काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ । शनिबार ४ लगातारको वर्षाका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ।
पानीको बहाब बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाब एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ।
भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ। सप्तकोसीमा पानीको बहाब उच्च भएपश्चात् सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।