दुःख र संघर्षपूर्ण बाल्काल
नेकपा (एमाले) को स्थायी समितिका सदस्य, विदेश विभागका प्रमुख तथा यतिबेला काठमाडौँ क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन भट्टराईको जन्म २०२५ साल असार ३१ गते सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट गाउँमा भएको थियो । उनकी आमाको नाम मनमाया भट्टराई हो भने बुवाको नाम टङ्कनाथ भट्टराई हो ।
राजधानीबाट धेरै टाढाको गाउँ होइन सिन्धुकोट । राजधानी रहेको काठमाडौँ जिल्लासँग जोडिएको जिल्ला हो सिन्धुपाल्चोक । यस जिल्लाको पश्चिमी भाग काठमाडौँ र नुवाकोट जिल्लासँग जोडिएको छ । काठमाडौँ जिल्लासँगको सिमानाभन्दा अलिकति पर रहेको सिन्धुकोट यातायातको सुविधाका कारण अहिले राजधानीसँग झनै नजिक बन्न पुगेको छ । काठमाडौँको साँखु हुँदै हिँडेर जाँदा लगभग चार घन्टाको पैदयलयात्रामा पुगिने यो ठाउँमा अहिले यातायातका साधनबाट एकडेढ घन्टामै पुग्न सकिने भएको छ । तर हिजोको स्थिति बेग्लै थियो । राजधानीको जिल्लासँग नजिक रहेपनि यो ठाउँ दुर्गमजस्तै लाग्थ्यो । यहाँका बासिन्दा कसैको पनि जीवन सुखपूर्ण थिएन । सबैले कठोर मिहिनेत र परिश्रममै बाँच्नुपथ्र्यो । राजन भट्टराई पनि बाल्यावस्थादेखि नै गाउँको त्यही दुःखमा सहभागी हुनपुगेका थिए ।
सिन्धुकोटको मध्यमवर्गीय पण्डित परिवारमा राजन भट्टराईको जन्म भएपनि यस परिवारको मूल पेशा भने कृषि नै थियो । खेतीपाती र गाईवस्तु पालननै भट्टराई परिवारको जीविकाका आधार थिए । त्यसैले बाल्यावस्थादेखि नै कृषिकर्मसँग जोडिएको केही न केही काम नगरीकन र दुःख नगरीकन अगाडि बढ्ने अवस्था हुँदैनथ्यो । राजन भट्टराई पनि त्यस्तै दुःख बेहोरेर यहाँसम्म आइपुगेका हुन् । मध्यमवर्गीय पण्डित परिवारमा जन्मिए पनि उनको बाल्यकाल दुःखद् र सङ्घर्षपूर्ण नै रहन पुगेको थियो ।
राजन भट्टराई तीन वर्ष पूरा भएर चार वर्षमा लाग्दैथिए, त्यहीबेला उनले आफ्नी आमालाई गुमाउनु प¥यो । उनकी ममतामयी आमाको अल्पायुमै अत्यन्तै असामयिक निधन भएपछि बालक राजन टुहुरो बन्नपुगे । एउटा बालकका लागि जन्मदिने आमाको स्नेह र ममता कतिसम्म महत्वपूर्ण हुन्छ भन्ने कुराको अनुभव गर्ने बेलामै उनले आफ्नी आमालाई गुमाउनु प¥यो । उनको बाल्यजीवनमा यो अत्यन्तै मार्मिक अवस्था थियो । आमाको दुःखद् निधनको घटनाले राजनको तत्कालको पालनपोषणमात्र होइन, उनको भविष्य नै अन्योलग्रस्त बन्न पुगेको थियो ।
सिन्धुकोटको त्यो भट्टराई परिवार ! चार हजुरबुवाका चारवटा छुट्टाछुट्टै मूलढोका भएको एउटै घर । मूलढोका फरकफरक भएपनि आँगन एउटै । अलिटाढाबाट हेर्दा एउटै परिवारको एउटै ठूलो (लाम्चो) घर । दाजुभाइको सम्बन्ध र दैनिक व्यवहारमा एउटै परिवारजस्तो । सबै परिवार एकै ठाउँमा हुँदा लगभग ८० जनाको संयुक्त परिवार । चार हजुरबुबाका आआफ्ना परिवारलाई अलगअलग गर्दा पनि प्रतिपरिवारमा सरदर २० जना । राजनको बाल्यकालको समयमा एउटा अनौठो र रमाइलो सम्बन्ध, पारस्परिक सहयोग र आत्मीय वातावरणमा चलेको थियो त्यो भट्टराई परिवार, जसलाई बिजुली पण्डितका खलक पनि भन्ने गरिन्थ्यो ।
