मदन भण्डारी सर्वोत्कृष्ट व्यक्तित्व



काठमाडौं । नेपाली माटोमा उम्रिएका निर्भीक एवम् राष्ट्रवादी दृढ सङ्कल्पित धरणीपुत्र, विचार र व्यक्तित्वमा सर्वोत्कृष्ट उपाधि हासिल गर्न सफल नविन विचारक तथा जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारी विश्वनजरमा नेपालका कार्लमाक्स भनी परिचित व्यक्तित्वको अमूल्य योगदानलाई अङ्गालिरहँदा उहाँको जन्मदिनलाई कदापी बिर्सन सक्दैनौँ । किन कि जन्म, जीवन र कर्मको अन्योन्याश्रित सम्बन्धले प्रतिफलको मात्रामा निर्धारण गर्दछ ।

हो, यस्ता व्यक्तित्व जसले विदेशीको प्रलोभनलाई तिरस्कार गरेर आफ्नै देशको चौतर्फी विकास, परिवर्तिन र समृद्धिका निम्ति आफ्नो पारिवारिक सुखसयललाई तिलाञ्जलि दिएर देश र जनताका लागि भोक र तिर्खा र आफ्नोपन नभनी रातदिन जनाधिकार दिलाउन दिलोज्यान दिनुहुने साहसिक श्रद्धेय योद्धा मदन भण्डारीको आज पर्नको गएको ७१ औँ जन्मजयन्तीको अवसरमा यो लेखिका उहाँप्रति श्रद्धाले शिर निहुर्याउँछु । उहाँका योगदानहरूलाई यही माटोमा फुलाउने र फलाउने प्रण गरी लागिरहने वचनबद्धता पनि व्यक्त गर्दछु ।

विक्रम सम्वत् २००९ साल असार १४ गते शुक्रबार मध्यराती १२ः०० बजेतिरको समयमा ताप्लेजुङको ढुङ्गे साँघुमा मातापिताका एघारौँ सन्तान (६ जना छोरा ५ जना छोरी) मध्येको दोस्रो छोराको रूपमा जन्म लिनु भएका तेजवान, नक्षत्र, वालक सुसंस्कृत तेजस्वी धीर साहसी, अर्कोले दिन नसकेको प्रश्नको उत्तर सजिलै दिन सक्ने प्रखर वक्ता एवम् कुशाग्र बुद्धिका बौद्धिक वालमस्तिष्कले घरमै बसेर प्रारम्भिक शिक्षा (रुद्री, वेद, चण्डी कण्ठष्थ) प्राप्त भयो । वालक मदन भण्डारी कलिलो उमेरमा टुनीबोटमा सञ्चालन हिउँदे कक्षामा अध्ययन आरम्भ गर्दै त्यसपछि ठोट्ने प्रा.वि.को प्राथमिक पढाई पूरा गरी संस्कृत मा.वि.फुङ्लिङबाट माध्यमिक तहको पढाई पूरा गर्नु भएर थप अध्ययनको निम्ति भारत प्रस्थान गर्नुभयो ।

१४ वर्षको कलिलो उमेरमा नै आफ्नो समाज, देश, समुदाय, कालपरिस्थितिलाई विश्लेषण गरी निष्कर्ष दिन सक्ने क्षमतावान वालमष्तिस्कले खेल, गायन, कला, साहित्य, वक्तृत्व आदि विषयमा ज्ञान र दक्षता प्राप्त भइसकेको पाइन्छ । यही समयमा पञ्चायत र कांग्रेस ठीक छैनन् । विकल्पमा माक्र्सवाद, लेनिनवाद र साम्यवाद नै समाजको परिवर्तन समृद्धिको लागि उपयुक्त हुन्छ भनेर भारतमा साम्यवादी युवासंघ पनि बनाउनु भएको भन्ने बुझिन्छ ।

