बूढानीलकण्ठ नगरपालिकामा नगरप्रमुख मिठाराम अधिकारीका १०० दिनका ४९ उपलब्धी (सूचीसहित)



काठमाडौं । २०७९ को स्थानीय निर्वाचनपछि बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा सवै जनप्रतिनिधिद्वारा गरिएका ४९ कामको सूची परिवर्तन खबरलाई प्राप्त भएको छ ।

प्रस्तुत गरिएको उपलब्धीमा नयाँ वडा कार्यालयका भवनहरु शिलान्यास तथा निर्माण कार्यको सुचारु, नियमित काम अन्तर्गत नक्सा पास, निर्माण सम्पन्न, नामसारी, ६५ योजना सम्झौता, २४९ योजना अनुगमन र १७ करोड भुक्तानी गरेको विवरण समेत उल्लेख गरिएको छ ।

शिक्षा क्षेत्रमा गरिएको कामलाई विशेष प्राथमिकता राख्दै १२ वटा उपलब्धी समेटिएको छ । शिक्षा अन्तर्गत गरिएका कार्यहरुमध्ये शिक्षक बैंक र वृत्ति परामर्श तथा रोजगार मेलाको अवधारणा नयाँ भएपनि अरु उपलब्धीहरु नियमित जस्ता देखिन्छन् ।

स्वास्थ्य सेवा अन्तर्गत गरिएका नियमित कामहरुलाई उपलब्धीको रुपमा समेटिएको देखिन्छ भने न्यायिक समितिबाट छोटो समयमा गरिएका ७८ वटा मुद्दा फछ्र्याैटले न्यायिक समितिको गतिशिलतालाई प्रतिविम्बित गर्छ ।

बूढानीलकण्ठ नगरपालिकामा नव–निर्वाचित जनप्रतिनिधिहरुको पदभार पश्चात १०० दिनमा भएका मुख्य उपलब्धीको विवरण :