कान्छा हजुरबुबाका नाति राजन भट्टराई बाल्यावस्थामैै ममतामयी आमालाई गुमाएर टुहुरो बनेपनि त्यो ठूलो परिवारमा आफ्ना पिता, हजुरआमा, काकाहरु, दिदीहरू, सानीआमाहरू, फुपूदिदीहरू आदि धेरैको पालनपोषण, हेरचाह र संरक्षणमा रहे । उनका दुई दिदी र एक भाइमध्ये उनी तेस्रो सन्तान हुन् । ठूलो परिवारमा सबैको स्नेह पाएर नै उनी भविष्यको बाटो पछ्याउने जीवनसङ्घर्षमा सानैदेखि सफल रहे ।
काठमाडौँको चाबहिल, मैजुबहालमा समेत राजन भट्टराईका बुबा टङ्कनाथ भट्टराई र कान्छा हजुरबाका जेठाछोरा हेमराज भट्टराईको २०२२ सालमा किनेको एउटा संयुक्त घर थियो । गाउँबाट पढ्न आउने र अन्य काममा आउनेहरू त्यसै घरमा स्थायी–अस्थायी रूपमा बस्ने गर्थे । गाउँतिरका दाजुभाइहरू त्यस घरमा आउने–जाने गरिरहन्थे । एककिसिमले त्यो घर सिन्धुकोटका बिजुली पण्डितका खलकहरूकै साझा घरजस्तो थियो । राजन भट्टराई छ वर्षको उमेरमा पढ्नकै लागि मैजुबहालको आफ्नो त्यही घरमा बस्न थाले । २०३२ सालमा उक्त घर बिक्री गरेपछि उनी केही समय पशुपति, देउपाटनमा श्याम महर्जनको घरमा डेरामा पनि बसे । २०३५/०३६ सालमा चाबहिल, पीपलबोट (भगवानस्थान बौद्धस्तूप अगाडि) चार भाइको संयुक्त घर बनेपछि उनी त्यही बस्थे । पछि, त्यो घर पनि बिक्री गरेर दाजुभाइ (बुबाहरूका बीच) को अंशबण्डापछि राजन चाबहिल, गणेशस्थानपछाडिको विनायकटोलको घरमा बस्न थालेका हुन् ।
छ वर्षको उमेरमा चाबहिल, मैजुबहालको घरमा बस्न थालेपछि राजन प्राथमिक कक्षामा अध्ययनका लागि चाबहिलकै पशुपति मित्र माध्यमिक विद्यालयमा भर्ना भएका थिए । उनले त्यहाँ चार कक्षासम्म अध्ययन गरेका थिए । त्यसपछिको पढाइलाई अगाडि बढाउने क्र्रममै राजन पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयमा पुगे । त्यहाँ कक्षा पाँचदेखि पढ्न थाले । २०३८ सालतिर कक्षा आठमा पढ्दै गर्दा उनी अनेरास्ववियु (त्यतिबेला एकताको पाँचौँ) को सम्पर्कमा पुगे । उनी त्यस स्कुलमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा सङ्गठित भए । त्यहीँबाट उनको राजनीतिक जीवनको आरम्भ भयो । बाल्यकालबाट किशोरकालमा प्रवेश गरेका राजनको पढाइसँगसँगै राजनीतिक यात्रा पनि अगाडि बढ्यो ।