संस्कृति, संस्कार र अनुशासनका अनुयायी परिवारमा सन्यासी दाजु मनोज भण्डारीले काँशीमा लगेर उच्च शिक्षा (शास्त्री आचार्य) अध्ययन गराउनु भई सर्वोत्कृष्ट अंक कमरेड मदनले प्राप्त गर्नु भयो । हो, यसै समयमा एकातिर राजनीति यात्रा बलियो बन्दै गयो भने अर्कोतिर शास्त्री र आचार्यको पढाइमा उच्चतम अंक ल्याउनु सफल व्यक्तित्वको प्रखर बौद्धिक क्षमताका कारण बिपी र पुष्पलालसँगको भेटवार्तामा पनि सबैका मनमुटु खिच्न सफल हुँदै वि.सं.२०२४ सालमा सांस्कृतिक मुक्ति मोर्चामा आबद्ध हुनुभयो । विक्रम सम्बत् २०२६/२७ सालतिर पुष्पलाल नेतृत्वको पार्टीमा आबद्ध हुनुभयो । यता नेपालमा पञ्चायती एकदलीय निरंकुश तन्त्रको शासनले राज्य र जनताको पीडालाई कसरी मुक्ति दिलाउने र जनाधिकार जनतामा कसरी पुर्याउने भन्ने सोच र सम्मेलनहरू भारतमा बसेर मदनले पहल गरेको कुरा पनि अविस्मरणीय छ । यही सिलसिलामा नेपालको परिवर्तन र समृद्धिको लागि नेपालमै बसेर नेपाली जनताको साथ लिएर परिवर्तन गर्नसकिन्छ भन्ने सोच बनाई वि.सं.२०३१ सालमा भारतबाट नेपाल आई नेपालको राजनीतिमा संलग्न हुनुभयो ।

वि.सं.२०३४/३५ सालमा नेपाल कम्युनिष्ट पार्र्टी क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) केन्द्रीय कमिटीमा रहनुभयो । वि.सं.२०४१ सालमा पोलिट ब्युरोमा संलग्न हुँदै चौथो महाधिवेशन पूर्व नेपालको परिवर्तनको निम्ति विश्व कम्युनिष्टको अवस्थालाई मध्यनजर गर्दै आफ्नो देश नेपालमा कम्युनिष्टहरूको बीचमा लेबल नलगाउने र मिल्न सक्ने सवालहरूमा मिलेर काम गर्ने, बेमेलको कुराहरूमा वैचारिक संघर्ष चलाउने, एकअर्काको अस्तित्वप्रति सहिष्णु हुने, एकअर्कालाई निषेध गर्ने किसिमको विचार व्यवहारलाई छोड्ने र कामकै दौरानमा को साँचो हो वा हैन भन्ने कुराको निर्णयपछि संयुक्त वाममोर्चा बनाउन सफल हुनुभयो ।

जुन सात वटा कम्युनिष्ट समूह बीचको संयुक्त मोर्चा थियो । जसको पहलकदमी गर्ने नेकपा मालेभित्र विशेष मदन भण्डारी नै हुनुहुन्थ्यो । वि.सं.२०४६/४७ को जनआन्दोलनलगतै कम्युनिष्ट आन्दोलनलाई एकता गर्न वि.सं.२०४८ सालमा नेकपा माले र मार्क्सवादी बीचमा एकताको लागि महत्वपूर्ण भूमिका निर्वाह गरी एकिकृत मार्क्सवादी लेलिनन्वादी गठन गरेर आफूलाई प्राप्त भएको (एमाले अध्यक्ष) पद कमरेड मनमोहन अधिकारीलाई नै सुम्पेर सहयोग गर्ने उदारवादी एवम् त्यागी निर्मल चरित्रको परिचय दिनुभयो । हतारमा नेतृत्व लिनुभन्दा अध्यक्ष मनमोहन अधिकारीलाई नै नेतृत्व सुम्पेर आफ्नो पार्टीलाई सहयोग गर्नु नै त्याग, समर्पणको साथै राजनैतिक क्षमता, कौशलता देखिन्छ भने अर्कोतिर व्यक्ति र सत्ता केन्द्रित राजनीतिको जग बस्न दिनु हुँदैन भन्ने सन्देश पनि उहाँबाट प्राप्त हुन्छ ।  