१. नगरपालिका र नेपाल बिद्युत प्राधिकरण बिच करिब रु. ७ करोडको सडक बत्ति जडान संझौता भई ठेक्का सम्पन्न भएको ।
२. संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौडा बिच वडा नं. ८ मा खानेपानी व्यवस्थापनको लागि रु. १६ करोड ४३ लाख को संझौता भई ठेक्का सम्पन्न भएको ।
३. नगरपालिकाको वडा नं. १ र ४ को वडा भवन शिलान्यास भई वडा नं. १ र ३ को निर्माण कार्य प्रारम्भ भएको ।
४. नगरपालिकाको मुख्य भवन निर्माणको मुद्दा किनारा लागि भवन हस्तान्तरणको प्रकृयामा रहेको ।
५. नक्सा सम्बन्धी विवरण : फाइल दर्ता ११५७, नक्सापास २५१, सम्पन्न ३०७, नामसारी १५४, टहरापास १३ ईजाजत २८० तल्ला थप २१, अभिलेखिकरण ८२ र नियमित ५२
६. सडक बोर्ड र नगरपालिकाको संयुक्त लगानीमा सडक मर्मत सम्बन्धि ठेक्का कार्य— ३ वटा, च्यासिन्डोल कबर्ड हल ठेक्का कार्य—१, सडक ग्राभेल ठेक्का आह्वान (दशै अगाडि सबै कच्चि सडकमा ग्राभेल गर्ने)—१, स्टेसनरी तथा मसलन्ध सामग्री ठेक्का आह्वान—१, वडा नं. ७ को वडा कार्यालय सम्पन्न—१, नगर अस्पताल निर्माण अन्तिम चरणमा रहेको, नगरपालिकाको office meeting hall निर्माण कार्य अन्तिम चरणमा रहेको, वडा नं. २ को कार्यलय निर्माण अन्तिम चरणमा रहेको ।
७. ६५ वटा योजना संझौता, २४९ वटा योजना अनुगमन गरी उपभोक्ता समितिबाट संचालित १४८ वटा योजनाको रु. १७ करोड ४१ लाख भुक्तानी गरेको ।
८. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ३० जनालाई १०० दिनको रोगारी प्रदान गरेको ।
९. बुढानीलकण्ठ स्वास्थ्य चौकीमा अल्टासाउण्ड मेशिन सहितको स्वास्थ्य सेवा सुचारु ।
१०. बजार अनुगमन शुरु गरिएको ।
११. सुरक्षित नगर कार्यक्रम अन्तरगत सिसिटिभी जडानको प्रकृया शुरु गरिएको ।
१२. नगरको कृषि बजार निर्माण स्थलको साईट क्लियर गर्ने प्रकृया अघि बढेको ।
१३. विश्व वातावरण दिबसको अबसरमा नगर भित्रका विभिन्न पार्क तथा सडक किनारामा बृक्षारोपण गरेको ।
१४. धोविखोला सरसफाई तथा धोविखोला कोरिडोरमा वृक्षरोपण कार्यक्रम आयोजना भएको ।
१५. दशौ नगरसभा सम्पन्न सम्पन्न गरी आ.ब. २०७९/०८० को नीति तथा कार्यक्रम र वजेट स्वीकृति गरेको।
१६. ६ नं. वडा कार्यालयमा योजना सम्झौता सम्वन्धी अभिमुखिकरण ।
१७. विपद व्यवस्थापनको लागि द्रुत प्रतिकार्य टोलि (RRT) गठन गरि तत्काल परिचालनको व्यवस्था मिलाईएको ।
१८. न्युरो अस्पतालदेखि विष्णुमति पुल सम्म र बूढानीलकण्ठ मन्दिर परिसरमा सरसफाई तथा जनचेतना सम्वन्धि कार्यक्रम ।
१९. नगरपालिकाको राजश्व संकलन ८ करोड८२ लाख १५ हजार ८ सय ४० संकलन भएको । गत आ.ब. को सोही अबधीको तुलनामा ३९ प्रतिशतले बृद्धि भएको ।
२०. कर दाताहरुलाई पहिलो चौमासिक भित्र १५ प्रतिशत छुटको ब्यवस्था गरिएको ।
२१. घरैमा बसी कर तिर्ने ब्यवस्थाको गरी कर संकलन तथा भुक्तानीलाई प्रविधीमैत्री बनाउने तयारी भईरहेको ।
२२. सबै सामुदायिक विद्यालयको शैक्षिक सत्र २०७८ को शिक्षण सिकाइको परीक्षण र प्रधानाध्यापकको कार्य सम्पादन करारको मूल्यांकन गरी नतिजा प्रकाशन र उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय र प्रधानाध्यापकलाई प्रोत्साहन अनुदान प्रदान गरिएको ।
२३. शिक्षक बैंकको निर्माण गरिएको ।