किशोरकालमा प्रवेश गर्नुभन्दा अघिको बाल्यकालमा राजनले धेरै दुःखकष्ट बेहोरेका छन् । आमा नहुँदाको अवस्था एउटा बालकका लागि त्यसैपनि दुःखदायी हुन्छ । त्यसमाथि बालखैमा घरपरिवार (बुबा, हजुरआमा, काका, सानीआमा र दिदीहरू) बाट अलग भएर काठमाडौँको घरमा बस्नुपर्दा उनको मनले थप दुःखको अनुभव गर्नुपरेको थियो । कतिपय अवस्थामा एक्लै पकाउने, खाने, कपडा धुनेजस्ता सबै काम आफैँले गर्नुपर्ने हुन्थ्यो । आमाबाबुको काखमा हुर्किनुपर्ने बालकका लागि त्यो स्थिति निकै कष्टकर बन्नपुगेको थियो । विभिन्न कालखण्डमा उनले चरम आर्थिक सङ्कटको अवस्थालाई समेत भोग्नुपर्यो । तथापि, त्यो अवस्थालाई पनि उनले आफ्नो जीवनको सङ्घर्षकै रूपमा लिए र आफूलाई अगाडि बढाए । बिस्तार–बिस्तार असल साथीभाइको सङ्गतपछि उनी चाबहिल बस्नमै रूचाउन थाले । उनी चाबहिलका आफ्ना साथीभाइसँग मिलेर पढ्ने, खेल्ने गर्न थाले । शनिबार आयो कि वागमतीमा पौडी खेलेर दिन बिताउने कुरामै पनि उनी रमाउन थाले । चाबहिलका मित्र वाचनालय, लामपोखरीको वीरेन्द्र पुस्तकालय, मित्र क्लबलगायतका पुस्तकालय तथा क्लबहरूको सदस्य बनेर उनले आफूलाई अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढाए । पढाइप्रतिको अभिरुचिसँगै उनमा राजनीतिक चासो बढ्दै गएपछि भने उनको अतिरिक्त क्रियाकलापप्रतिको सक्रियता घट्दै गएको थियो ।
चाबहिलमा बसेर पद्मोदय हाइस्कुलमा अध्ययन गरिरहेको बेला २०३५/०३६ सालको आन्दोलन चर्किरहेको थियो । विशेष गरेर काठमाडौँमा चर्किएको विद्यार्थी आन्दोलनको प्रभाव सबैतिर फैलिरहेको थियो । त्यसबाट अधिकांश शिक्षण संस्था प्रभावित बने भने किशोर र युवा विद्यार्थीहरू पनि ठूलो मात्रामा प्रभावित बन्नपुगे । भट्टराई परिवारभित्रकै केहीको (ठुलाबुबा, काका) को राजनीतिक संलग्नताका कारण राजनीतिप्रति चासो राख्दै आएका राजन त्यो विद्यार्थी आन्दोलनलाई पनि गम्भीर चासोका साथ लिन थाले । त्यससँगै चाबहिलमै पनि अग्रज दाजुहरूका वामपन्थी गतिविधिहरूसँग उनी नजिक रहनपुगेका थिए ।
राजन भट्टराई राजनीतिमा सक्रिय रहनुमा भट्टराई परिवारभित्रकै परिवेश पनि उत्प्रेरक रहन पुगेको थियो । राजनका माइला हजुरबुबाका माइला छोरा स्व. गुणनिधि भट्टराई २००७ सालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ गोरखा परिषद् हुँदै नेपाली काङ्ग्रेसमा सक्रिय हुनुहुन्थ्यो । उहाँ २०१५ सालको आम चुनावमा सिन्धुपाल्चोकबाट एम.पी. चुनिनु भएको थियो । यस्तै जेठो हजुरबुबाका जेठा छोरा स्व. हेमराज भट्टराई गाउँको प्रधानपञ्च हुनुहुन्थ्यो । राजनकै काका स्व. लोचनप्रसाद भट्टराई पनि कुनै समय गाउँ पञ्चायतको सचिव तथा सदस्य भएर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । राजनीतिमा भट्टराई परिवारको यो संलग्नताले राजनलाई पनि राजनीतिप्रति अभिरुचि जगाउने काम गरेको थियो ।
३ वर्षको उमेरै आमा गुमाए
