन लिइरहेको देख्दा अब खतम हुने भयो भन्ने लागेको रहेछ। दुईजना छलफल गरेर कि फोर्स फर्काउने भन्ने सल्लाह भए पनि फर्काउन सम्भव थिएन किनकि त्यसबेलासम्म सञ्चार उपकरणको पहुँच हामीसँग थिएन। वहाँहरु ठूलो क्षति हुने भयो भन्ने चिन्तामा पर्नुभएको रहेछ।
हामी भने स्पिड र टाइम मिलाउँदै रातको ११ः०० बजे बिना अबरोध तोकिएको आर्कमा पुग्यौं। आर्मीले नजानेरै पनि इमर्जेन्सीमा सबै पोष्टर बंकरहरुमा फोर्स र हतियार सेटिँग गरी भ्याएको रहेछ। कोटघर खोलेर त्यही कमाण्डर (मेजर) र 2IC (क्यापटेन) छलफल गर्दै रहेछन् ।
Surprise attack भनेको के को surprise उल्टै surprise पो साबित भयो तर यो प्राय कसैलाई थाहा भएन। आर्मीको पनि केन्द्रिय आदेशमा मात्र stand up बनाएको देखियो।
ताकि सेन्ट्री नै ढाल्ने दाउ खोज्दाखोज्दै समयको ख्यालै नगरेको रहेछ। धेरै ढिलो भएपछि मैले आफै पेस्तोलबाट फस्ट फायर खोलें। ‘ड्याम्’ फायर भएपछि एकछिन सुनसान भयो, त्यसपछि त बाब्बै शाही सेनाले चलाएको LMG र GPMG ले आगोको राँको ओकलेको छ, गोलीको आवाजले कानै नसुन्ने जस्तो भयो।
दोहोरो फायरले शान्त दाङ उपत्यका भयंकर युद्धमैदानमा परिणत भयो। त्यस बेलासम्म तारबार एक सरो मात्रै थियो। घोराही कुलाको नामले चर्चित कुलो ब्यारेक कै डिलडिल गएकोले त्यो हाम्रो आर्कलाई बरदान साबित भयो। सेन्ट्री पोष्ट र बंकरको आर्मी सबै लखेट्यौ। अब आफ्नै ब्यारेक घरको आड लिएर उनीहरु लड्नथाले। उता तारबारबाट टिम भित्र छिराउन लाग्दा सेक्सन कमाण्डर सपनालाई गोली लाग्यो, आइया पनि भन्न नपाएर त्यही ढलिन।आर्मीले ३/४ वटा LMG जोडेर चार्ज गर्दा सबै साथीहरु घाइते वा शहिद हुन लागे पछि आड लिएर निस्कन नदिने नीति अपनायो। उता A कम्पनीले सबै सेन्ट्री पोष्ट र घरहरु कब्जा गर्दै आयो तर कमाण्डर क्वाटरमा भेटिएनन्। पूर्व तर्फबाट पनि योजना अनुसार साथीहरु कामयावी भए। GPMG पोष्ट त्यतै थियो तर फायर इफेक्ट छैन भन्ने बुझेर पोष्टमै पुगेर चलिरहेको GPMG क रैजलले थुतेर लग्दा आर्मीहरु लग्यो लग्यो भन्दै भागे। GPMG लिन त लिए कसले चलाउन जान्नु ? त्यहीबाट AK47 र SLR चार्ज गर्दै जाँदा कोटघर भित्रै कमाण्डर ढले। क्याप्टेन जीउ जोगाउन भाग्न भ्याए। जुन ठाउँ कब्जा गर्नु पर्ने हो, त्यो नै कब्जा भएपछि अरु त डोमिनेट हुने नै भयो।
अब उही आर्मीको हतियार निकालेर उनीहरु माथि नै हमला भयो। LMG निकालेर चलाउन नजानेकोले कमाण्डर कमरेड पासाङ्ग कहाँ पुर्याउने काम भयो। वहांले LMG चलाउन जान्नु हुने रहेछ। फिल्ड मै LMG चलाउन सिक्यौं र अरुलाई सिकाउदै लड्न पठाउँदै गर्यौं। त्यस बेलासम्म डिएसपी कार्यालय,जेल,एसपी कार्यालय, सिडिओ कार्यालय आक्रमणमा गएका साथीहरु सबै कब्जा गरी नारा लगाउँदै ब्यारेकमा सपोर्ट गर्न आउनु भयो। अन्तत: ब्यारेकमा अन्तिमसम्म लड्नेहरुलाई पनि डोमिनेटमा पारी आत्मसमर्पण गर्न लगायौं। यसरी लडाई जित्यौं।
केही अनुभूतीहरु:
सपना र बियोगको हृदय बिदारक शहादत
