साविक कपन गाउँ विकास समिति बूढानीलकण्ठ नगरपालिका बनेसँगै वडा नम्बर १०,११ र १२ मा रुपान्तरित भयो। गत स्थानीय तहको निर्वाचनमा ३ वटै वडाहरुमा एमाले एक्लैले चुनावी परिणाम आफ्नो पक्षमा पार्यो।
नयाँ संरचना अनुसार निर्वाचित वडा अध्यक्षहरुले पहिलो कार्यकालमा ईमान्दारीपूर्वक सकेको काम गरे। वडा कार्यालय व्यवस्थापन, सिमित साधनश्रोत र पर्याप्त जनशक्तिको अभावमा जनअपेक्षा अनुरुपको काम नभएको हुनसक्छ। यद्दपी यो कार्यकालमा गरेका कामहरु सन्तोषजनक भएपनि एमाले विभाजनको असर आगामी स्थानीय निर्वाचनमा प्रष्ट देखिनेछ।
यसको साथै पुरानो नेतृत्वलाई बदलेर नयाँलाई अवसर दिने नेपालको शहरी मानसिकताले समेत आगामी निर्वाचनको परिणामलाई तय गर्नेछ।
वडा नम्बर १०
बिगत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका युवा नेता नबराज भट्टराईले २४१० मत ल्याइ विजय भएका थिए भने काङ्ग्रेसका डिल्ली प्रसाद डोटेलले १०३३ मत ल्याइ उपविजेता बनेका थिए।
तत्कालिन समयमा विजेता र उपविजेता बीचको मतान्तर १३७७ थियो। नेकपा माओवादी केन्द्रले तेश्रो मत प्राप्त गरेको थियो।
वर्तमानको अवस्था :
यसपटक नेपाली काङ्ग्रेसले पूर्व शिक्षक डोर प्रसाद आचार्यलाई उम्मेदवार बनाउने करिब निश्चितप्राय भएको छ। नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा जिम्मेवारी पाएननन् भने वर्तमान वडाध्यक्ष नवराज भट्टराई नै दोहोरिने प्रवल सम्भावना छ।
युवा व्यक्तित्व, प्रष्ट वक्ता र युवामाझ लोकप्रिय नवराज भट्टराईलाई कडा टक्कर दिने कांग्रेसका नेतामा निवर्तमान शिक्षक डोरप्रसाद आचार्य नै उपयुक्त पात्र हुन् भन्ने ठहर कांग्रेस पार्टीमा रहेको नेपाली काँग्रेसका स्थानीय नेताहरुको बुझाई छ।
जनसम्पर्क र पार्टी योगदानको हिसाबले आचार्य भन्दा यस वडामा राम प्रसाद लुइटेलले वडाध्यक्षको टिकट पाउने सम्भावना भएपनि यसपटक उनी यो रेसबाट बाहिर नै छन्।
नम्र बोलीबचन र झुक्न सक्ने क्षमताको साथसाथै विपक्षीलाई समेत मोड्न सक्ने क्षमताको कारण आचार्यको नाम लगभग टुङ्गिसकेको देखिन्छ। संघीय निर्वाचनमा नेपाली काँग्रेसले जितेको भएपनि वडाहरुमा एमालेले नेतृत्व गरेको हुनाले काँग्रेस महामन्त्री समेत भएका गगन थापाको रोजाईमा आचार्य परेको काँग्रेस वृतमा चर्चा चलेको छ।
वडा नम्बर ११
बिगत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका नेता राजु अधिकारीले १२७५ मत ल्याई वडा नम्बर ११ मा निर्वाचित भएका थिएभने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अच्युत प्रसाद पौडेलले १०५६ मत ल्याइ उपविजेता बनेका थिए।
नेपाली काँग्रेसको बलियो वडाको रुपमा गणना गरिएको वडा नम्बर ११ मा एमालेका अधिकारीले २१९ मतले जितेपछि गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार उपविजेतामा सिमित भएका थिए।