उहाँको जन्म मध्यमवर्गीय परिवारमा भएको हो । मध्यमवर्गीय परिवार भएपनि विभिन्न दुखकष्ट र बाधा–व्यवधानहरूसँग जुध्दै उहाँले आफ्नो जीवनलाई अगाडि बढाउनुभएको छ । तिनबर्षको हुँदा आफुलाई जन्म दिने आमा गुमाउनु भएका भट्टराईले राजनीतिक जीवनमा मात्र होइन, व्यक्तिगत जीवनमा पनि कठोर सङ्घर्षहरू गर्नुभएको छ । त्यही सङ्घर्षकै कारण उहाँले राजनीतिमा पनि निरन्तर अगाडि बढ्ने सफलता पाउनुभएको छ ।
शिक्षा
क. राजन भट्टराईले प्राथमिक शिक्षा काठमाडौँको यसै क्षेत्रभित्र रहेको चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयबाट प्राप्त गर्नुभएको हो । त्यसपछि उहाँले पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयबाट २०४१ सालमा एस.एल.सी.पास गर्नुभयो । उच्चशिक्षा अध्ययनका सिलसिलामा उहाँले अर्थशास्त्र, गणित र अङ्ग्रेजी विषय लिएर त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पसबाट २०४४ सालमा आइ.ए.पास गर्नुभयो । त्यसरी नै अर्थशास्त्र र अङ्ग्रेजी विषय लिएर त्रिभुवन विश्वविद्यालयकै त्रिचन्द्र बहुमुखी क्याम्पसबाट २०४७ सालमा बि.ए.पास गर्नुभयो । क. राजन भट्टराईले छात्रवृत्तिअन्तर्गत बेलायतको युनिभर्सिटी अफ लन्डनबाट २०५८ सालमा ‘इन्टरनेसनल रिलेसन एन्ड डिप्लोम्याटिक प्राक्टीसेज’ विषयमा एम.ए. पास गर्नुभएको छ । अध्ययनलाई अगाडि बढाउने क््रmममै उहाँले ‘स्कुल अफ इन्टरनेसनल स्टडिज’ अन्तर्गत ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा भारतको जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्लीबाट २०६९ सालमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ ।
राजनीतिक सक्रियता
क. राजन भट्टराई काठमाडौँको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा २०३७/०३८ देखि अनेरास्ववियुका विभिन्न गतिविधिहरूबाट त्यस सङ्गठनप्रति आकर्षित हुनुभएको हो । सोही क्रममा उहाँ अनेरास्ववियुप्रति आबद्ध हुनुभयो । २०३७/०३८ सालमा उहाँ पद्मोदय माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बन्नुभयो । सङ्गठित हिसाबले यो नै उहाँको जीवनको पहिलो राजनीतिक र साङ्गठनिक आबद्धता थियो ।
विद्यार्थी राजनीतिमा अगाडि बढ्ने क्रममै उहाँ २०३९ सालमा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटीको सदस्य बन्नुभयो भने २०४० सालमा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटीको सचिव चुनिनुभयो । २०४० सालदेखि तत्कालीन नेकपा (माले) सँग पार्टी सम्पर्कमा रही काठमाडौँ पूर्वीक्षेत्रको भूमिगत काममा उहाँको सहयोग रहन थाल्यो ।
राजनीतिक सक्रियतालाई अगाडि बढाउने सिलसिलामै क. राजन भट्टराई २०४१ सालमा अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी सदस्य बन्नुभयो भने २०४२ सालमा उहाँले अनेरास्ववियुको काठमाडौँ जिल्ला कमिटी सदस्यको जिम्मेवारीका साथै अनेरास्ववियु काठमाडौँ जिल्लाको पूर्वी इलाका अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभयो । २०४३ सालमा अनेरास्ववियु काठमाडौँ जिल्ला सहसचिव, २०४४ सालमा अनेरास्ववियु काठमाडौँ जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक र २०४४ सालमै अनेरास्ववियुको नवौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य हुँदै उहाँ २०४६ सालमा अनेरास्ववियु केन्द्रीय कमिटीको सचिव हुनुभयो ।
