आफू जलेर कम्युनिष्ट आन्दोलनमा प्रकाश दिने एक क्रान्तिकारी प्राध्यापकको मर्मस्पर्शी जीवनकथा



काठमाडौं । भरतराज पोखरेल त्रिभुवन विश्वविद्यालयबाट केहि वर्ष पहिले अवकाश प्राप्त प्राध्यापक हुन् । वामे सर्दै गरेको नेपाली कम्युनिष्ट आन्दोलनलाई पंचायती व्यवस्थाका प्रतिकूल जन्जिरहरु चुडाउँदै अघि बढेका योद्धा पनि हुन्-प्राध्यापक भरत ।

कक्षा सातमा अध्ययनरत रहँदै निरंकुशता विरुद्धको आन्दोलनमा सहभागी भएका पोखरेलले २०२६ सालमा नेकपा (पूर्व कोशी)को पार्टी सदस्यता लिएर नेकपा माले हुँदै नेकपा एमालेको राजनीतिक मुलधारमा निरन्तर आफूलाई शतिसाल झैँ उभ्याईरहेका छन् । कलिलो उमेरमा बामपन्थी राजनीतिमा होमिएका पोखरेलले भूमिगतकालमा विद्यार्थी, शिक्षक, मजदुर र बौद्धिक आन्दोलनको नेतृत्व गर्दै दर्जनौँ पटक प्रहरीको चरम यातना र कस्टडीमा रहँदा समेत विचलित नभई आफ्नो आस्थामा रत्तिभर नडगमगाई लागिरहे । 

समय र परिस्थिति अनुसार आफूलाई बदल्न सक्ने क्षमता भएका पोखरेलले मदन भण्डारी (सागर) कै अनुरोधमा उतिर्ण गरिसकेको एम.बि.ए. (व्यवस्थापन) पछि एमए तहमा पुनः भर्ना भई ८००० विद्यार्थी अध्ययन गर्ने महेन्द्र मोरङ्ग क्याम्पसमा अनेरास्ववियु पाँचौँको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी कोषाध्यक्ष भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अत्याधिक मतका साथ सभापति पदमा निर्वाचित भएर देशको पूर्वी भागमा वाम राजनीतिको विकास र विस्तारमा अतुलनीय योगदान पुर्याएका छन् । 

स्कूले विद्यार्थी उमेरदेखि कम्युनिष्ट आन्दोलनमा आफूलाई समर्पित गरेका पोखरेलले आफ्नो प्राध्यापन समयदेखि अहिलेसम्म भएका हरेक निर्वाचनमा (स्थानीय, प्रादेशिक तथा संघीय) नेकपा एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन अहोरात्र खटिरहेका छन् । उमेरले ६९ काटिसकेका प्राध्यापक पोखरेल बौद्धिक वृत नेपाल जस्तो प्राज्ञिक व्यक्तित्वहरुको संस्थामा राष्ट्रिय अध्यक्षको जिम्मेवारी सहित अन्य सामाजिक गतिविधि मार्फत आफूलाई व्यस्त बनाईराख्न चाहन्छन् । जीवनको उत्तराद्र्धमा पनि कम्युनिष्ट राजनीतिमा निकै क्रियाशील हुनुहुन्छ नि भन्ने पंतिकारको प्रश्नमा पोखरेल भन्छन्, ‘कसले भन्यो म बूढो मान्छे हुँ ? ‘आई एम ओल्ड ब्वाई’ !

उमेरले ६० काटेपछि प्राय नेपालीहरु राजनीतिक भन्दा धार्मिक वा आध्यात्मिक क्षेत्रमा क्रियाशील हुन्छन् भन्ने आम धारणाको विपरित रहेका पोखरेल अहिलेपनि समसामयिक राजनीतिमा चासो राख्छन् । माधव नेपाल र प्रचण्ड जस्ता व्यक्तिगत स्वार्थमा लिप्त कथित कम्युनिष्ट नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाएको धारणा राख्ने पोखरेलसँग व्यक्तिगत जीवनका विविध आयामहरू समेटेर तयार परिएको आलेख :

बाल्यकाल
धरानका प्रसिद्ध ब्राम्हण परिवारमा जन्मिएका भरतराज पोखरेल, बुवा जनकप्रसाद पोखरेल र आमा भागीरथी देवी उपाध्यायका तीन सन्तानमध्ये कान्छा हुन् । ब्राम्हण परिवारमा जन्मिएका भएपनि सानैदेखि आफूलाई ब्राम्हणवादी चिन्तनबाट माथि उठाएका पोखरेलको जन्म तत्कालिन धरान नगरपालिका वडा नं. ११ विजयपुरमा २००९ पुस २६ गते शुक्रबार भएको थियो ।

६ वर्षको उमेरमा गाउँकै तत्कालिन दन्तकाली प्राविबाट कक्षा १ देखि ५ सम्म अध्ययन गरेका पोखरेलले गाउँ भन्दा अलिपर रहेको धरान पब्लिक हाईस्कूलमा कक्षा ६ मा भर्ना भई २०२५ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । उच्च शिक्षाको लागि २०२६ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा आई.ए. मा भर्ना भई २०२९ मै सो तह पार गरेका थिए ।

अंग्रेजी भाषाप्रतिको मोहका कारण आई.ए. उत्तीर्ण  गरेपछि २०३० मंसिरदेखि २०३१ जेठसम्म शिक्षा क्याम्पस विरगञ्जबाट अँग्रेजी भाषा लिएका पोखरेलले महेन्द्र मोरङ क्याम्पस बिरानगरबाट २०३४ सालमा स्नातक उत्तीर्ण गरेका छन् ।

पार्टी निर्देशनमै दुईपटक स्ववियु सभापतिमा उठ्नुपर्ने भएर २०३१ सालमा डिप्लोमा अध्ययन गर्दाको समयमा र पुनः २०४० सालमा अर्थशास्त्र विषयमा स्नात्तकोत्तर भर्ना भएका पोखरेलले प्राईभेट रुपमा अध्ययन गरी २०५० सालमा बिएल समेत उत्तीर्ण गरेका छन् ।

पार्टीको निर्देशनमै विद्यार्थी राजनीतिबाट सेवाकालीन शिक्षक भएर दिनभरी पढाउने र रातभरि पार्टी संगठनको काममा लाग्ने गरेका पोखरेलले शिक्षक रहँदाकै समयमा २०३५ सालमा त्रिवि केन्द्रिय क्याम्पसबाट शिक्षा संकायबाट स्नातक अध्ययन गरेका छन् । शिक्षामा स्नातक अध्ययन गरेपछि पार्टी काम र विद्यार्थीको राजनीतिमा समय दिएका पोखरेलले महेन्द्र मोरङ क्यापम्स बिराटनगरबाट २०३९ सालमा एमबिएको अध्ययन पुरा गर्न सफल भए ।

