काठमाडौं–४ मा नेकपा एमाले पराजयको कारण र अबको बाटो



कामठाडौं । देशकै राजधानी काठमाडौं त्यसमा पनि नेकपा एमालेबाटै उम्मेद्वार बनेका जननेता मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पटक–पटक निर्वाचित भएको भूगोल अहिलेको काठमाडौं–४ नेकपा एमाले पराजयको श्रृंखलाले चौथो पटक पनि निरन्तरता पायो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पराजयपछि काठमाडौं–४ बाट नेकपा एमाले उठ्नै नसक्ने पो हो कि भन्ने मनोविज्ञान खाँट्टी एमालेजनमा बढ्दै गएको छ । हरेक पराजयको कारण पार्टीको उम्मेद्वारलाई मतदाताले नपत्याउनु नै हो । जनताले पत्याउने आधार बुझ्न भने शहरी क्षेत्रहरुमा समस्या पर्दै गएको देखिन्छ । यद्धपी समग्रमा जनसम्पर्क र विगतभन्दा भिन्न उम्मेद्वारलाई मतदाताले पत्याए । त्यसमा पनि युवाहरु मतदाताको रोजाईमा परे । राज्यश्रोतको प्रयोग गरेर आफ्नो क्षेत्रको विकास गर्नेहरु समग्रमा जनअनुमोदित भएनन् । कार्यकर्ताको भावना बुझ्ने र मासलाई प्रभावपार्न सक्ने उम्मेद्वारहरु समग्रमा सफल भए । परिणामस्वरुप काठमाडौं ४ मा न्यूट्रल र पपुलर मत गगन थापाले पाए । 

आम शहरी मतदाता जस्तै काठमाडौं ४ का मतदाताहरुको रोजाईमा पनि यसपटक डा. राजन भट्टराई पर्न सकेनन् । प्रधानमन्त्रीको सल्लाहकार रहँदा डा. राजन भट्टराईकै पहलमा ८ अर्व ३० करोड बढी बजेट विनियोजन गरेर यस क्षेत्रको खानेपानी, सडक बाटो, पार्कहरु, शैक्षिक संस्थाहरुको विकासमा पुर्याएको योगदानलाई मतदातासम्म स्थापित गर्न सकिएन । पार्टी वा एमाले उम्मेद्वारले जित्नुपर्छ भन्ने मनोभावनाले केहि संचारमाध्यामहरुले एमाले उम्मेद्वारको पक्षमा वकालत गरेपनि मिडियाको प्रयोग गरेर डा. राजन भट्टराई आफैँले बोल्नुपर्ने कतिपय विषयमा मौन बस्नु र विपक्षीले त्यहि विषयमा अपनत्व लिनुले आफैले गरेका कामहरुको जस पनि डा. राजन भट्टराईले लिन सकेनन् ।

काठमाडौं ४ एमाले पराजयको बुँदागत कारण

पार्टी भित्रको प्रभाव
डा. राजन भट्टराई पार्टीको स्थायी कमिटी सदस्य थिए भने प्रतिष्पर्धी गगन थापा नेपाली काँग्रेसको महामन्त्री थिए । भट्टराई केन्द्रिय सदस्यबाट मनोनित भएर स्थायी कमिटीमा पुगेका थिए भने गगन थापा पार्टी भित्र प्रत्यक्ष रुपमा निर्वाचित महामन्त्री थिए । नेपाली काँग्रेस भित्र गगन थापा सम्भावित सभापतिको उम्मेद्वारको रुपमा व्याख्या गरिएका व्यक्ति थिए भने पार्टीभित्र भट्टराईको प्रभाव थापाको तुलनामा कमजोर थियो ।

कार्यकर्ताको संरक्षणमा थापा पार्टीभित्र अब्बल थिए । आफ्ना सहयोगीहरुलाई च्याप्ने कारणले पनि वडादेखि क्षेत्र, प्रदेश र केन्द्रिय कमिटीमा समेत आफ्नालाई स्थापित गराउन थापाले निर्णायक भूमिका निर्वाह गरेको कारण गगन थापालाई सहयोग गरिएन् भने राजनीतिक भविष्य सकिन्छ भन्ने भयले पनि काँग्रेसका सबै सदस्यहरु एकजुट भएर लागे । एमालेजनमा डा. राजन भट्टराईलाई बुझ्ने दृष्टिकोण समग्रमा सकारात्मक देखिएन् ।