विद्यार्थी राजनीतिसँगसँगै उहाँ पार्टीको जिम्मेवारीमा पनि संलग्न रहँदै आउनुभएको थियो । उहाँ २०४६ सालदेखि २०५० सालसम्म नेकपा (एमाले) को विद्यार्थी विशेष जिल्ला कमिटीको सदस्य रहनुभयो । उहाँ २०४८/०४९ सालमा अनेरास्ववियुको विदेश विभाग प्रमुख हुनुभयो भने २०४९ सालमा ‘एसियन स्टुडेन्ट एसोसिएसन’ (आसा) को सह–महासचिवमा चुनिएर २०५३ सालसम्म त्यसैमा कार्यरत रहनुभयो । उहाँले २०५० देखि २०५३ सालसम्म नेकपा (एमाले) को पूर्वी तथा दक्षिण पूर्वी एसिया जिल्ला कमिटीको सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।
२०५३ सालदेखि विद्यार्थी क्षेत्रको उहाँको जिम्मेवारी पूर्णरूपले पार्टी काममा स्थानान्तरित भयो । उहाँ २०५३ सालदेखि २०५८ सालसम्म नेकपा (एमाले) को विदेश विभागको सचिव हुनुभयो । २०५४ देखि २०५८ सालसम्म नेकपा (एमाले) उपत्यका समन्वय कमिटीको सदस्य तथा सोही कमिटीको प्रचार विभाग प्रमुखसमेत रहेर काम गर्नुभयो । २०६० सालदेखि २०६२ सालसम्म उहाँ पुनः नेकपा (एमाले) विदेश विभागको सचिव रहनुभयो । २०६४ सालदेखि पार्टीको विदेश विभागको सदस्य तथा २०६९ सालदेखि राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका रूपमा कार्यरत क. राजन भट्टराई नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७८ सालमा सम्पन्न एमालेको दशौँ महाधिवेशनपछि उहाँ पार्टीको स्थायी समिति सदस्य, विदेश विभाग प्रमुख र प्रवास इन्चार्जको महत्वपूर्ण जिम्मेवारीमा रहनुभएको छ ।
गिरफ्तारी/मुद्दा/जेल
क. राजन भट्टराई विद्यार्थीकालमा पहिलो पटक २०४१ सालमा गिरफ्तारीमा पर्नुभएको थियो । त्यसपछि २०४१ सालदेखि २०४६ सालका बिचमा बाह« पटक गिरफ्तारीमा पर्नुभयो । गिरफ्तारीकै क्रममा २०४२ सालमा ८ महिना जेल जीवन बिताउनु भयो भने २०४४ सालमा ४ महिना जेल सजाय भोग्नुभयो । उहाँमाथि निरङ्कुश पञ्चायती सरकारले २ वटा राजकाज मुद्दा लगाएको थियो र सर्वस्वहरणको सुचना पनि जारी गरेको थियो ।
उहाँ २०४६ सालको संयुक्त जनआन्दोलनमा उपत्यकामा विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन भूमिगत रूपमा नेतृत्वकारी भूमिका खेले वापत पञ्चायती निरङ्कुशताको वारेन्टमा पर्नुभएको थियो । त्यसरी नै २०६२/०६३ को जनआन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि महत्वपूर्ण भूमिका खेले वापत शाही शासनको वारेन्टमा पर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय सभा/सम्मेलन र गोष्ठीहरूमा सहभागिता