एसएलसी दिइसकेपछि युवा अवस्थाको तस्वीर

राजनीतिक सहभागीता
२०२२ सालमा त्रिचन्द्र क्याम्पसको चर्चित डिआइजी नारायण सिंह काण्डको प्रभाव देशभरि पर्याे । आन्दोलनको प्रभावले धरानलाई नछुने कुरै थिएन, धरानमा भएको आन्दोलनमा संलग्न भएबापत कक्षा ७ मा अध्ययन गर्दैगर्दा पोखरेललाई गिरफ्तार गरी एक महिना बिराटनगर अञ्चलाधिश कार्यालय अन्तर्गतको गोदामको जेलमा प्रतिबन्धित काल भएकोमा गोबर र खरानी नाम गरेका कम्युनिष्ट र काँग्रेसका नेताहरुसँग बिताउनु पर्याे ।

आन्दोलनमा सहभागी भएकै कारण जेल पर्नुपरेपछि जेलबाट फर्किएर पोखरेलले आफ्नो राजनीतिक यात्रा थप आक्रामक बनाए । कक्षा र उमेर सानो भएपनि राजनीतिक चेतनाले भरिएका पोखरेलले धरान लगायत सुनसरी जिल्लाभरिका विभिन्न सरकारी विद्यालयमा सरकारले बढाएको विद्यार्थी शुल्कको विरुद्धमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै विभिन्न कोणसभाहरुमा सम्बोधन गरेर विद्यार्थीका मागलाई पुरा गर्दै व्यवस्था विरोधी चेतना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

जव उनले २०२५ सालको बैशाखमा एसएलसी दिएपछि खाली समय उनका लागि दुईवटा रोचक प्रसंग छन् । एउटा, उनी र उनका दुईवटा साथीहरु साथमा रहेर एउटा क्रान्तिकारी पत्रिकाको विज्ञापन उठाउने नाममा बिना पैसा केही रकम साथीहरुले बोकेको भरमा धरानदेखि धनकुटाको हाल रहेको भेडेटारबाट उकालो लाग्दै चौबिसे, पाँचथर र इलाम हुँदै उनीहरु कही भुटेको मकै, कही पानी खाएर पाँचथरको रवी हुँदै इलाम बजार पुगेर पुनः झापाको शनिश्चरे हुँदै आजको घैला डुबा हुँदै मोरङ भएर धरान आईपुगे । बाटामा उनीहरुले राजनीतिक चेतना दिदै धरानको घर आइपुगे ।

वि.सं. २०३४ मा स्नातक उत्तीर्ण गरिसकेपछिको तस्वीर

अर्काे प्रसंगमा त्यस्तै यिनीहरुको विजयपुरमा यिनी र यिनका साथीहरु मिलेर ‘जनजागृति युवा क्लब’ बनाए । त्यसमा क्रान्तिकारी पुस्तक मात्र नराखेर यिनीहरुले दशैं तिहारमा ‘मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओको फोटो राखेर लिङ्गे पिङ बनाएर मानिसहरुलाई खेलाउँदै मनोरञ्जन दिदै राजनीतिक चेतनाको प्रचार गरे । त्यस्तो आन्दोलनमा धेरै युवाहरु सहभागी भए । यही क्लबको माध्यमबाट यिनीहरुले ‘बहुला काजीको सपना’ विजय मल्लको नाटकमा क्रान्तिको चेतना जगाउनुपर्दछ भन्दै यिनीहरुले सुनसरी र मोरङमा पर्ने पानबारी, डाँगी, केराबारी र लेटाङ (मोरङ) मा नाटक देखाउँदै आर्थिक स्रोत जुटाउँदै यिनीहरुले नाटक प्रदर्शन गरेर राजनीतिक चेतना पनि बढाउने काम गरे ।

विद्यार्थी आन्दोलनको रापतापले २०२६ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु पाँचौंको तर्फबाट स्ववियु सह–सचिव उम्मेद्वार बनी निर्वाचित भएका पोखरेलले सोहि वर्षमै नेकपा (पूर्व कोशी) को पार्टी सदस्यता लिई कम्युनिष्ट पार्टीको मूल राजनीतिमा जोडिन सफल भएका हुन् ।

२०२६–०२७ सालमा भारतले नेपाली भूमि सुस्ता र महेशपुरमा गरेको अतिक्रमणको विरुद्धमा भएको सुकुम्बासीहरुको झोडा काण्डमा समेत विद्यार्थी समुदायको नेतृत्व गर्दै नेता पोखरेल सहभागी भई देशभक्तिपूर्ण आन्दोलनमा समेत आफूलाई होम्न सफल भए । पार्टीको पूर्णकालीन कार्यकर्ता रहेकै समयमा २०२८ भाद्रमा पूर्व कोशी पार्टी कमिटीकै निर्देशनमा धनकुटाको राजारानीमा पर्ने प्रावि मुढेवास प्रावि र रानिमा विद्यालय, माङ्दुवा, (बुढीमोरङ)मा प्रधानाध्यापक भई २०२८, २०२९, २०३० शैक्षिक क्षेत्रमा योगदान पुर्याएका पोखरेलले सोहि समयमा धनकुटाको चौबिसेदेखि पाँचथरको पञ्चमीडाँडासम्म पार्टी संगठन विस्तार गर्न आधारभूत तहमा साथीहरुसँग मिली पार्टी संगठन विस्तार गरी सो भेगमा पार्टी निर्माणमा महत्वपूर्ण ईट्टा थप्न सफल भए ।

पार्टी कामकै सिलसिलामा यिनले चक्रघट्टी महेन्द्र मावि सुनसरीमा पढाईरहेका मावि शिक्षक उनका दाजुको काम विशेषले बाहिर जानु परेको हुँदा उनलाई उनको सट्टामा अध्यापन गर्ने गरी सो विद्यालयमा पठाउने काम भयो । सो विद्यालयमा पढाउनुपर्ने विषय ‘पञ्चायत’ भएको हुँदा पञ्चायत भित्र ‘वर्ग समन्वय’ पढाउनुपर्नेमा त्यसको सट्टामा यिनले ‘वर्ग संघर्ष’को विषय राखेर विद्यार्थीहरुलाई पढाए । सम्पूर्ण माविका ८,९ र १० मा पढ्ने विद्यार्थीलाई नजिकै रहेको राजावासको जंगलमा लगेर सबैलाई बामपन्थी राजनीतिमा कमरेड बनाउने काम गरे । त्यतिखेर अध्ययन गरेका विद्यार्थीहरु अहिलेसम्म तीनै बिचारमा अडिग छन् ।

