काठमाडौं । चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमा मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् । चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो ।
चिकित्सको सिफारिसअनुसार अभिलेख राखेर बेच्नुपर्नेमा मेडिकल सञ्चालक बिना अभिलेख बेचेको पाइएपछि त्यस्ता औषधि जफत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब हरिनाथले बताए । “नशा रोग, निन्द्रा लगाउने, गर्भपतन गराउने लगायत औषधि बेच्नका लागि मेडिकलमा राखेको पायौँ”, उनले भने, “बेचिएका त्यस्ता औषधिको अभिलेखसँगै चिकित्सकको सिफारिस पनि फेला नपारेपछि जफत गरेका छौँ ।”
भियग्रा नामक औषधिसमेत चिकित्सको सिफारिसबिना बेच्न नपाइने भएकाले सो समेत जफत गरिएको सिनियर अहेब हरिनाथले बताए । उनका अनुसार म्याद नाघेको ठूलो परिणामको औषधि समेत तीनवटै मेडिकलबाट बरामद गरिएको छ । चिकित्सकको सिफारिसबिना चलाउनै नपाइने औषधि बेच्ने मेडिकलका बारेमा प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ ।
बजार अनुगमनका क्रममा म्याद नाघेका र मेडिकल सञ्चालकले सिफारिसबिना आफ्नै खुशीले बेच्न नपाउने औषधि नबेच्न सचेत गराइए पनि अटेरी गर्दै मानव स्वास्थ्यमा असर पर्ने गरी औषधि बेच्न थालेपछि नगरपालिकाले कारबाही अगाडि बढाउने भएको छ ।
अनुगमन टोलीले औषधि पसल चार, मासु पसल एक, नास्ता पसल चार, मिठाइ पसल एक, किराना पसल सात, मोबाइलसम्बन्धी पसल चार, सुनचाँदी पसल एक, हार्डवेयर पसल तीन, फेन्सी पसल दुई, शृङ्गार पसल एक र अन्य एक गरी ३१ वटा पसलमा अनुगमन गरेको थियो ।
अनुगमन गरिएका पसलमा मूल्यसूची नराखिएको, म्याद नाघिएका वस्तु राखिएको र नापतौलाका उपकरण प्रमाणित नगरेको पाइएको छ । “म्याद नाघेका वस्तु तत्कालै जफत गरेका छौँ”, अनुगमन टोलीमा सम्लग्न नगरपालिकाका नायब सुब्बा लक्ष्मीदत्त पाण्डेयले भने, “नापतौलका उपकरण तत्काल प्रमाणित गराउन र चियानास्ता पसलमा सरसफाइ गर्नका लागि पहिलोपटकका लागि सचेत गराएका छौँ ।”
बजार क्षेत्रमा हुने कालोबजारी नियन्त्रण गर्ने कार्यसँगै सर्वसाधारणले सहज र सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु चाडपर्वका बेला उपभोग गर्न पाउन् भनेर अनुगमनलाई अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । रासस