अन्तर्राष्ट्रिय सभा/सम्मेलनहरूमा सहभागिता जनाउने क्रममा क. राजन भट्टराई पहिलो पटक २०४५ सालमा एसियामा प्रजातन्त्र र मानवअधिकार विषयमा ‘एसियन स्टुडेन्ट एसोसिएसन’ले थाइल्यान्डको बैङ्ककमा आयोजना गरेको सम्मेलनमा सहभागी हुनुभएको थियो । त्यसको लगत्तै २०४६ मा लाओसमा आयोजित एसिया प्रशान्त युवा तथा विद्यार्थी सम्मेलनमा नेपाली विद्यार्थीको प्रतिनिधित्व गर्दै सहभागी हुनुभयो । त्यसपछि २०४७ सालमा फिलिपिन्समा आयोजित अन्तर्राष्ट्रिय शान्ति सम्मेलन, २०४८ मा दिल्लीमा आयोजित ‘एसियन स्टुडेन्ट एसोसिएसन’ को सम्मेलन, २०४८ मा ब्राजिलमा आयोजित वातावरण र विकास विषयक सम्मेलन, २०४९ मा मलेसियामा आयोजित वातावरण र विकास विषयक कार्यशाला, २०४९ मा अस्ट्रियामा सम्पन्न मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घ विश्व सम्मेलन, २०५० मा जापानमा सम्पन्न शान्ति र विकाससम्बन्धी युवा सम्मेलन, २०५० मै अमेरिकामा आयोजित वातावरण र विकाससम्बन्धी सम्मेलन, २०५० मा फिलिपिन्समा आयोजित पूर्वी टिमोरबारे एसिया प्रशान्त सम्मेलन, २०५१ मा एसिया तथा प्रशान्त क्षेत्रमा प्रजातन्त्रको सुदृढीकरणमा युवाहरूको भूमिका विषयमा अस्ट्रेलियामा आयोजित अन्तर्राष्ट्रिय सेमिनार, २०५७ मा वामपन्थी र प्रजातान्त्रिक पार्टीहरूबारे अस्ट्रेलियामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन, २०५८ मा लन्डनमा आयोजित बेलायती विदेश नीतिबारेको सेमिनार, २०५८ मा बेल्जियमा आयोजित युरोपेली युनियन र यसको भूमिका विषयक सेमिनार, २०६१ मा बैङ्ककमा आयोजित नेपालमा ‘डेमोक्रेटिक सेटव्याक’ विषयक कार्यक्रम, २०६३ मा श्रीलङ्कामा आयोजित गरिबी र शासन विषयक सम्मेलन, २०६५ मा पाकिस्तानमा आयोजित एसियाका राजनीतिक पार्टीहरूबारे अन्तर्राष्ट्रिय सम्मेलन र २०६६ मा चीनको कुनमिङमा सम्पन्न गरिबी निवारणमा चिनिया सहभागितासम्बन्धी ‘आइक्याप’ इन्टरनेसनल सम्मेलनमा सहभागी हुनुभएको थियो ।
क. राजन भट्टराई २०६६ सालमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहेका समयमा उच्चस्तरीय भ्रमणदलमा संलग्न रही विभिन्न मुलुकको भ्रमणमा सहभागी हुनुभयो । यस क्रममा उहाँले २०६६ मा इजिप्टमा आयोजित असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन,न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घ महासभा बैठक, डेनमार्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन, २०६७ मा भुटानमा सम्पन्न सार्क शिखर सम्मेलन, ब्रसेल्समा सम्पन्न युरोपेली युनियनको एलडिसी सम्मेलन, रुसमा सम्पन्न अन्तर्राष्ट्रिय बाघ सम्मेलनलगायत चीन, भारत र कम्बोडियाको भ्रमण गर्नुभएको थियो । यसबाहेक पनि सुरक्षा, द्वन्द्व, अन्तर्राष्ट्रिय सम्बन्धलगायत अन्य आर्थिक तथा सामाजिक विषयहरूमा आयोजित अन्तर्राष्ट्रिय सेमिनार, कार्यशाला, सम्मेलन र गोष्ठीहरूमा उहाँको सहभागिता रहेको छ । विभिन्न मुलुकको भ्रमणका क्रममा त्यहाँको राजनीतिक, आर्थिक र सामाजिक विकासका विषयमा ज्ञान र अनुभव हासिल गर्ने काम उहाँले गर्नुभएको छ ।