महेन्द्र मोरङ्ग क्याम्पसमा रहँदा युवा अवस्थाको तस्वीर

२०३१ सालमा महेन्द्र मोरङ क्याम्पस बिराटनगरमा डिप्लोमा भर्ना भए लगत्तै भारत सरकारले सिक्किममाथि गरेको हस्तक्षेपको विरुद्धमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै विभिन्न स्थानमा प्रदर्शन तथा कोणसभा गर्ने क्रममा तत्कालिन पंचायती सरकारले पक्राउ गरी एक/दुई दिनसम्म कस्टडीमा राखी छोड्ने काम गरियो । महेन्द्र मोरङ क्याम्पस बिराटनगरमा अध्ययनरत छँदै २०३१ सालमा भएको फ्याकल्टी वाईज चुनावमा मानविकी संकायको प्रतिनिधित्व गर्दै पूर्व अर्थमन्त्री महेश आचार्यलाई पराजित गरी नेता पोखरेल स्ववियु सभापति समेत निर्वाचित भएका थिए ।

मानविकी संकायबाट सभापति भएपछि पोखरेलले आर्थिक अवस्था कमजोर भएका सयौँ विद्यार्थीहरुलाई निःशुल्क र अर्ध शुल्कमा पठनपाठनको व्यवस्था मिलाउन सफल भएपछि क्याम्पसभरी एउटा आशालाग्दो नेताको रुपमा आफ्नो छवी बनाउन सफल भए । क्याम्पस तुलनात्मक रुपमा खेतको बिचमा अवस्थित थियो । तर क्याम्पस प्रवेश गर्ने गोरेटोबाटो हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने गरेको कारण क्याम्पस अगाडि रहेको पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोईरालासँग उनकै खेतबाट बाटो माग्न जाँदा कोईराला परिवारले नदिएपछि विद्यार्थी नेता रहेका पोखरेलले विद्यार्थीहरुलाई परिचालन गरी कुटो, कोदालोको भरमा बाटो खोलि उक्त बाटोको नामाकरण ‘न्यु स्टुडेण्ट मार्ग’ राखी प्रयोगमा ल्याउन आवश्यक भूमिका निर्वाह गरेका थिए । हाल चलनचल्तीमा त्यो बाटो पक्का रोडको रुपमा कायम रहेको छ ।

पोखरेलले खोलेको ‘न्यु स्टुडेण्ट मार्ग’ आफ्नो जग्गामा भएको दावी गर्दै कोईराला परिवारले उच्च अदालत धरानमा हालेको मुद्दामा नेता पोखरेलले ३ वर्षसम्म तारिख बोकी अन्तिममा तत्कालिन श्री ५ को सरकारले अधिग्रहण गरी उक्त बाटोलाई सार्वजनिक बनाउन बाध्य हुनुपरेको थियो ।

राष्ट्रिय निमावि सिमरियाका अध्यक्ष र तत्कालिन पूर्वाञ्चल क्षेत्रीय निर्देशकद्वरा उद्घाटित विद्यालयको वार्षिकोत्सवको तस्वीर

जब–जब बहुदल वा स्वतन्त्रता पक्षधरको आन्दोलनले गति लिन्थ्यो, तब–तब पञ्चायती शासकहरुले बर्बर दमन र धरपकड गर्थे । २०३३ सालमा पनि त्यस्तै भयो । पञ्चायती ज्यादतिले पार्टीहरुका राजनीतिक गतिविधिमा शुन्यता आएपछि पार्टीकै निर्देशनमा पोखरेलले राष्ट्रिय निमावि सिमरिया सुनसरीको स्थायी शिक्षक दरवन्दीमा नियुक्त भई प्रधानाध्यापकको जिम्मेवारी बहन गर्दै रातीराती कम्युनिष्ट पार्टीको संगठन निर्माण तथा विस्तारमा होम्मिनुपर्याे ।

पार्टीले दिएको शैक्षिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै पार्टी संगठनको काममा समेत आफूलाई होमेका पोखरेलले तत्कालिन राष्ट्रिय निमावि सुनसरीको प्रधानाध्यापक भएपछि खड्गी परिवारले दान दिएको जग्गाको आम्दानी व्यक्तिले खाईरहेको थाहा पाए । विद्यालयलाई दान दिएको जग्गाको आम्दानी खाने व्यक्ति डेरा गरी बसेको घरका घरधनी नै थिए ।  आफू बसेको घरधनीको विरुद्धमा लाग्नु सामान्य आँट थिएन तर उनले जोखिम मोलेरै प्रत्येक वर्ष धान बिक्रि गरी विद्यालयको कोषमा रकम जम्मा गर्ने परिपाटी स्थापित गर्न सफल भए । पछि घरधनीको सो डेरा पनि सरेर अन्यत्रतिर बसे ।

सो बेलामा एउटा प्रसंग छुट्नै नहुने छ । २०३२ सालको कुरा हो उनी डिप्लोमा मानविकिमा बिराटनगरमा पढ्दै गरेको (स्ववियु सभापति) बेला नयाँ शिक्षा नीति २०३२ भनी सरकारले जारी गर्याे । सो नीतिमा संघसंगठन र क्याम्पसमा स्ववियु खोल्न नपाउने र विद्यार्थीलाई बढी नै अधिकारबाट हनन गरेर स्वतन्त्रता नदिने काम भयो । सो उद्देश्यबाट ल्याएको नीतिको बिरोधमा देशव्यापी आन्दोलन विद्यार्थीहरुबाट भयो । सोही आन्दोलनमा बिराटनगरपनि अछुतो रहन सकेन् । त्यही आन्दोलनको सिलसिलामा सो नीतिको बिरुद्धमा क्याम्पस हड्तालदेखि लिएर ठूलाठूला आन्दोलन भए । देशव्यापी रुपमा फैलिएको सो आन्दोलनमा उनीपनि विद्यार्थीहरुको नेतृत्व गर्दैै गुप्तबास बस्दै आन्दोलनको नेतृत्व गर्नपर्याे । नेतृत्वका सर्ब विद्यार्थीहरु गिरफ्तार भईसकेपछि त्यही सिलसिलामा उनी पनि अन्तिममा क्याम्पस हड्ताल गर्न जाँदा क्याम्पस हड्ताल त भयो । प्रहरी क्याम्पसभरी छ्यापछ्याप्ती भएको हुँदा साउन महिनाको अन्तिमतिर उनीलाई प्रहरीले खेद्दै–खेद्दै पानी जमेको खेतमा पुर्याई हिलोकादो खेतमा चोप्ल्याङ–चोप्ल्याङ पार्दै प्रहरीले पक्राउ गरेर बिराटनगर जिल्ला प्रहरी कार्यालयमा लाने काम गर्याे । त्यहीबेलामा सबै विद्यार्थीले क्याम्पसको बिल्डिङ्ग माथिबाट त्यसलाई ‘छोड्दे–छोड्दे’ भने तर प्रहरीले मान्ने कुरै थिएन । पछि ३ महिना धरान प्रहरी थानामा उनी र उनका साथी ४ जनालाई लामो समयसम्म राखियो । जसमा, चीनका पूर्वराजदूत टंक कार्की, डा. सुवोध पोखरेल, सुनिल प्याकुरेललाई थुनामा राखियो र सो समयमा अस्पताल जानुपर्दा हतकडी लगाएर धरानको नयाँ बजार शहर घुमाउँदै हिडेर धरानको छाता चोकमा भएको अस्पतालमा लाने र ल्याउने गर्दथ्यो । बाटोभरी मानिसहरुले सो दृश्यहरु हेर्दथे । रिहाई गर्नुभन्दा अघि उनीहरुमाथि ३ वटा कारवाहीहरु गरियो  । क) थुनामा राख्ने काम, ख) ६ महिनाको लागि क्याम्पसमा पढन नपाउने गरी रेष्टीकेट, ग) सुनसरी र मोरङको सीमानामा पर्ने दुहबी पुलदेखि उता बिराटनगर जान नपाउने गरी प्रतिबन्ध लगाईयो ।