वि.सं.२०४६ सालमा चौथो महाधिवेशनपछि महासचिवको रूपमा चयन हुनुभयो । उक्त महाधिवेशनमा बहुदलीय प्रतिष्पर्धासहितको नयाँ जनवाद पारित उहाँकै पहलमा भएको पाइन्छ । जुन महाधिवेशनले लिएको निष्कर्ष मदन भण्डारीकै अन्त्र्वार्तामा– “निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध संघर्ष गर्न चाहने जे जति राजनैतिक शक्तिहरू छन् तिनीहरूसँग राजनैतिक रूपले मित्रताको सम्बन्ध राख्नु पर्दछ । यद्यपि उनीहरूले हामीहरूले जस्तै समाजमा आमूल परिवर्तन गर्ने कार्यक्रम नलिएका हुन सक्छन् । उनीहरूसँगका हाम्रो धेरै मतभेदहरू हुन सक्छन् । उनीहरू सामन्तवाद, दलाल, नोकरशाही, पूँजीवाद वा साम्राज्यवादको अलिक उदारवादी पक्षपोषण गर्ने उदारवादी राजनैतिक शक्ति हुन सक्छन् तर पनि अहिले निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था मुख्य शत्रु भएको हुनाले त्यसको विपक्षीमा भए जति राजनैतिक शक्तिहरू र जनसमुदायहरूलाई राजनैतिक मित्रको कोटीमा राखेर व्यवहार गर्नुपर्छ । फलस्वरूप नेपाली कांग्रेससँग पनि संयुक्त भएर आन्दोलन गर्नुपर्छ भन्ने हाम्रो मान्यता बन्यो र दुर्गामी परिणाम यो भयो कि हामी नेपाली कांग्रेसको र्याङ्क एण्ड फाइलभित्र संयुक्त आन्दोलन गर्नुपर्छ भन्ने प्रेसर निर्माण गर्न सफल भयौँ । नेताहरू यस विषयमा सहमति भएपछि संयुक्त आन्दोलनका लागि पृष्ठभूमि तयार भयो” । वि.सं.२०४६ सालको आन्दोलनको पूर्वतयारी गर्ने विषयमा मदन भण्डारीको महत्वपूर्ण दुरदर्शी, विचार, कार्य अनुकरणीय र अतुलनीय छ । वि.सं.२०४९ सालमा सम्पन्न पाचौँ महाधिवेशनमा “जड सुत्रवाद र विर्सनवादको विरोध गरौँ, मार्क्सवादको सिजनात्मक प्रयोग गरौँ” भन्ने नारा अघि सर्यो । सोही अनुरूप पार्टीको कार्यक्रम र सरकारसँगको विषयमा सोही अनुसारको नीति तय भयो । वि.सं.२०४९ वैशाख महिनामा भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं.१ र ५ बाट उठेर दुवै क्षेत्रबाट जित्न सफल व्यक्तित्वले एक नम्बर क्षेत्रमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर विश्वमै चर्चित नेता बन्नुभयो । सैद्धान्तिक अस्पष्टता र अन्योलतालाई चिरेर देशलाई परिवर्तनको दिशामा सशक्त रूपमा अगाडि बढाउने शालिन एवम् साहसी व्यक्तित्व मदन भण्डारीले तल्लास्तरका कार्यकर्तादेखि माथिल्लो स्तरसम्मकालाई उत्तिकै विवेकपूर्ण र न्यायोचित गर्नु हुन्थ्यो । त्यसैले हरेक कार्यकर्ताले उहाँसामु आफूलाई सुरक्षित र आनन्दित भएको महसुस गर्दथे । त्यसैले उहाँको अभाव खड्किएको महसुस आज देश जनता र कार्यकर्ताको बीच पाइन्छ ।