यसरी नै उहाँले २०७४ सालमा दोस्रो पटक प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहेका बेला प्रधानमन्त्रीको राजकीय भ्रमणटोलीमा संलग्न रही चीन, भारत, स्विजरल्यान्ड, भियतनाम, कम्बोडिया, बेलायत र फ्रान्सको भ्रमण गर्नुभएको थियो ।
उहाँ गत असारमा चेक रिपब्लिकको प्रागमा आयोजित ‘एसिया–युरोप पोलिटिकल फोरम’को बैठकमा सहभागी । सोही बैठकबाट दुई वर्षका लागि फोरमको अध्यक्षमा निर्वाचित । प्रागमै भएको आइक्यापको बैठकमा स्ट्यान्डिङ कमिटीको सदस्यका रूपमा सहभागी ।
विशेष ज्ञान र अनुभव
बौद्धिक राजनीतिक व्यक्तित्वको छवि निर्माण गर्नु भएका क. राजन भट्टराई विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्पर्क–सम्बन्ध र कूटनीतिका सवालमा विशेष ज्ञान हासिल गरेको बौध्दिक नेता हुनुहुन्छ । त्यही व्यक्तित्वकै कारण उहाँ नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहका एक सदस्यसमेत हुनुहुन्थ्यो । नेपाल–भारत बिचको सन् १९५० को सन्धिलगायत सबै सन्धि, सम्झौता र सहमतिहरूको पुनरावलोकन गर्ने र एक्काइसौँ शताब्दीमा नेपाल–भारत सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा ठोस सुझाव दिन नेपाल सरकारबाट चार र भारत सरकारबाट चार जना गरी आठ सदस्यीय समूह गठन भएको थियो ।
विगतमा २०७० देखि २०७४ सम्म संविधानसभा सदस्य रहनु भएका क. राजन भट्टराईले लोकतान्त्रिक संविधानको निर्माणमा सक्रिय भूमिका खेल्नुभएको छ । त्यसबाहेक अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सदस्य रहेर त्यससम्बन्धी नीति–निर्माणमा समेत अहम् भूमिका खेल्नुभएको छ । उहाँ एसियाली राजनीतिक पार्टीहरूको युवा फाँटको अन्तर्राष्ट्रिय सम्मेलन (युथ विङ्ग अफ इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज–आइक्याप २०१४) को वरिष्ठ उपाध्यक्षसमेत रहनुभएको थियो ।
क. राजन भट्टराई २०६५ सालदेखि नेपालको शान्ति प्रक्रियामा सक्रिय रहनुभएको छ । उहाँले २०६५ सालदेखि नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) को अध्यक्ष, २०६६/०६७ सालमा प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकार, २०५९–२०६२ मा ‘नीति अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरएडी) मा अनुसन्धाता, २०५८/०५९ मा ‘नीत अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरडी) मा अनुसन्धान परामर्शदाता र २०६१/०६२ मा ‘फ्रेन्ड्स फर पिस’ (एफएफपी), काठमाडौंमा अनुसन्धान परामर्शदाताका रूपमा अनुभव हासिल गर्नुभएको छ । उहाँ २०७५ देखि २०७८ असारसम्म प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार हुनुहुन्थ्यो ।