आम जनताले बुझ्ने र देख्ने गरी असल र अनुशासित शिक्षकको भूमिका निर्वाह गरेका प्रधानाध्यापक पोखरेलको दोहोरो जिम्मेवारी थियो । भूमिगत अवस्थामा रहेको कम्युनिष्ट पार्टीको संगठन जहाँ–जहाँ कमजोर हुन्थ्यो, अनेक बहाना बनाएर त्यहाँ सरुवा हुनुपर्ने पोखरेलेको बाध्यता नै थियो । त्यसैले २०३४ सालमा पोखरेलले राष्ट्रिय निमावि तरहरा सुनसरीमा सरुवा भई प्रधानाध्यापकको रुपमा कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै पार्टी संगठन निर्माणमा समेत योगदान गरे । 

प्राधानाध्यापक भएर राष्ट्रिय निमावि तरहरा सुनसरीमा आएपछि पोखरेललाई थाहा भयो र एकजना परशुराम दंगाल अभिभावकसँग मिलेर विद्यालयलाई चाहिने ६ विगाहा जग्गा एैलानी रहेको पाईयो । उक्त एैलानी जग्गालाई अभिभावक र अन्य शिक्षासेवीहरुको नेतृत्व गर्दै केन्द्रिय अर्थमन्त्रीलाई भेटी पोखरेलले विद्यालयको नाममा दर्ता गराउन सफल भए । दंगाल र पोखरेलकै प्रयासले अहिले तरहरा कृषि फार्म अगाडिको जग्गाले करोडौँको आम्दानी गराई अहिले राष्ट्रिय माध्यमिक विद्यालय, तरहरा सहज रुपमा संचालन हुन सकेको छ ।

शिक्षक रहेकै अवस्थामा पोखरेल २०३५ सालमा अंग्रेजी विषय लिएर केन्द्रिय क्याम्पसको शिक्षा संकायमा भर्ना भएका थिए । अंग्रेजीमा स्नातक गर्दै गर्दा २०३५ सालमा पंचायत समर्थक राष्ट्रिय विद्यार्थी मण्डलले देशव्यापी तहल्का मच्चायो । सोहि समयमा विद्यार्थी नेता ईश्वरी बस्याललाई त्यो बेलाका चर्चित मण्डले नेताहरुले कुटपीट गरेपछि त्यसको विरुद्धमा पोखरेलले साथीहरुसँग मिली विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै विभिन्न विरोध कार्यक्रमहरु आयोजना गरी मण्डलेहरुको दादागिरी घटाउन भूमिका निर्वाह गरेका थिए ।

२०३५ को चैत्र महिनामा पाकिस्तानका तत्कालिन राष्ट्रपति जुल्फिकर अलि भुट्टोलाई पाकिस्तानी सरकारले मृत्युदण्ड दियो । त्यसको विरोधमा शुरुभएको नेपाली विद्यार्थी आन्दोलनको नेतृत्व नौं सदस्यीय केन्द्रिय संघर्ष समितिले गर्याे । उक्त समितिमा रही विभिन्न आन्दोलनको नेतृत्व गर्दै नेता पोखरेल करिब ४ महिना काठमाडौं, पाटन र भक्तपुरमा भूमिगत भए । आन्दोलनलाई थप सशक्त र देशव्यापी बनाउनुपर्ने भएपछि पार्टीकै निर्देशनमा नेता पोखरेलले हेटौंडा हुँदै विरगंजसम्म पुगी विद्यार्थी आन्दोलनलाई उचाईमा पुर्याउन नेतृत्वदायी भूमिका निर्वाह गरे । सोही आन्दोलनले जनमत संग्रहको घोषणा राजाबाट २०३६ साल जेठ १० गते भयो ।

विद्यार्थी आन्दोलनका अगुवा नेताको रुपमा रहेका पोखरेलले सोही दिन च्यासलमा भएको वृहत ऐतिहासिक आमसभामा मनमोहन अधिकारी र सिद्धिलाल सिंह सँगसँगै आफ्नो विचार राखी आफूलाई राष्ट्रिय नेताको रुपमा स्थापित गराउन सफल भए । सोहि आन्दोलनको रापतापको कारण नेता पोखरेलसँग बिबिसी रेडियोका चर्चित पत्रकार मार्क टेलिले राष्ट्रिय सभागृहमा आन्दोलनको आवश्यकता र औचित्यबारे ऐतिहासिक अन्तर्वार्ता समेत लिएका थिए ।

खासगरी विद्यार्थी आन्दोलनका प्रभावले जब जनमत संग्रहको घोषणा भयो, त्यसपछि पोखरेलले वामपन्थी नेता सिद्धिलाल सिंहसँग सहयात्रा गर्दै ललितपुर पाटनका गल्ली–गल्ली र चोक–चोकमा रातीराती पेट्रोमेन्स बालेर जनमत संग्रहमा बहुदललाई जिताऔं भन्ने पोस्टरिङ्ग गर्दै विभिन्न सभाहरुमा सम्बोधन गरेर बहुदलको पक्षमा जनमत पार्न शहासिक भूमिका समेत निर्वाह गरेका थिए र साथै यही सिलसिलामा बिराटनगरको विष्णुमाया पुस्तकालय ‘जनमत संग्रह’को आम सभामा उनीलाई स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारीज्यूले नेपालको एउटा जिउँदो शहिद भनेर घोषणा पनि गरेका थिए ।

