एमाले उम्मेदवारलाई सहयोग गर्ने संचारकर्मीको तथ्याङ्क राखी अवसर दिने ईन्चार्ज अधिकारीको प्रतिवद्धता



काठमाडौं । नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजना तथा प्रेस चौतारी बागमतीको ब्यवस्थापनमा सम्पन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा आयोजित पार्टी भेलामा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज काशीनाथ अधिकारीले विगतमा पार्टी पत्रकारहरुलाई जनप्रतिनिधिहरुले चुनावमा मात्र प्रयोग गरेको तर कुनै किसिमको अवसरहरुमा सहभागी नगराएको जानकारी प्राप्त भएकोले बैशाख ३० को स्थानीय निर्वाचनमा पार्टी उम्मेदवारलाई जिताउन सकारात्मक ढंगले लाग्ने सबै पत्रकारहरुको योगदानलाई पार्टी कमिटीले रेकर्ड राखेर सम्भव भएसम्मको अवसर दिने प्रतिवद्धता जनाएका छन् ।

बागमती प्रदेश कमिटीको कार्यालय च्यासल ललितपुरमा प्रचार भेला नै गरेर एमाले बागमती प्रदेशले प्रचारको रणनीति र कार्यनीति तय गरेको हो । भेलाले बागमती प्रदेशभित्रका ११९ पालिकामा प्रेस चौतारीमा सम्बद्ध रहेका पत्रकारहरू मध्येबाट हरेक पालिकामा दुई जनालाई तोकेर जिम्मेवारी दिएर प्रचारको संयोजन गर्ने जानकारी गराएको छ । बागमतीले एमाले नेतृत्वको सरकारले गरेका काम, चुनावमा उम्मेदवारले बोक्ने पार्टीको नीतिसहितको विषय वस्तु समेटेर बागमती प्रदेश बुलेटिन प्रकाशनको अन्तिम तयारी समेत गरेको छ ।

पार्टी प्रदेश प्रचार तथा प्रकाशन विभागले औपचारिक तथा अनौपचारिक रुपमा गरिएका छलफलहरुमा निर्वाचनको समयमा प्रचारको समग्र व्यवस्थापन गर्ने साथीहरुलाई निर्वाचित भएपछि बेवास्ता गर्ने, हराउने भूमिका निर्वाह गरेकालाई च्याप्ने, फरक विचारका पत्रकारहरुलाई अवसर दिने, उनीहरुको संचार माध्यमलाई सहयोग गर्ने, प्रचार–प्रसारको कुनैपनि अवसर नदिएकोले आगामी निर्वाचनमा खुलेर नलाग्ने सम्मको दबाब दिएपछि नेकपा एमाले बागमती प्रदेश कमिटी गम्भीर बनेको हो ।

पार्टी प्रचार तथा प्रकाशन विभागको प्रमुखमा युवा नेता महेश बड्तौला समेत पार्टीमा आवद्ध संचारकर्मीहरुको समस्यामा जोडिएपछि पार्टी प्रदेश अध्यक्ष केशब पाण्डे, पार्टी प्रदेश ईञ्चार्ज काशीनाथ अधिकारी सहितको पदाधिकारीहरुको सिङ्गो टिम नै पत्रकारहरुलाई पार्टी काममा खटाउने र भविष्यमा प्राप्त हुने अवसरहरुमा सहभागी गराउने प्रतिवद्धतामा पुगेको देखिन्छ ।

भेलामा एमालेप्रति आस्थावान पत्रकारहरूको सुझावलाई समेत एकीकृत गरेर प्रचारलाई व्यवस्थित बनाउन लागिएको विभागका प्रमुख महेश बड्तौलाले जानकारी दिए ।

बड्तौलाका अनुसार बागमती प्रदेश भित्रका ११९ वटा पालिकाबाटै त्यहाँको गतिविधि सम्प्रेषण गर्नेगरी संयन्त्रको विकास गरिने भएको छ । त्यसका लागि वैशाख ८ गते भित्र प्रदेश भित्रका १३ वटै जिल्लामा जिल्लास्तरीय प्रचार भेला गरेर रणनीति कार्यान्वय गर्दै अघि बढ्ने बड्तौलाले बताए । उनले पालिका स्तरमै पनि प्रचारको डेस्क नै सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

नेकपा एमाले बागमती प्रदेश कमिटीले २५ दिनको संचार योजना बनाई स्थानीय तहदेखि, जिल्ला र प्रदेश तहसम्मका सूचनालाई एकीकृत ढंगले प्रकाशन तथा प्रशारण गर्ने संयन्त्र निर्माण गर्ने भएको छ । जसअनुसार २ दिनभित्र प्रदेश स्तरीय प्रचार डेक्स बनाउने, ७ गते सम्ममा सबै जिल्लाहरुमा प्रचार भेला गर्ने, ८ गते सम्ममा जिल्ला स्तरीय प्रचार डेस्क बनाउने, १० गते भित्रमा पालिका स्तरीय प्रचार डेस्क बनाउने, ११ गते भित्रमा सबै प्रचार डेस्कहरुको रेकर्ड तयार पार्ने, प्रत्येक दिन पालिका तहमा भएका गतिविधिहरुको रेकर्ड बनाउने, पार्टी र पार्टी नेता विरुद्धको समेत पार्टी उम्मेद्वारहरुलाई जनकारी गराउने निर्णय गरेको छ ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा प्रचार विभागका उपप्रमुख, प्रदेश अध्यक्ष केशवराज पाण्डे, प्रेस चौतारीका महासचिव हिरामान लामाले आगामी निर्वाचनमा पार्टी उम्मेदवारलाई जिताउन आवश्यक भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए । त्यसैगरी भेलामा बागमती प्रदेश भित्रका १३ जिल्ला मध्ये चितवन, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ्ग, मकवानपुर, सिन्धुली, ललितपुर गरी ९ जिल्लाका पार्टी प्रमुख वा सचिवले जिल्ला लगायत पार्टीको गतिविधि र प्रचार तथा प्रकाशन क्षेत्रमा गरेका कामहरुको रिपोटिङ्ग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्