बाल उद्धार माविमा ६ महिने निःशुल्क महिला शिक्षा कार्यक्रम शुरु



काठमाडौं । महिला अधिकारको क्षेत्रमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० अवस्थित महिला मैत्री समूहले ६ महिने महिला शिक्षा कार्यक्रम आजबाट शुरु गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा संचालन हुने महिला शिक्षा कार्यक्रम बूढानीलकण्ठ १० स्थित बाल उद्धार माविमा वडा सदस्य भुवप्रसाद रेग्मीले पुस्तक वितरण गरी शुभारम्भ गरेका हुन् । रेग्मीले महिला शिक्षाको निरन्तरताको लागि वडा कार्यालयले गर्नुपर्ने सबै किसिमको सहयोग गर्ने बताए ।

शुभकामना व्यक्त गर्दै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले महिला शिक्षाको लागि व्यक्तिगत तथा विद्यालयको तर्फबाट गर्नुपर्ने सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संस्थाकी अध्यक्ष विन्दा गौतमको अध्यक्षता, सचिव देवी रेग्मीको संचालन, कोषाध्यक्ष सावित्रा ढकाल भट्टराईको स्वागत, बाल उद्धार माविका सहायक प्रधानाध्यापक राजन रेग्मीको सहभागिता रहेको कार्यक्रममा फेरिल्याण्ड स्कूलका निर्देशक राम गौतमले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्