उहाँ २०७७ फागुनमा नेपाल सरकारद्वारा गठित वार्ता टोलीका सदस्य हुनुहुन्थ्यो । नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठित दुई सदस्यीय वार्ता टोलीले तत्कालीन विद्रोही कम्युनिस्ट पार्टी – नेकपा विप्लवसँग राजनीतिको मूलप्रवाहमा आउनका लागि वार्ता गरेको थियो । उक्त टोलीसँगको वार्तापछि नै उक्त पार्टीले शान्तिपूर्ण रूपमा खुल्ला राजनीतिमा आएको घोषणा गरेको थियो ।
पुस्तक/स्तम्भ लेखन र सम्पादन
क. राजन भट्टराईले सन् २००५ को फेब्रुवरीमा लेख्नुभएको ‘जियोपोलिटिक्स अफ नेपाल एन्ड इन्टरनेसनल रेस्पोन्सेज टु कन्फ्लिक्ट ट्रान्सफोर्मेसन’ शीर्षक पुस्तक प्रकाशित छ । उहाँले वामपन्थी राजनीति, समसामयिक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय सम्बन्ध र सुरक्षाका विषयमा दुई दशक अगाडिदेखि नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेखहरू लेख्दै आउनुभएको छ । दि हिमालय टाइम्स, दि काठमाडौँ पोस्ट, कान्तिपुर दैनिक, नयाँ पत्रिकालगायतका पत्रपत्रिकाहरूमा उहाँका विविध विषयका लेखहरू प्रकाशित छन् ।
लेखनसँगै उहाँ सम्पादनको काममा पनि संलग्न रहँदै आउनुभएको छ । उहाँले ‘चेन्जिङ सेक्युरिटी डाइनामिक्स इन नेपाल’ (अगस्ट २००९), ‘इमर्जिङ सेक्युरिटी च्यालेन्जेज अफ नेपाल’ (डिसेम्बर २०१०), ‘ह्युम्यान सेक्युरिटी इन नेपाल ः कन्सेप्ट, इस्युज एन्ड च्यालेन्जेज’(२०१२) जस्ता पुस्तकको सम्पादन गर्नुभएको छ ।
प्रशिक्षण/अध्यापन
क. राजन भट्टराई विद्यार्थी कालमा देशको शैक्षिक अवस्था र विद्यार्थी आन्दोलनका बारेमा विभिन्न प्रशिक्षणहरूमा सहभागी हुनुभयो । त्यसयता थुप्रै प्रशिक्षण तथा अध्यापन कार्यमा उहाँको संलग्नता रहँदै आएको छ । पार्टी राजनीतिमा संलग्न रहेपछि उहाँ देश तथा विदेशमा पार्टीका कार्यनीति र रणनीतिका बारेमा अनेकौं छलफल, बहस र प्रशिक्षणहरूमा सक्रियतापूर्वक सहभागी रहँदै आउनुभएको छ । उहाँ वैचारिक बहस र प्रशिक्षणमा पनि सहभागी रहँदै आउनुभएको छ । उहाँले नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्तको रूपमा रहेको ‘जनताको बहुदलीय जनवाद’सम्बन्धी प्रशिक्षण तथा समकालीन सन्दर्भमा यसको सामाजिक–आर्थिक पक्षको व्याख्या–विश्लेषणमा पनि अभिरुचि राख्दै आउनु भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा र द्वन्द्वका बारेमा त्रिभुवन विश्वविद्यालयलगायत अन्य निकायमा विषय विशेषज्ञका रूपमा अध्यापन कार्यमा पनि उहाँ संलग्न रहँदै आउनुभएको छ ।
यो पनि पढ्नुहोस्
एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा निर्वाचित