राजनीतिक भन्दा समाजसेवामा बढी प्रभाव पार्ने राजु अधिकारी नै यसपटकका समेत एमालेका उम्मेद्वार हुन्। नेपाली काँग्रेसले यसपटक राधेश्याम कार्कीलाई उठाउने तयारी गरेको देखिन्छ।
नेकपा एमाले विभाजनको असर तुलनात्मक रुपमा यस वडामा बढी रहेको छ। विगतमा नेकपा एमालेलाई जिताउन कस्सिएर लागेका नेताहरु यसपटक एकीकृत समाजवादीमा लागेका छन्। एमालेबाट निर्वाचित एकजना वडा सदस्य सहित तत्कालीन अवास्था एमालेको केहि चर्चित स्थानीय नेताहरू समेत अहिले समाजवादीमा लागेका छन्। काँग्रेसले यसपटक आफ्नो मतलाई रोक्न सक्ने हो भने वडा नम्बर ११ एमालेको लागि निकै चुनौतिको वडा हुनेछ।
वडा नम्बर १२
गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका नेता शम्भु प्रसाद भट्टराईले १३८४ मत ल्याई विजेता बनेका थिएभने काङ्ग्रेसका होम नाथ तिमल्सिनाले १०२७ मत ल्याइ उपविजेता बनेका थिए।
त्यो बेला नेपाली काँग्रेसको मत एमालेको भन्दा ३५७ मतले अगाडि थियो। एमालेबाट यसपटक पनि वडाध्यक्षमा शम्भु प्रसाद भट्टराई नै उठ्ने करिब निश्चित नै छ। नेपाली काङ्ग्रेसको तर्फबाट सुनित चालिसेको सम्भावना अरुभन्दा बढी छ।
विगतमा एमालेबाट वडा सदस्य बनेका पुरुषोत्तम नेपालले एकीकृत समाजबादीको तर्फबाट वडाध्यक्षको उम्मेदवार दिने सम्भावना पनि बलियो बनेको छ। तीन वडा मध्ये यस वडामा एकीकृत समाजवादीको मत बढी रहेको आंकलन गरिएको छ।
जित्नै पर्ने दबाबमा रहेको नेपाली काङ्ग्रेसले एमाले विभाजनलाई आफ्नो विजयको आधार मानेको देखिन्छ। समाजवादी बनेका एमालेका पूर्व कार्यकर्ताहरुको अभियान पनि जसरी पनि शम्भु भट्टराईलाई हराउने भन्ने छ। पार्टी भित्र परिवारवादलाई हाबी गराएको आरोप लागेका नेता भट्टराईले एमालेको सबै मत पाउन समेत गाह्रो पर्ने देखिन्छ।
बूढानिलकण्ठ नगरपालिका यसपटकको निर्वाचनमा कसको पक्षमा जान्छ भन्ने ठोकुवा गर्न सक्ने अवस्था छैन। अझ कपन क्षेत्रको माहोल गठबन्धन हुन्छ कि हुन्न भन्ने विषयले समेत निर्धारण गर्ने देखिन्छ। झट्ट हेर्दा एमालेले बूढानीलकण्ठ-१० मा जित्ने सम्भावना प्रवल देखिन्छ भने त्यसपछि अरु वडाहरु देखिएका छन्।
देशव्यापी रुपमा नेकपा एमालेलाई हराएर साईजमा ल्याउने एकीकृत समाजवादीका कार्यकर्ताले त्यहि नीति कपन क्षेत्रमा लागु गरेभने कपनका दुई क्षेत्रहरु एमालेले गुमाउनुपर्ने हुनसक्छ। यद्दपी नेकपा एमालेमा समाहित भएका पूर्व माओवादीका कार्यकर्ताहरु एमालेमै रहनु, काँग्रेसको नगर, क्षेत्र र राष्ट्रिय महाधिवेशनबाट गुटगत धारको विकास हुनु र राजनीतिमा निस्क्रिय जनमतलाई एमालेले आफ्नो पक्षमा पार्न सक्ने भने आउने निर्वाचनमा समेत कपनक्षेत्रमा एमालेले आफ्नो विरासत कायम राख्न सक्ने देखिन्छ।