काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा नेकपा एमालेको तर्फबाट चार वडाध्यक्षले पार्टीको साख जोगाएका छन् ।
दुधौली नगरपालिकाका पूर्व प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष रितेश राउत, वडा नं. ९ का वडाध्यक्ष देवप्रसाद अधिकारी, वडा नं. १० का कुमार शर्मा र वडा नं. ११ का पवन कार्की वडाध्यक्षमा निर्वाचित हुँदा अघिल्लो निर्वाचनमा प्रमुख, उपप्रमुख सहित बहुसंख्यक वडाहरुमा नेतृत्व गरेको एमाले रक्षात्मक बन्न पुगेको छ ।
सत्ताको दुरुपयोग गर्दै एमालेका जुझारु पाँच कार्यकर्ताहरुलाई वडा नं. १ र २ बाट गिरफ्तार गरी हिरासतमा लिएपछि अरु २३ जना पार्टी नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेपछि दुधौलीको वडा नं.१, २, ३ र ४ मा पार्टीको प्रचारात्मक तथा घरदैलो कार्यक्रम प्रभावित हुन पुग्यो ।
दुधौलीको वडा नं. २ मा वडाध्यक्षका उम्मेद्वार रितेश राउत अघिल्लो दिनसम्म घरबाहिर निस्कन सकेनन् भने कुनैपनि टोलमा घरदैलो अभियान संचालनै गर्न पाएनन् । वडा नं. १ र २ बाटै पाँच जना अगुवा कार्यकर्ता थुनाईएपछि एमाले कार्यकर्ताबिच राज्य आतंक नै सिर्जना गरिएको थियो ।
मतदानको समयमा सत्तारुढ दलका कार्यकर्ताहरुलाई संरक्षण गर्दै एमाले नेता कार्यकर्तालाई गरेको व्यवहारले समेत सवैजसो वडामा सयौंको संख्यामा मत प्रभावित परेको देखिन्छ ।
पार्टीको आन्तरिक जीवनमा देखिएको अराजकता, पूर्व नगरप्रमुखको निर्वाचन परिचालनमा निस्क्रिए भूमिका, बहालवाला सांसद तथा माथिल्लो निकायका नेताहरुको हेलचेक्रयाईले दुधौली नगरपालिका सहित जिल्लाका अधिकांश पालिकाहरुमा नकारात्मक प्रभाव परेको देखिन्छ ।