विपक्षीको अतुलनीय आर्थिक प्रभाव
गगन थापा ६ महिना अघिदेखि युवासँग जोडिन विभिन्न शैक्षिक संस्थाहरुको प्रयोग गरेर नेतृत्व विकास र क्षमता विकासका कार्यक्रम मार्फत दशौँ हजार युवाहरुमा पुगेका थिए । कार्यक्रममा सहभागी हुने युवाहरुलाई छोटो सम्बोधन गर्ने, प्रमाणपत्र वितरण गर्ने र खाना ख्वाएर बिदा गर्ने गर्थे । यस किसिमका कार्यक्रमहरुमा मात्र गगन थापाले करोडौं खर्च गरेको काँग्रेस श्रोतले जनाएको छ ।

६ महिनालाई मुख्य चुनावी अभियान बनाएका गगन थापा सो अवधिमा बढीमा ४ घण्टा सुतेको गगन सचिवालयमा काम गरेकाहरुले बताएका छन् । हरेक राती ८ बजेबाट शुरु हुने थापाको खानपिन सहितको राजनीतिक भेटघाट बिहानको ३ बजेसम्म हुने गरेको थियो । खान मनपराउने शहरी सभ्यतामा हुर्किएकाहरु रातभरी थापाको भोजमा रमाईरहे । 

आर्थिक प्रलोभनमा पर्नसक्ने विपक्षी मतदाताहरुलाई थापाले उनीहरुको प्रभाव अनुसारको मूल्य तिरे । यसरी प्रभाव पर्नेहरुमा परिवर्तनकारी छवि बनाएका रवि थापादेखि नेकपा एमालेको प्रदेश, जिल्ला कमिटी, वडा पार्टी कमिटीका पदाधिकारीहरु, स्थानीय तहमा निर्वाचितहरु र प्रदेशमा आफूलाई दावेदार मानेकाहरु समेत परेको चर्चा सुनिन थालेको छ ।

ग्रास रुटसम्म पुगेको भट्टराईवादी मुद्दा
अन्तर्मुखी स्वभावका डा. राजन भट्टराई पार्टी भित्रको जिम्मेवारी विभाजन व्यक्तिको क्षमता र पार्टीको आवश्यकता अनुसार हुनुपर्छ भन्ने भूमिगतकालिन मानसिकताबाट गाईडेड छन् । त्यसैले नेकपा एमालेको वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेशदेखि केन्द्रिय कमिटीसम्म राख्नुपर्ने र भएका नेताहरुप्रति उनको खासै चासो र चिन्ता भएको देखिदैन । राजन भट्टराईले देख्नेगरी उनको र पार्टीको काम ईमान्दारीपूर्वक गर्दा राजन भट्टराईबाट सहयोग पाईन्छ भन्ने कार्यकर्ताहरु काठमाडौं ४ भेट्न सकिदैन ।

निर्वाचन अभियानकै दौरानमा एउटा स्थानीय संचारमाध्यामले नेकपा (भट्टराईवादी) भन्ने शीर्षकमा एउटा समाचार प्रकाशन गर्दै डा. राजन भट्टराईलाई केन्द्रमा राखेर काठमाडौं ४ भित्र जिम्मेवारी पाएका भट्टराई थरका व्यक्तिहरुको नामावली सार्वजनिक गर्यो । जसमा निर्वाचित वडाध्यक्ष, राष्ट्रपति सचिवालय सदस्यसहित करिब दर्जनजति नेता कार्यकर्ताको लिष्ट समावेश भएको देखिन्छ । विपक्षीले यसैलाई प्रचारको ठूलो औजार बनाए त्यसमा एमाले कार्यकर्ताहरु समेत भ्रमित भए । भट्टराईवादको प्रभाव खासगरी बूढानीलकण्ठ १०, १२ र महानगरको ७ मा जबर्जस्त ढंगले स्थापित भयो । एमालेका कतिपय कार्यकर्ताहरुले समेत यसलाई प्रतिकार गर्न सकेनन् वा चाहेनन् ।