वि.सं.२०४६ सालको आन्दोलनको पूर्वतयारी र निष्कर्षमा पुग्ने विषय होस वा आन्दोलनपछिको जनआन्दोलनको उपलब्धिलाई संस्थागत गरी कार्यन्वयनको पाटोमा लैजाने किन नहोस् । निर्धक्क र निडरताका साथ उपस्थित भएर सामूहिक पार्टीगत वा व्यक्तिगत विचार ओजपूर्ण र तथ्यपूर्ण सारगर्भित दूरदर्शि पाइन्थ्यो । जसको कारण विपक्षी पनि उहाँको भाषण विचार प्रस्तुति देखेर थरथर हुन्थे । आन्दोलनलाई सफल पार्न कांग्रसका कृष्णप्रसाद भट्टराईसँग कुरा गर्दा भट्टराईले भन्नुभयो कि–“पार्टी खोल्ने अधिकार मात्रै प्राप्त भए पुग्छ” भन्ने कुरा आएपछि मदन भण्डारीले बहुदलीय व्यवस्था प्राप्त नहुन्जेलसम्म आन्दोलनलाई जारी राख्नुपर्छ भन्ने विषयमा विवाद हुँदा तत्कालीन गिरिजा प्रसाद कोइराला, बासु रिसाल, कृष्णप्रसाद भट्टराई, योगप्रसाद उपाध्याय तयार हुनु भएन । तर पछि गणेशमानसिंहले मदन भण्डारीको प्रस्तावमा समर्थन गर्नु भयो र संयुक्त रूपमा अगाडि बढ्दा बढी भूमिका र निर्भिकपना कम्युनिष्टहरूकै इतिहास भएको पनि पाइन्छ । “उता अमेरिकाको वासिङटनलाई सोध्नुपर्छ के भन्छ” भनेर बारबार प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मदन भण्डारीसँग भन्नुहुन्थ्यो । किन कि विश्व कम्युनिष्टलाई अमेरिकाले स्वीकार गर्दैनथ्यो र नेपालमा पनि मार्क्सवाद र लेनिनवाद र प्रगतिशील विचारधारालाई वासिङटनका पृष्ठपोषकहरूले मन पराउन सक्दैनथे । त्यसैले बहुदलीय व्यवस्थालाई स्वीकार गर्न कांग्रेसभित्रै पनि विवाद रहेको कुरा गणेशमानले मात्रै स्वीकार गर्नुबाट थाहा हुन्छ ।

सामूहिक नेतृत्वबाट व्यक्तिगत जिम्मेवारीका कुरा सिक्नुपर्छ । संगठनात्मक पद्धतिबाट आएको निष्कर्षलाई अवलम्बन गरी लागू गर्नुपर्छ भन्ने दृढसंकल्पित नेतृत्वकर्ता जननेता मदन भण्डारी जनवादी केन्द्रीयताको संगठनात्मक पद्धतिको पक्षमा दृढ हुनुहुन्थ्यो र त्यसलाई आफू पनि अविलम्बन गर्ने र अरुलाई पनि गराउनु हुन्थ्यो । वि.सं.२०४६ सालको जनआन्दोलनपछि उपलब्धिको रक्षा गर्ने, राजनैतिक संक्रमणलाई छोट्याउने विषयम उहाँको भूमिका नेतृत्वदायी थियो । जनवादी केन्द्रीयताको सिद्धान्तलाई आत्मसात गर्ने र गराउने कटिबद्ध व्यक्तित्वले पार्टी, विधान, कार्यक्रम, कमिटी प्रणाली, कमिटीको निर्णय पालना र व्यवस्थालाई प्राथमिकता दिनु हुने मदनको सोच “सिद्धान्त सही भएर मात्र हुँदैन, सही सिद्धान्तलाई कार्यन्वयन गर्नु सशक्त संगठनको जरुरत उक्तिकै पर्छ” भन्नुहुन्थ्यो । वैचारिक पक्षको विषयमा प्रविधि र विज्ञानको बारेमा ज्ञान सीप र क्षमता जनताका सम्पत्ति हुन् । यसमा जनताको समय गएको हुन्छ र यही लगानीबाट वैज्ञानिकहरूले नयाँ नयाँ आविष्कार गरेका हुन्छन् भन्नुहुने मदन भण्डारी नीति र अनुशासनमा जोड दिने अन्वेषक एवम् वैचारिक नेता हुनुभएकोले दृष्टिकोण प्रशस्त थिए । सामाजिक, सांस्कृतिक रूपान्तरणमा जोड दिने कुशल संगठन तथा राजनैतिक चिन्तक विश्लेषक भण्डारीले जनआन्दोलनपछि मस्यौदाको क्रममा नयाँ संविधानको विषयमा २७ बुँदाहरूमा आफ्नो धारणा प्रस्ताव गर्दा उग्रदक्षिणपन्थी र उग्रवामपन्थीहरूको कारणले सफल हुन पाएन । परिणामतः माओवादीको दशवर्षे जनयुद्धबाट अरबौँको क्षति, धनजनको नष्ट व्यहोर्नु पर्यो । सोही सताइस बुँदाहरू वि.सं.२०६२/०६३ को दोस्रो जनआन्दोलनपछि सम्पन्न संविधान सभाको निर्वाचन पश्चात् संविधानमा सबैबाट मदन कमरेडका सात्विक तथ्यपूर्ण दूरदर्शी सताइस बुँदे विषय समेटियो । जुन विचार वि.सं.२०४७ सालमा संविधानमा राख्न नसकिए पनि वि.सं.२०६३ सालमा संविधानमा लेखियो । जसबाट राष्ट्रवादी, दूरदर्शी नेता मदन भण्डारी नै रहेछन् भन्ने पुष्टी हुन्छ ।