२४. नगरपालिका स्तरीय कविता (मेरो लक्ष्य) प्रतियोगिता र निबन्ध लेखन (मेरो विद्यालय, मेरो सपना ) प्रतियोगिता सञ्चालन गरिएको ।
२५. संस्थागत विद्यालयहरुबाट प्रदान गरिने तोकिए अनुसारको छात्रवृति कोटामा पारदर्शि रुपमा विद्यार्थी छनौट गर्ने प्रणाली विकास गरिएको ।
२६. सामुदायिक विद्यालयका प्रत्येक शिक्षकको लागि विद्यालय स्तरमा सूचना प्रविधि सेन्टर खटाइ सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको ।
२७. सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड र पुस्तकालयको स्थापना गरिएको ।
२८. वृति परामर्श तथा रोजगार मेला आयोजना गरी १५६२ जना युवा र विद्यार्थीलाई वृति परामर्श प्रदान गरिएको ।
२९. तहथप अनुमति माग गर्ने २३ वटा विद्यालय मध्ये मापदण्ड पूरा गर्ने ११ वटालाई मात्र अनुमति प्रदान गरिएको ।
३०. शिक्षक दरवन्दी मिलान कार्य सम्पन्न गरिएको ।
३१. बेरोजगार युवा र बैदेशिक रोजगारबाट फर्केका युवाहरुको तथ्यांक संकलन गरिएको ।
३२. बुढानीलकण्ठ शैक्षिक दर्पण प्रकाशन गरिएको । एकिकृत शैक्षिक कार्य पात्रो निर्माण गरी कार्यान्वयन गरिएको ।
३३. सबै सामुदायिक र संस्थागत विद्यालयको सहभागितामा सूचना प्रविधि अद्यावधिक कार्यशाला सञ्चालन गरिएको ।
३४. माद्यमिक तहको कक्षा १० मा लिइने एस.ई ई.परीक्षाको प्रकाशित नतिजाको नतिजा विश्लेषण गरी आगामी वर्ष कम्तिमा २० प्रतिशतले नतिजामा सुधार ल्याउने गरी कार्य योजना पेस गर्न विद्यालयहरुलाई निर्देशन दिइएको ।
३५. वडा नं. ४ र ९ मा शहरी स्वास्थ्य क्लिनक स्थापना गरेको गर्ने र चालु आ.ब.मा संचालनमा ल्याउने गरि प्रकृया अघि बढाएको ।
३६. स्वास्थ्य सँस्था मार्फत सेवा प्राप्त गर्ने जम्मा सेवाग्राहीको संख्या ११८५९ जना, गाउँघर क्लिनिक मार्फत सेवा प्राप्त गर्ने जम्मा सेवाग्राहीको संख्या ५७६, खोप केन्द्र मार्फत खोप सेवा प्राप्त गर्ने जम्मा सेवाग्राही (बालबालिका तथा गर्भवती महिला ) को संख्या २९२१, बृद्वी अनुगमन गरिएका २ वर्ष मुनिका बालबालिकाको संख्या ( नयाँ ) ७९१, १८० ट्याब्लेट आइरन चक्की प्राप्त गर्ने गर्भवती महिलाहरुको संख्या ९८, प्रोटोकल अनुसार ४ पटक गर्भवती जाँच गराएका महिलाहरुको संख्या ९९, स्वास्थ्य सँस्था ( प्रशुती केन्द्र ) मा सुत्केरी भएका महिलाहरुको संख्या ४५, प्रोत्साहन यातायात खर्च प्राप्त गरेका सुत्केरी महिलाहरुको संख्या ४५, गर्भवती उत्प्रेरणा खर्च प्राप्त गरेका महिलाहरुको संख्या ३२, परिवार नियोजनको साधनको नयाँ प्रयोगकर्ताहरुको संख्या ३६८, क्षयरोगको उपचारका लागि दर्ता गरिएका नयाँ बिरामीको संख्या ७२, विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५” बमोजिम कडा रोगहरुको उपचारका निम्ति सहुलियतको सिफारिस गरिएका बिरामीको संख्या ६०, कोभिड-१९ बिरुद्वको खोप सेवा प्रदान गरेको संख्या ( डोज ) ४८२६२, कोभिड-१९ बिरुद्वको खोपको QR Code Verification गरेको संख्या २२५०, प्रयोगशालाबाट सेवा प्राप्त गर्नेको संख्या २६७ रहेको ।
३७. करिब ६ महिनालाई पुग्ने नेपाल सरकार द्वारा तोकिएका नि:शुल्क औषधी तथा सर्जिकल सामग्री सम्पूर्ण स्वास्थ्य संस्थामा उपलब्ध गराइएको ।