बिराटनगर जेलमा मजदुर आन्दोलनका नेताहरुसँगको तस्वीर

२०२६ सालदेखि नेकपा (पूर्व कोशी) को सदस्य बनेका पोखरेलले २०३६ सालमा नेकपा मालेको पार्टी सदस्यता लिई सपथ समेत लिएका थिए । कम्युनिष्टको पार्टी राजनीतिलाई जीवनमा आत्मसात् गर्दै शिक्षण पेशामा जोडिएका पोखरेलले २०३७ सालतिर नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरी जिल्लाको सह–सचिव हुँदै सचिवको जिम्मेवारी समेत निर्वाह गरे । शिक्षक नेता भएकै समयमा आन्दोलनको नेतृत्व गरेर पंचायती शासनको विरोध गरेपछि प्रहरीले नियन्त्रणमा लिएर पोखरेललाई कस्टडीमा समेत राखेको थियो ।

पार्टीहरु प्रतिबन्धित थिए, त्यसैले पार्टी संगठनको काम कहिले शिक्षक त कहिले विद्यार्थी हुँदै गर्नुपर्थ्यो । मजदुरको आन्दोलन नउठेपछि पोखरेललाई पार्टीले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुनसरी धरानमा भएको आन्दोलनको नेतृत्व गर्ने पठायो । विराटनगरमा भएको मजदुर आन्दोलनमा सहभागी भएपछि पोखरेललाई पक्राउ गरी फेरी एक महिना जेल हालियो ।

एउटा विषय एम.बि.ए व्यवस्थापनमा स्नात्तकोत्तर सकेका पोखरेललाई तत्कालिन पार्टी नेता मदन भण्डारी (सागर) को निर्देशनमा पुनः एम.ए. अर्थशास्त्रमा भर्ना हुनुपर्याे । ८००० भन्दा बढी अध्ययन गर्ने महेन्द्र मोरंग क्याम्पस विराटनगरमा  २०४० सालमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु (पाँचौ) को प्यानललाई जिताउन सक्ने एकमात्र सक्षम नेता पोखरेल मात्र भएकोले नेता सागरले अनुरोध गरेका थिए ।

पार्टी निर्देशनलाई निःशर्त पालना गर्ने नेता पोखरेलले २०४० सालको स्ववियु निर्वाचनमा तत्कालिन नेविसंघ र अनेरास्ववियु छैटौँलाई पराजित गर्दै अनेरास्ववियु पाचौँको सिंगो प्यानललाई सानदार मतका साथ स्ववियुमा निर्वाचित गराउन सफल भए । पोखरेल सभापति भएको उक्त स्ववियुको कोषाध्यक्षमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि निर्वाचित भएकी थिईन् ।

भूमिगत जीवनका अविस्मरणीय घटनाहरु 
२०३८ सालमा महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अनेरास्ववियु पाँचौबाट स्ववियु सभापतिको उम्मेदवार भएका नेता सिताराम पोखरेललाई जिताउन भरतले सारथीको भूमिका खेलिरहेका थिए । तर निर्वाचन सकिएर राती मतगणना गर्न शुरु गर्दैगर्दा गणना स्थलमा तत्कालिन नेविसंघका नेता विजय कुमार गच्छेदार सहितको टोलीले संगठनका लडाकु नेता भरत पोखरेललाई मार्ने मनसायले खुकुरी, पेस्तोल, तीर, भाला, छुरी, चाकुहरुको प्रहार गर्न थाले । मध्यरातको समय, ठूलो संख्यामा आएका गुण्डाहरु ज्यादतीपूर्ण आक्रमणबाट ज्यान जोगाउन भाग्नुको विकल्प नदेखेका नेता पोखरेलले जीवन नै दाउमा राखेर क्याम्पसको दोश्रो तल्लाबाट पीच बाटोमा हाम्फाले ।

रातको करिब १२ बजेको समयमा क्याम्पस भवनको दोश्रो तल्लाबाट हामफाल्दा पोखरेलको दाहिने खुट्टा भाच्चियो । देब्रे खुट्टाको मद्दतले अध्याँरोको मौका छोपी पोखरेल क्याम्पस कम्पाउण्ड भित्रको काँडाघारीमा लुसुक्क लुकेर काँग्रेसीहरुबाट आफ्नो ज्यान बचाउन सफल भए । गणनास्थलमा अनेरास्ववियु पाँचौंको तर्फबाट प्रतिनिधि नै नभएपछि नेविसंघले एकतर्फी रुपमा निर्वाचित भएको घोषणा गरी जुलुश लगाउँदै हिँडे । स्वघोषित विजेता बनेर नेविसंघका भिजिलान्तेहरु क्याम्पस बाहिर गएपछि सोहि मौका पारी तत्कालिन विद्यार्थी नेता ध्रुवनारायण श्रेष्ठले साईकलमा चढाएर नेता पोखरेललाई आफ्नो घर लगेका थिए ।

प्रहरी दमन र नेविसंघको गुण्डागर्दीको कारण आफ्नो जीवन नै असुरक्षित भएपछि ध्रुवनारायण श्रेष्ठको घरमै डाक्टर बोलाई प्लास्टर गरी १ महिना श्रेष्ठको घरभित्रै लुकेर बसी पोखरेलले आफ्नो खुट्टाको उपचार गरेका थिए ।

शिक्षकको भूमिकामा भूमिगत रहँदा कै अवस्थामा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै हेटौंडाको भुटनदेवी मावि र रुपन्देही देवदहको जंगलको भएको शिक्षकहरुको गुप्त भेलामा सहभागी भई स्व. नेता जीवराज आश्रितसँगै केराको पातमा काँचो आँपको अचारसँगै खाना खाएको स्मृति समेत पोखरेलको दिमागमा अझै ताजा छ ।

२०३४ साल भदौमा नेकपा (पूर्व कोशी) पार्टी कामको शिलशिलामा धनकुटाको चौबिसे डाँडाबजारमा पार्टीको आन्तरिक कार्यकर्ता भेटघाट जाँदा खड्ग नारायण ढुङ्गानाको घरबाट पक्राउ परेका पोखरेल र मुरारी भट्टराई तात्कालिन डाँडा बजार गाउँ पञ्चायतका प्रधानपञ्च भगीश्वर लिम्बुको निर्देशनमा सिरेटो चल्ने डाँडामा लगी अराष्ट्रिय तत्व भन्दै विना सोधपुछ बन्दुकको कुन्दाले जथाभावी आक्रमण गरियो ।

