काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् ।
बुधबार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपाली प्रकृतिको विशेषता, भुगोल र नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता आफूहरुले खोजेको बताएका हुन् ।
उनले देशलाई संघीय संरचनामा लाने बेलामा आफूहरूले समुदायको पहिचान झल्किने गरी नाम राखेर जान खोजेको भएपनि त्यस्तो गर्न नसकिएको बताए । समुदायको आधारमा नाम राख्दा जात विशेषको हुन खोजेको प्रचार भएपनि सो आधारमा नामाकरण गर्न नसकिएको उनले स्पष्ट पारे । मन्त्री पौडेलले समुदायको आधारमा संघीय संरचनाको नामाकरण गर्दा राम्रो हुने धारणा व्यक्त गरे ।
उनले राज्यका सबै निकायहरूमा समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्व सुनिश्चित हुनु नै संघीयताको खास अर्थ भएको उल्लेख गरे ।
उनले नेपालमा भएका सबै समुदाय, भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । सबै भाषा र संस्कृतिको जगेर्ना गर्नु आपसमा विभेद सिर्जना गर्नु नभएको उनको भनाइ छ । मन्त्री पौडेलले आपसी सद्भावलाई कायम राख्दै समुदाय विशेषको परम्परा र प्रचलनहरुलाई अगाडि बढाउनुपर्ने बताए ।