कुनै पनि विषयवस्तुलाई निर्णय गर्नु भन्दा पहिला घुँडा धसेर छलफल गर्ने, छलफलपछि निष्कर्ष निकाल्ने त्यसलाई एकचित्तका साथ कार्यान्वयन गर्ने चिनियाँको नीति सिक्नै पर्ने रहेछ भनी जड–सुत्रवादका विरुद्ध मार्क्सवादको सिर्जनात्मक प्रयोग गरेर संघर्ष विचार र संगठनको क्षेत्रमा उपलब्धि हासिल गर्न सक्छौँ र अरुको गुणात्मक पक्षलाई अंगाल्नुपर्छ भन्ने शिक्षा उहाँबाट पाइन्छ । अर्कोतिर आफ्नो देशको स्वाभिमान र राष्ट्रियताबिना मुलुकको अन्तर्राष्ट्रिय छवि र मान्यता हासिल हुँदैन भन्ने सन्देश उहाँको व्यवहारबाट प्रष्ट हुन्छ । यसै सन्दर्भमा वि.सं. २०४७ सालको संविधानका विषयमा संविधान तत्कालीन राजनीतिक शक्ति सन्तुलनको दस्तावेज भएकोले लोकतन्त्रलाई संस्थागत गर्ने दस्तावेज संविधान हो र कानुनी शासनले मात्र लोकतन्त्रलाई सुदृढ पार्न सक्छ भन्ने विचार विश्वास भएकोले संसदसामु आमजनसमुदाय र जनताको प्रतिनिधित्व गर्दै उहाँले “प्रजातन्त्रका नाउँमा संविधान, कानुन, नियम, संसद, प्रचलित ऐन, परम्परा मिचेर अधिनायवाद लाद्न खोजिन्छ भने हामी अधिनायकवादलाई समाप्त पार्न र राष्ट्रियतालाई सफल सुदृढ पार्न आमजनसमुदायका साथ महत्वपूर्ण पहल गर्न बाध्य हुनेछौँ” भनी संसदबाट सरकारलाई गैरजिम्मेवार बन्नबाट रोक्नु हुन्थ्यो ।

“सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त”को आवश्यकता पर्छ भन्नु हुने मदन भण्डारी मार्क्सवादको सिर्जनात्मक प्रयोगमाथि जोड दिँदै देश, काल, परिस्थिति, समुदाय, भुगोलको आधार हेरेर सामूहिक निष्कर्षबाट निस्किएको जनपक्षीय, जनहित सिद्धान्तमा जोड दिएको पाइन्छ । आफ्ना पारिवारिक सुखसयललाई बिर्सदै देश र जनताको मुक्ति परिवर्तन र विकासका निम्ति लागि पर्नुहुने अदम्य क्षमतावान व्यक्तित्वले कुनै पनि विदेशी शक्तिसँग सम्झौता नगर्ने, देश र जनतालाई मन, मुटु र शिरमा राखेर देश, काल, परिस्थिति अनुरूपको कम्युनिष्ट व्यवस्था हुनुपर्छ भनेर विश्वसामु पस्कन सक्ने राष्ट्रवादी नेता मदन भण्डारीको उर्जावान व्यक्तित्व देखेर झसङ्ग झसङ्ग झस्किने देशभित्र र बाहिरका यथास्थितिवादी (परिवर्तन नचाहने) र प्रतिगामीतत्वहरूले विश्वमा कमजोर बन्दै गएको कम्युनिष्ट व्यवस्थाहरूलाई देखेर नेपालमा मात्रै मदन भण्डारीको सशक्त र सक्रियताको उत्कर्ष क्षमता देखी भित्रभित्रै जलन भइरहेको अवस्था एकातिर थियो भने अर्कोतिर तिनैतत्वहरूले कम्युनिष्ट शासनका ऊर्जावान् व्यक्तिलाई षडयन्त्रको जालोमा पार्ने कोसिस गरिरहेको अवस्था र नेपालमा कालमार्क्स जीवित छन् भनेर विश्वको न्यूजविक पत्रिकामा समेत स्पष्ट छापिएका परिचित व्यक्तित्व ऊर्जालाई दुष्टकपटका चक्रव्यूहहरूले नारायणी नदीको भेलमा मिसाइदिए । वि.सं.२०५० जेठ ३ गते साँझ ५ः३० बजेतिरको समयमा दासढुङ्गामा राष्ट्रका धरोहर समृद्धि र विकास परिवर्तनकारी योद्धा मदन भण्डारीको साथमा अर्का योद्धा जीवराज आश्रितको पनि निधन भएको खबर सञ्चार माध्यमले फुक्यो । देश शोकमा डुब्यो । ड्राइभर मात्र बँचेर दुई नेताको ज्यान गुमाउँदा शंकाका ठाउँ आधार पनि देखिए । रातभरिको अनुसन्धान खोजपछि ५ गते विहान चितवनको गाँजीपुरमा मदन भण्डारीको लास भेटियो तर, मदनले लगाएको लुगा च्यातिएको अवस्थामा । जेठ ८ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । पशुपति क्षेत्र आर्यघाटमा तिलको गेडा राख्ने ठाउँसम्म थिएन, भिँडको सागर उर्लेर समुद्रको सागरभन्दा धेरै गुणा ठुलो देखिन्थ्यो । ४१ वर्षको अल्पायुमा राष्ट्रको अमूल्य नीधि पार्टीका धरोहर, जनताका अभिभावक र शुभचिन्तकका आशा र भरोसाका केन्द्र गुमाउनु भर्दा पीडाले छटपटिएका देशी विदेशी र नेपाली जनता, पार्टी, आफन्तले मदन भण्डारीको योगदान र साहसीपनको मात्र नभई नविन विचार जनताको बहुदलीय जनवाद जस्तो नौलो सिद्धान्त स्थापित गर्नु भएको उदाहरणीय व्यक्तित्वको प्रशंसा गर्र्दै आर्यघाटबाटै उहाँका लक्ष्य र गन्तव्यलाई साकार र सफल पार्छौँ भन्ने प्रण गरेको पाइयो । आज पनि उहाँको व्यक्तित्व चरित्र र दृढसङ्कल्पित् नेतृत्व साहसीपना भएको नेता, सबैलाई मिलाउन र मिल्न सक्ने, त्यागी नेतृत्वको अभाव, आमकार्यकर्तामा महसुस भएको देखिन्छ । कुशल संगठक सफल नेताको रूपमा प्रखर एवम् बौद्धिक व्यक्तित्व, बहुमुखी प्रतिभाका धनी र विदेशी मित्रहरूका सामू पनि आफ्नो शिर कहिल्यै झुक्न नपर्ने गरी विचार प्रस्तुत गर्ने महान् जननेता मदन भण्डारीको बाहिरी शरीर जति सुन्दर देखिन्छ । त्यो भन्दा भित्री गुण रूप झनै सुन्दर व्यक्तित्वको उद्देश्यलाई हामी सबैले संयम धैर्य, अनुशासित एवम् साहसिकताका साथ अगाडि बढाउनु र सफल तुल्याउनु कर्तव्य हुन आउँछ र यसको लागि हामी सबैले हृदयदेखि नै उहाँलाइई सम्मान गर्दै उहाँको गन्तव्यलाई साकार पारौँ । यसैमा राष्ट्रको भविष्य उज्वल देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्