सहयोद्धा मुरारी भट्टराई र भरत पोखरेल

करिब ३ घण्टाको चरम यातनापछि पोखरेलको साथी मुरारी भट्टराईलाई ओडारेडाँडाको भिरमा लगी बन्दुक तेर्साई ‘तँ किन यो नेतासँग आईस्’ भनी बन्दुक तेस्याउँदा भट्टराईले, ‘हामी त नास्पती खान आएका हौँ । अरु कुनै कारण छैन । भट्टराईको कुरा सुनेपछि उनीहरुलाई विद्यालयको चउरमा लगी स्थानीय जनता भेला गराई जबरजस्ती अग्नी थापा, लक्ष्मीप्रसाद ढुङ्गाना, खड्गनारायण ढुङ्गानालाई समेत कुटन बाध्य पारियो ।’ नेता पोखरेल भन्छन् दबाबमा परी उनीहरुले कुटेपनि क्षेत्री थर गरेका अरु व्यक्तिहरुलाई कुट भन्दा हामी कुटदैनौ, यी हाम्रा मास्टर हुन भनी प्रतिवाद गरे । एकजना सुब्बा थरका भूतपूर्व सैनिक हल्दारलाई पनि कुट्न अनुरोध गरियो । उनले पनि कुट्नलाई इन्कार गरे । त्यसपछि उनीहरु हामीलाई स्कूलको चिसो रछ्यानमा, जाडो, कुहिरो लाग्ने ठाउँमा रातभरी हत्कडी लगाई थुन्ने काम भयो । भोक, जाडो र रातीको चिसोले कठ्याग्रिएपछि दिसा, पिसाब गर्न अप्ठ्यारो पर्याे । त्यस्तो अवस्थामा उनीहरुले आफ्नै जुत्तामा पिसाब गरेछन् र भोलिपल्ट प्रधानपञ्चले हामीलाई नाईनलको लामोडोरी हत्कडी लगाई दुईजना प्रहरीको साथमा धनकुटा जेल चलान गरे । हिड्न नसकेपछि राती उनीहरु टेकुनालाको उकालोमै सुतेछन् । अर्कोदिन धनकुटा डिएसपी कार्यालयमा पुग्दा धनकुटा बजारका सबै मान्छे र वकिल, बुद्धिजीवी, समाजेवी मिलेर डिएसपी कार्यालयमा घेरा हाले । कानुन व्यवसायी र समाजसेवीहरुले कार्यालय नै घेराबन्दी गरी यी नेतालाई थुन्यौं भने देशभरी हडताल हुन्छ भनी दबाब दिएपछि उनीहरुको सानो बयान बनाई तत्काल छोडियो ।’

प्रहरीद्वारा गिरफ्तारीमा परेका उनीहरुका झोलाहरु सबै डाँडाबजारको भिरबाट फालिदिएको थियो । उनीहरुको गोजीमा एक रुपैयाँ पैसा पनि थिएन । उनीहरु बेखर्ची थिए । उनका मित्र मुरारी भट्टराईका भिनाजु भूमि प्रशासन कार्यालय धनकुटामा नायब सुब्बामा कार्यरत भएकोले उनीसँग केहि पैसा सापट लिई उनीहरु धनकुटादेखि हिडेर आएछन् ।

आफ्नो तितो अनुभव सुनाउँदै पोखरेल भन्छन्, ‘प्रहरीको कुटाईले जिउभरि निलडाम थियो । अत्याधिक दुखेको शरीर देखाउन धरान हस्पिटलमा जाँदा एकजना शान्ता थपलियाका (श्रीमान) डाक्टरले तपाईहरु त्यो पञ्चमाथि कानुनी कारवाही गर्नुस् भन्दा उनले ‘इट्टाको बदला ढुङ्गा’ले दिईन्छ भनेछन् । त्यसको केहिदिनपछि प्रधानपञ्च भगिश्वर लिम्बु धरानमा आउँदा उनीहरुले खेदेछन् । सरकारी जागिरे र स्थानीय मास्टरलाई कुटपिट गरेको हुनाले तत्कालिन प्रमुख जिल्ला अधिकारी भक्त बहादुर कोइरालाले प्रधानापञ्च लिम्बुलाई बोरामा हालेर डाँडाबजारबाट ल्याई तात्कालिन मुलघाटमा बोराभित्रै राखी कुटपिट गरी सजाय दिए ।  सोहि क्रममा प्रधानपञ्च भगिश्वर लिम्बुले ‘गोरखा दक्षिण बाहु पदक पाएको व्यक्ति हुँ’ भनेर देखाउन खोजेछन्, उनको दक्षिणबाहु सहितको हातमा हिर्काएर प्रमुख जिल्ला अधिकारीले तेरो दक्षिण बाहु भन्दै हुत्याईदिएछन् । प्रधानपञ्च लिम्बुलाई प्रमुख जिल्ला अधिकारी कोईरालाले धनकुटा बजारमा बिहान १ पल्ट, बेलुका १ पल्ट हतकडी लगाएर बजार घुमाउने गर्थे रे । प्रजिअकै यातनाले गर्दा केहि समयपछि प्रधानपञ्च भगिश्वर लिम्बुको देहान्त भयो ।’

भूमिगत कालको अर्काे घट्ना सुनाउँदै पोखरेलले भने, ‘२०४० सालमा मेरो छोरो जन्मिएको १ महिना मात्र भएको थियो । शिक्षक आन्दोलनको नेतृत्व गर्याे भनेर उनलाई विराटनगरबाट पक्रिएर धनकुटा जेलमा लगेर चार महिनासम्म राख्यो । सो समयमा शिक्षक नेताहरु कृष्ण भगत, विमल कोइराला, डिल्ली पोखरेल लगायतसँग उनलाई राखिएको थियो । श्रीमती र उनका छोराछोरी धरान बजारको एउटा काठको घरमा माथिल्लो तलामा एउटा कोठामा डेरा लिएर बसेका थिए । उनी स्कूलको प्रधानाध्यापक भएको हुँदापनि थुन्दा तलब भत्ता केहीपनि प्राप्त हुँदैनथ्यो । सो समयमा उनको सुत्केरी श्रीमतीको सारै बिचल्ली भएछ । सुत्केरी अवस्थामा रहेकी श्रीमतीलाई भेट्न २ हप्तासम्म श्रीमान नआएपछि उनले खोजी गर्न थालिछन् । हाल किर्तिपुरमा पढाउने प्राध्यापक डा. गोविन्द सुवेदीले श्रीमती बसेकै घरमा गएर धनकुटा जेलमा श्रीमान् भएको खबर सुनाएछन् । सुत्केरी ज्यानकी श्रीमती खान समेत नपाएपछि एक महिनाको काखे छोरो र सानी छोरीलाई लिएर धनकुटा जेलमा पुस महिनाको जाडोमा भेट्न गईछन् । उनले त्यहिबेला थाहा पाएछन् श्रीमतीले सुत्केरी टार्नको लागि पत्रिका र औषधीका बोतलहरु बिक्रि गरेर सुत्केरीलाई चाहिने तेल किनिछन् । जेलबाट छुटेर घरमा आउँदा दोस्रो तल्लाबाट घरवालाले भूईतल्लाको कोठामा झरेर उनीहरु प्लाष्टर नगरेको चिसो भुईमा जाडोमा सुत्दा रहेछन् । त्यतिबेला छोराछोरी र श्रीमतीको शरीरभरी लुतैलुतो निस्किएको रहेछ । त्यस्तो अवस्था देखेर उनी स्तब्ध भएछन् । त्यो रात उनलार्ई निन्द्रा नै परेनछ ।’

