काठमाडौं । बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा आयोजित सिकाइ परीक्षणमा बालउद्धार मावि नगरपालिका भरिकै सामुदायिक माध्यमिक विद्यालय मध्ये सर्वाेत्कृष्ट भएको छ ।
१९ वटा सामुदायिक विद्यालयमध्ये सर्वाधिक ९५ अंक प्राप्त गरी बाल उद्धार मावि कार्यसम्पादनमा नगरपालिकाभरिमै सर्वाेत्कृष्ट ठहरिएको हो । विद्यालयको सिकाइ परीक्षण तथा प्रधानाध्यापकसँगको कार्यसम्पादन करार मूल्याङ्कन कार्यक्रममार्फत बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुसँग अन्तरक्रिया गरी २६ वटा सूचक अनुसार प्राप्त गरेको अंकको आधारमा बाल उद्धार माध्यमिक विद्यालय सर्वाेत्कृष्ट बनेको हो ।
शिक्षा महाशाखाले प्रधानाध्यापकसँग गरेको करार सम्झौता अनुसार विद्यालयको आर्थिक, प्रशासनिक, व्यवस्थापकीय, अभिभावक विद्यार्थीमैत्री वातावरण, विद्यार्थीको सिकाई उपलब्धी र अतिरिक्त क्रियाकलापमा विद्यालयले प्राप्त गरेको नतिजाको प्रमाण सहितका कागजातहरु र सरोकारवालासँगको प्रत्यक्ष छलफलको आधारमा सामूहिक रुपमा अंक प्रदान गरिएको थियो ।
कार्यक्रम २३ असार २०७९ मा करिव ३ घण्टा विद्यालय कक्षा कोठामा भएको छलफलमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई समेतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम नगर शिक्षा महाशाखाका अधिकृत इन्द्र दाहालले संचालन गरेको कार्यक्रममा महाशाखा प्रमुख ललित विक्रम सिंहले सहजीकरण गरेका थिए ।
कार्यक्रममा काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न विद्यामा प्रथम भएको बाल उद्धार माध्यमिक विद्यालयलाई बूढानीलकण्ठ नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले साढे दुई लाखको चेकसमेत हस्तान्तरण गरेका छन् ।
त्यस्तै आधारभूत विद्यालयतर्फ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको बालकुमारी आधारभूत विद्यालयले प्रथम स्थान हासिल गरेको छ । प्रथम भएका विद्यालयहरुले शिक्षा महाशाखाको तर्फबाट विद्यालयलाई नगद दुई लाख र प्रधानाध्यापकलाई नगद पच्चीस हजार दिने यसघि नै घोषणा गरिसकेको छ ।
यो पनि पढ्नुहोस्