हार्दिकताको अभाव र रमिते जनप्रतिनिधि
पार्टी प्रशिक्षणको अभावले स्थानीय कमिटीहरुले आफ्नो जिम्मेवारी बोध गर्न सकेनन् । पार्टीको जिम्मेवारीमा बस्नेहरु नै आफूलाई केन्द्रित गरेर बार्गेनिङ्गमा लागे ।  काठमाडौं ४ (१) र ४(२) को प्रदेश सभामा दावेदारी गर्नेहरु बीचमा छलफल गरी भावनात्मक एकता गराउने कुरामा डा. राजन भट्टराई चुके । धेरै आकांक्षीहरु मध्ये केहीलाई प्रदेश समानुपातिक र केहिलाई संघीय समानुपातिकमा समेट्नु पर्नेमा भूगोलबाट डा. भट्टराईले एकजनालाई पनि समेट्न सकेनन् वा चाहेनन् जसको कारण नेतृत्व तहमै रहेका नेताहरु समेत निर्वाचन अवधिभर असहयोगी देखिए ।

पार्टी कमिटी र डा. राजन भट्टराई बीचमा छलफल गर्ने, हार्दिकतापूर्वक कुराकानी गर्ने वातावरण अघिल्लो निर्वाचनदेखि अहिलेसम्म पनि कुनै कमिटीले समेत पाएनन् । सधैभरि अतिथिको रुपमा सहभागी हुने, आफ्नो कुरा सकेर हिड्ने , कार्यकर्ताको कुरै नसुन्ने कारणले स्वभावले गर्दा मतपरिणामको भिन्नता निकै बढेको एमाले कार्यकर्ताहरु बताउँछन् ।

प्राय सधैँ हतारमा हुने भट्टराईको बानी निर्वाचन अवधिमा अझै बढी देखियो । पार्टी कमिटी, जनप्रतिनिधिहरु वा खास भनिएकाहरुसँग समेत नियमित छलफल गर्नु र कमिटीगत रिपोर्टिङ्ग लिने । समिक्षा गर्ने विषय भट्टराईको कार्यसूचीमै परेन । व्यक्तिगत एप्रोचलाई निर्वाचन जित्ने औजार बनाएका भट्टराईमा देखिएको अवास्तविक कन्फिडेन्स समेत पराजयको मुख्य कारण बन्यो ।

स्थानीय निर्वाचनमा सानदार ढंगले जितेको क्षेत्रहरुमा समेत एमाले रक्षात्मक बन्यो । आफू जित्नको लागि जस्तोसुकै हत्कण्डा अपनाउने जनप्रतिनिधिहरुले संघीय निर्वाचनमा आफ्नो औपचारिकता भन्दा बढी योगदान गर्न चाहेनन् वा सकेनन् आफैँ जनप्रतिनिधि हुने, पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहने तर काम चाहिँ कार्यकर्ताले गरिदिउन भन्ने चेतना र चिन्तनको कारण समेत काठमाडौं४ (२) बाट एमालेले अपेक्षित नतिजा ल्याउन सकेन ।

आउँदा निर्वाचनहरुमा अपेक्षित परिणाम ल्याउनको लागि पार्टी नेता र कार्यकर्ताहरुमा हार्दिकता विकास गर्नुपर्छ । पार्टी स्कूललाई सक्रिय बनाउँदै पार्टी कमिटीहरुलाई जिम्मेवार र गतिशील बनाउनुपर्छ । पार्टी कमिटी र जनप्रतिनिधिले गर्ने हरेक काममा सल्लाह र सहकार्य गर्नुपर्छ । विकास निर्माणको क्षेत्रमा पार्टीको निर्देशनको आधारमा विकास निर्माणको काम अघि बढाउनुपर्छ ।

नेकपा एमालेका कमिटीहरु जिम्मेवारी हेरफेर गर्दै हरेक कमिटीहरुमा ५० प्रतिशत युवा सहभागीतालाई ग्यारेन्टी गर्नुपर्छ । योग्यता, क्षमता र योगदानको आधारमा जिम्मेवारी दिने परिपाटीको विकास गर्नुपर्छ । त्यसो गर्न सकिएन भने एमाले अझ पातलोहुँदै जाने निश्चित देखिन्छ ।  

यो पनि पढ्नुहोस्

डा. राजन भट्टराईको संघर्षपूर्ण जीवनी

एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा निर्वाचित

आगामी ५ वर्षमा डा. राजन भट्टराईका ३० ग्यारेण्टी

सांसद विकास कोषको हिसाब गर्दा डा. भट्टराईले पारेको बजेट ल्याउन १६६ वर्ष लाग्थ्यो (योजना र बजेटको सूची सहित)

प्रतिक्रिया दिनुहोस्