सपना मेरो कम्पनीमा सेक्सन कमाण्डर थिइन। महिलाहरुको जनसेनामा राम्रो उपस्थिति त थियो तर कमाण्ड पावरको विकास गराउनु थियो। त्यसैले कम्पनीहरुमा १/१ महिला सेक्सन बनाएका थियौं। मेरो कम्पनीको महिला सेक्सनमा उनैले कमाण्ड गरेकी थिइन। महिलाहरुलाई जोगाउनु पर्छ भनी असल्ट(assault)मा राख्दैनथ्यौं। मैले पहिले ग्रुपिंग गर्दा सपनालाई असल्ट(assault)मा नराखेकोले म सँग झगडा गरिन्। मैले उनलाई सम्झाएं तर बहिनीहरु मर्लान् भनेर डराएर नेतृत्वको बिकास हुन्न। फिल्डमा प्रत्यक्ष काम कारबाहीबाट मात्र नेतृत्वको विकास र स्विकार्यता हुन्छ, भन्थे। त्यसैले एउटा असल्ट(assault)को कमाण्डर बनाएर पठाएको थिएँ। उनले फायर इफेक्ट भन्दा पनि अफेन्सलाई जोड दिएर तारबार भित्र ग्रुप छिराउन तारबार राइफलको बथले उचाल्दै गर्दा उनलाई देब्रे काखी मै गोली लागेर त्यही शहिद भईन।
उता C कम्पनीमा सेक्सन कमाण्डर रहेको सपनाको पति (जीवनसाथी) बियोग पनि गोली लागि अचेत भए, उनको पनि बाटो मै मृत्यू भयो। अघिपछि भिन्न भिन्न मोर्चामा शहिद भए पनि एउटै मोर्चामा एकैपटक यसरी लालजोडी (पतिपत्नी) शहिद भएको पहिलो घटना थियो।
क. प्रकाश
प्रकाश बेजोडको Fitter थिए, घोराहीको आक्रमणमा पनि उनी बेजोडले लडे। लडाई मै उनको निधारमा गोली लाग्यो तर कुनै प्रबाहै नगरेर लडे/ लडाए। लडाई समाप्त भएपछि उनी ढले, तुरुन्त हेल्थ पोइन्टमा लगियो तर निधारको गोली भित्र छिरेको रहेछ। म पुग्दा श्वास मात्र फेरिरहेका थिए। मुखबाट फिज छोडीरहेका थिए। तुरुन्त अगाडि पास गराउ भनें, तर केही बेर मै बाटो मै उनको शहादत भयो। मृत्यू हुने चोट खाएर पनि घण्टौं लड्ने/लडाउने यी शहिदको कुन शब्दले बर्णन गरौं !
कहिल्यै नदेखेको हातहतियार खरखजना
राइफलसम्म चलाएको हाम्रो अगाडि हातहतियार र खरखजनाको रास थियो। जीवनमा नदेखेका हातहतियार 81mm mortar, 2 inch mortar, GPMG, MMG, LMG, SLR, SMG र snapper gun अनि पुलिससँग भएका सबै हतियारहरुको रास हेर्दा सपना हो कि बिपना हो भन्ने लाग्थ्यो ! हाम्रो नयाँ ग्रुप यातायात ब्यबस्थापन ग्रुपले ट्रकहरु लिएर आए, कब्जा भएको चिनेको/नचिनेको सबै युद्ध सामाग्री भटाभट गाडिमा लोड गर्दै पठाउँदै गर्यौं।
आक्रमणको विशेषता
१- आर्मी माथिको पहिलो कारबाही भएकोले उचित र समग्र हिसाब किताब हुनु,
२- अधिक काँचो फोर्स भए पनि उचित तालिम, राजनैतिक प्रशिक्षण, सही कमाण्ड र कन्ट्रोल तथा सही कोचिंगले उच्च मनोबल र तालमेल पैदा गरिनु।
३- बलियो दुश्मनको सही आँकलन, कमजोरीको किटानी गरी उचित तरिकाले फोर्स र हतियारको बिनियोजन र सेटिंग गरिनु।
४- प्रतिकूलतालाई अनुकुलता बदल्न सक्नु, घनिभूत कारबाहीबाट कमाण्ड टुटाउनु र दुश्मन कै हतियारले उनै माथि आक्रमण गर्न सक्नु।
५- लडाई नै तालिम साबित भयो, नचलाएका हतियारहरु Battle मै सिकेर प्रयोग गर्यौं।
६- आर्मीलाई टसल दिन भरपुर हतियार र खर-खजना प्राप्त भयो।
७- बैंकबाट मनग्य पैसा हात लाग्यो।
८- हामीले चाहेको जस्तै clean कारबाही भयो। यद्दपी लडाई हो, ८ जना साथीहरु शहीद हुनु भयो, सेना तर्फ मेजर सहित १४ जनाको spot death भयो।
जनमुक्ति सेना, नेपालको घोषणा:
माओवादी छापामार, माओवादी सेना, जनसेना वा छापामार स्क्वाड (दल), प्लाटून र कम्पनीका नामले चिनिने जनसेनाको २०५८ भदौको सैन्य राष्ट्रिय सम्मेलनले यसको नाम जनमुक्ति सेना, नेपाल नामाकरण गर्यो तर घोषणा उपयुक्त समयमा गर्ने गरी सार्बजनिक रुपमा घोषणा गरिएको थिएन। २०५८ मंसिर ८ गतेको देशब्यापी धक्का स्वरुप भएका आक्रमणको जिम्मा लिंदै नेकपा (माओबादी) अध्यक्ष तथा जनमुक्ति सेना नेपालका सुप्रिमो क. प्रचण्डले जनमुक्ति सेना, नेपालको घोषणा गर्नुभयो। यसरी जनमुक्ति सेना, नेपालको औपचारिक न्वारन भयो।
(लेखक हाल उपराष्ट्रपति नन्द बहादुर पुनका प्रमुख स्वकीय सचिव हुनुहुन्छ ।)