हेटौंडा मनकामना मन्दिरमा शुभविवाहको तस्वीर

ब्राम्हणवादी सोचको अन्त्य गर्दै अन्तरजातीय विवाह 
विद्यालयको प्रधानाध्यापक रहेकै अवस्थामा खुट्टा भाँचिएपछि पोखरेलले २ महिनाको छुट्टी लिएर शिक्षिका बसन्तीदेवी शाक्यसँग हेटौडामै पुगी दुवैको मञ्जुरीमा विवाह समेत गरेछन् । प्रगतिशील ढंगले भएको पोखरेलको अन्तरजातीय विवाहमा नेपाल राष्ट्रिय शिक्षक संगठनका तात्कालिन केन्द्रिय अध्यक्ष बद्री प्रसाद खतिवडाको (नेता विरोध खतिवडाका पिता) संयोजनमा हेटौडाको पूर्वी डाँडामा रहेको ‘मनकामना मन्दिर’मा शुभविवाह सम्पन्न भएछ ।

हिन्दुधर्म अनुसार ब्राम्हण परिवारका सदस्यले शाक्यसँग गरेको विवाहलाई पोखरेल परिवारले स्वीकार गर्ने अवस्था नै थिएन रहेछ । यता शाक्य परिवारले समेत छोरीको अन्तरजातीय विवाहलाई मान्यता दिएनछन् । प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा जोडेका कम्युनिष्ट विचारवादी नवदम्पती पारिवारिक वहिष्करणमा परेपछि मोरङ जिल्लाको गछियामा रहेको पितकुमार श्रेष्ठको घरमा भित्र्याउने व्यवस्था मिलाइएछ । ग्रामीण वर्गको सम्पन्न परिवारमा गनिने पोखरेल परिवारले छोराको विवाहलाई स्वीकार नगरेपछि उनले विराटनगर र धरानमा ३ वर्ष डेरा गरी कठिन जीवनयापन गर्नुपरेछ । राजनीतिमा पूर्णकालीन रुपमा लागेका पोखरेलको शिक्षण वापतको आम्दानी पार्टी संगठन कै लागि खर्च हुन्थ्यो । अन्तरजातीय विवाहपछि बाबु आमाबाट प्राप्त हुने आर्थिक र चामल आपूर्ति नै बन्द भएपछि उनीहरु साथीहरुका डेरामा बसी आफ्नो गुजारा चलाउन समेत बाध्य भएका रहेछन् ।

शिक्षक, स्ववियु सभापति हुँदै प्राध्यापक सम्मको यात्रा 
नेपाल राष्ट्रिय शिक्षक संगठनले शुरु गरेको २०३७–३८ को आन्दोलनलाई उचाईमा पुर्याउन ११ दिनसम्म  शिक्षक, विद्यार्थी र अभिभावक सहितलाई सहभागी गराई पोखरेलले मशाल जुलुस र कोणसभा गरी तत्कालिन शिक्षक आन्दोलनको समेत नेतृत्व गरेका रहेछन् ।

२०४० को स्ववियु निर्वाचनपछि तत्कालिन पार्टी नेता सागर (मदनकुमार भण्डारी) को निर्देशनमा स्वतन्त्र विद्यार्थी युनियन मार्फत ३ दिने ऐतिहासिक कार्यशाला संचालन गरी आप्रवासन समस्या र समाधान विषयमा निवर्तमान प्रधानमन्त्री टंकप्रसाद आचार्य र प्रख्यात अर्थशास्त्री गोविन्द लोहनी, मानव अधिकारकर्मी सुशील प्याकुरेल र प्रा. बिशेश्वरमान श्रेष्ठ लगायत विद्धत वर्गलाई सहभागी गराई वाम आन्दोलनमा ईट्टा थप्ने काम गरेका थिए ।

नेपथ्यबाट मदन भण्डारीको निर्देशनमा भएको कार्यशाला गोष्ठीको मुख्य उद्देश्य कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउनु थियो । पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रममै स्ववियुद्वारा प्रकाशन प्रारम्भ गरिएको ऐतिहासिक प्रकाश पत्रिकामा मदन भण्डारीको महत्वपूर्ण लेख समेत समावेश गरिएको थियो । तत्कालिन नेता टंकप्रसाद आचार्यबाट उद्घघाटन गरिएको कार्यशाला गोष्ठीका आमन्त्रितहरुलाई काठमाडौंबाट हजाइजहाज टिकटको व्यवस्था स्ववियुले नै गरेको थियो ।

उनले राजनीतिक सिलसिलामा पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्य, विशेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, मदन भण्डारी र अमृत बोहरा, डा. गोविन्द लोहनी, र जीवराज आश्रितसँग कुनै खुल्ला, कुनै भूमीगत सामिप्यता भएछ ।

नेपालको पूर्वी क्षेत्रमा उनी बामपन्थी आन्दोलनका जबरजस्त नेता थिए । त्यसैले स्नात्तकोत्तर उत्तीर्ण गरेपछि क्याम्पसमा पठनपाठन गर्न खोज्दा धरान र विराटनगरका सबैजसो क्याम्पसहरुमा उनलाई प्रतिबन्ध जस्तै लाग्यो । कुनैपनि क्याम्पसका प्रमुखहरुले उनलाई अध्यापन गर्न दिनै चाहेनन् । उक्त कठिन परिस्थितिमा समेत पोखरेलाई पार्टीका साथीभाइहरुको शुभेच्छुकको सहयोगले मेची बहुमुखी क्याम्पस भद्रपुर झापामा सहायक–प्राध्यापकको रुपमा प्रविणता प्रमाणपत्र र स्नातक तहलाई अध्यापन गर्ने अवसर मिल्यो । पोखरेललाई अध्यापनको वातावरण मिलाउन प्रा. माधव न्यौपाने, प्रा. विशेश्वरमान श्रेष्ठ(संचय कोषका निवर्तमान प्रमुख) तुलसी गौतम सहित अन्य साथीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सहायक–प्राध्यापकमा नियुक्ति भएको एक महिनापछि हाल राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा पोखरेलको कक्षा विद्यार्थीहरुले बहिष्कार गरे ।  राजनीतिबाट खारिएका पोखरेलले कक्षाका विद्यार्थीलाई भेला गराई ‘म भोलिदेखि पढाउन आउँदा डायरी नबोकिकन पढाउनेछु ।  २/४ सय विद्यार्थीले हप्काउँदैमा म हप्किन्न । मलाई १०/२० हजार विद्यार्थीले हप्काएछन भने त्यतिखेर मेरो विरोध भएछ भन्ने बुझ्नेछु ।’

