काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा प्रष्टरूपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उनले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पारे । उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताए ।
उनले भने, ‘यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो ।’
उनले विपक्षी गठबन्धनले तालमेल भने पनि खासमा त्यो गठबन्धन नै रहेको भन्दै त्यहाँ रहेका अनुहार र प्रवृत्ति कस्ता छन् भन्ने कुरा पनि स्पष्ट रहेको बताए ।
उनले सत्तारुढ गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले कुनै दुबिधा नराखी एक अर्काको निर्वाचन चिन्हमा मतदान गर्न आग्रह गरे ।
तत्कालीन सात राजनीतिक दल र माओवादी एक आपसमा नमिलेको भए देश संघीय लोकतान्त्रिक गणतन्त्रमा जान्थ्यो र ? भन्ने प्रश्न उनले गरे । उनले कुनै पनि हीन भावना नराखी एक अर्का दलले गठबन्धनका उम्मेदवारलाई खुसी भएर मतदान गर्न आग्रह गरे ।