३८. मनसुनजन्य विपद् जस्तै बाढी, पहिरो डुबान लगायत आगलागीका निवेदनहरु करीब १०० वटा जति प्राप्त भएको र आएका निवेदनहरुलाई सम्बोधन गर्न स्थलगत निरीक्षण गरी प्राविधिक लागत इष्टिमेट आवश्यक भएमा सो कार्य गरेर अन्य स्थानमा त्रिपाल र प्लाष्टिक बितरण कार्य निरन्तर भईरहेको ।
३९. वडामा रहेका विपद् उध्दार राहत सामाग्रीको तथ्याङ्क संकलन गरी प्रत्येक वडामा ६/६ वटाका दरले त्रिपाल पठाईयो तथा थप आवश्यकता परेको खण्डमा त्रिपाल तथा प्लाष्टिक पठाउने कार्य सम्पन्न गरियो।
४०. संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र IOM संग सहकार्य गरी नगरपालिकाका जनप्रतिनिधिज्यूहरुलाई दुई दिने विपद् व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न गरियो।
४१. नगर प्रमुखज्यूको संयोजकत्वमा नगरस्तरीय विपद् व्यवस्थापन समितिको गठन गरी पहिलो बैठकबाट नगरपालिकामा आएका विपद्का निवेदनहरुमा छलफल गरी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो।
४२. वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाइएको छ।
४३. नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखासंग समन्वय र सहकार्य गरी URBAN-SEA कार्यक्रम मार्फत नगरपालिकामा विपद् अध्ययन तथा सिकाई केन्द्र स्थापना गरी आवश्यक समाग्री व्यवस्थापन कार्य सम्पन्न गरिएको छ।
४४. नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा URBAN- SEA र Resilient Livelihood कार्यक्रम नगरपालिकामा संचालन गर्ने सम्झौता गरी वडा नं १, ५, १३ मा १२५ लाभग्राही छनौट गरी उत्थानशील जिविकोपार्जन कार्यक्रम संचालन भईरहेको छ ।
४५. ७५ प्रतिशत अनुदानमा जैविक विषादी, फेरोमेन ट्याप,ल्यूर वितरण गरेको, धान दिवस कार्यक्रम संचालन गरेको, ७५ प्रतिशत अनुदानमा जैविक विषादी, फेरोमेन ट्याप,ल्यूर वितरण, वाली उपचार शिविर संचालन गरेको, निःशुल्क आकस्मीक बाली संरक्षण सेवा (रोग किरा व्यवस्थापनको लागी जैविक तथा रासायनिक बिषादी खरिद तथा वितरण) गरेको, ५० प्रतिशत अनुदानमा ब्यवसायीक तरकारी खेती गर्ने कृषकलाई विधुतिय स्प्रे वितरण गरेको, ०७७।०७८ मा स्थापना भएका कृषि तर्फका साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरेको, तरकारी वालीको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बिकास कार्यक्रम सञ्चालन गरेको, मध्यम प्रविधियूक्त बहुउद्धश्यीय फलफूल नर्सरी स्थापना गरेको, निजिक्षत्रको सहकार्यमा आधुनिक टिस्यूकल्चर र हाईटेक प्रविधि वाट विरुवा बेर्ना उत्पदान कार्यक्रम संचालन गरेको ।
४६. न्यायिक समितिबाट ७८ वटा मुद्दा फछ्र्यौट गरेको ।
४७. “हेलो बूढानिलकण्ठ कक्ष” लाई पुर्ण रुपमा संचलानमा ल्याई जनताको गुनासो संकलन, सूचनाको सम्प्रेषण तथा सेवाको बारेमा विधि र प्रक्रिया बारे नागरिकलाई जानकारी दिने व्यवस्था गरिएको ।
४८. गरिब घर परिवार पहिचान कार्यक्रम अन्तर्गत २५ जना गणक तथा सुपरिवेक्षकहरु फिल्डमा खटिई १६००० भन्दा माथि गरिब घरपरिवारको तथ्याङ्क संकलन भई अन्तिम चरणमा रहेको ।
४९. बूढानीलकण्ठ नगरपालिकाको आधिकारिक वेभसाईट, फेसबुक पेज, यूट्युब, भाईबर जस्ता सामाजिक संजाल बाट नगरपालिकाको सूचना सम्प्रेषण गर्ने गरिएको ।

प्रतिक्रिया दिनुहोस्