पोखरेलको गर्विलो तर्कमा सहमत भएका विद्यार्थीहरु विस्तारै–विस्तारै गर्दै उनको कक्षामा आउन थाले । कक्षाका सबै साथीहरुले पढ्न थालेपछि विद्यार्थीको रुपमा रहेका राजेन्द्र लिङदेनले आफ्नो गल्ती स्वीकार गर्दै पोखरेलको कक्षामा कुनै अवरोध गर्ने काम गर्न सकेनन् ।

मेची बहुमुखी क्याम्पस झापामा पढाउँदाखेरीको अवस्थाको तस्वीर

पोखरेलले मेची बहुमुखी क्याम्पस भद्रपुर झापामा २०४४ देखि २०५० को अवधिमा अध्यापन गराए । २०४६ को जन–आन्दोलन शुरु भएपछि राजनीति आधारभूमि धरान फर्किएर नेता पोखरेलले प्राध्यापक र शिक्षक आन्दोलनको अगुवाई गरे । जनआन्दोलनलाई निर्णायक बनाउन पोखरेलले चोक–चोकमा चर्काचर्का भाषण गरी आन्दोलनको नेतृत्व गरेका थिए ।

मेची क्याम्पस झापामा रहँदा प्राध्यापक संघ ईकाईको कार्यसमितिमा बसेर काम गरेका पोखरेलले प्रजातन्त्र पुर्नस्थापनापछि भएका निर्वाचनहरुमा लिला उदासी, द्रोणाचार्य क्षेत्रीहरुको निर्वाचनहरुमा सहभागी भई मतदानको लागि अपिल समेत गरेका थिए । प्राध्यापनको अवधिमा झापामा रहँदा नेकपा एमालेको प्राध्यापक कमिटीमा बसेर समेत पोखरेलले पार्टीमा योगदान पुर्याएका छन् ।

झापामा ७ वर्ष प्राध्यापन गरेका पोखरेल २०५० बैशाखमा सरुवा भई धरानको महेन्द्र बहुमुखी क्याम्पसमा उप–प्राध्यापकमा भई वाणिज्य शास्त्रमा अध्यापन गराउन थाले ।  आफू जुन भूगोलमा रहेपनि पार्टीका विभिन्न मोर्चाहरुमा लागिरहेन पोखरेलले नेकपा एमाले धरान नगर कमिटीमा रहेर समेत काम गरेका छन् ।

२०५५–०५६ सालतिर नेकपा एमाले जिल्ला कमिटी सुनसरीको सल्लाहकार कमिटीको अध्यक्ष भई जिम्मेवारी बहन गरेका पोखरेलले नेपाल प्रगतिशील प्राध्यापक संगठन (२०५५–०५६) को पूर्वाञ्चल अध्यक्ष भई आफ्नो भूमिका निर्वाह गरेका छन् । र साथै कोशी अञ्चल बुद्धिजीवि कमिटीमा एमालेको तर्फबाट पनि काम गरे ।

धरानमा भएको प्रगतिशील प्राध्यापक संघको पाँचौ केन्द्रिय महाधिवेशनमा आयोजक कमिटीको संयोजक भई ३ दिने महाधिवेशनका प्रतिनिधिहरुलाई खाने, बस्ने व्यवस्था मिलाएका पोखरेले २०५८–२०६० को दरबियानमा नेपाल बुद्धिजिवी परिषद्को केन्द्रिय सदस्य भई २ कार्यकाल आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।

बौद्धिक वृत्त नेपालका सदस्यहरुसहितको तस्वीर

२०६२ को दोश्रो जनआन्दोलनमा धरानमा बुद्धिजिवीजी नेतृत्व गर्दै विभिन्न सभाहरुमा सम्बोधन गरेका पोखरेल २०६४ सालदेखि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्र, किर्तिपुरमा स्तर निर्धारण समितिको प्रमुखको रुपमा कार्यरत रही विभिन्न प्राज्ञ र बुद्धिजिवीहरुसँग सहकार्य गरी करिब ३ दशक लामो प्राध्यापन पेशाबाट २०७२ सालमा अवकाश पाएका हुन् ।

अवकाश प्राप्त जीवनपछि समेत प्रगतिशिल प्राध्यापक संगठनको केन्द्रिय नेतृत्वमा सल्लाहकारको रुपमा रही काम गरेका पोखरेलले देशभरका प्रगतिशील विचार बोक्ने प्राध्यापकहरुलाई संगठित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

२०६४ सालमा त्रिभुवन विश्वविद्यालयमा सरुवा भएपछि बूढानीलकण्ठ–१० मा स्थायी बसोबास गर्दै आएका पोखरेलले काठमाडौंमा छरिएर रहेका बाम बुद्धिजिविहरु र इतर समूहका बुद्धिजिविहरुलाई समेटेर स्वतन्त्र बौद्धिक संगठनको रुपमा ‘बौद्धिक वृत नेपाल’ स्थापना गरी केन्द्रिय अध्यक्षको रुपमा हालसम्म कार्यरत छन् ।

बौद्धिक संगठन मार्फत विभिन्न कार्यशाला, गोष्ठीहरु गर्दै विभिन्न विद्यत व्यक्तित्वहरुको अनुभव र विचारलाई अभिलेखीकरण गर्दै राष्ट्रलाई उन्नतितर्फ लैजान सरकारलाई झक्झकाई रहेका पोखरेलले बेला–बेलामा बनभोज, शैक्षिक भ्रमण, देउसी भैलो कार्यक्रमको माध्यमले विभिन्न उद्योगी, व्यवसायीसँग विज्ञापन संकलन गरी ‘बौद्धिक दर्पण स्मारिका’ निरन्तर प्रकाशन गरिरहेका छन् ।

प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा गठन गरिएको ‘उच्च स्तरीय शिक्षा आयोग’मा सदस्यको रुपमा जिम्मेवारी बहन गरेका पोखरेलले रामपुर र हेटौंडामा रहेको कृषि क्याम्पसको जग्गा विवादको समाधानमा महत्वपूर्ण भूमिका समेत निर्वाह गरेका छन् ।

२०७०–७२ मा त्रिविको प्रतिनिधिको रुपमा पशुपति बहुमुखी क्याम्पस चावहिलको क्याम्पस व्यवस्थापन समितिमा रही काम गरेका पोखरेल हाल नेपाल खुल्ला विश्वविद्यालयको पुनरावेदन समितिको सदस्य (जर्ज)मा रही जिम्मेवारी बहन गरिरहेका छन् ।

२०६४ सालमा बूनपा १० को स्थायी बासिन्दाको रुपमा रहेका पोखरेलले बूढानीलकण्ठ नगरपालिकाको सल्लाहकारको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्