काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन सकिएपछि संघीयदेखि प्रदेश सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन् । पोखराको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले सरकार निर्माणसँगै देशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा मन्थन भइरहेको बताए ।
‘निर्वाचन सकियो । आज निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा निर्वाचित नामावली पठाउँछ । त्यसपछि संघीय सरकार प्रदेशको सरकार बन्नेतिर जानेछ । त्यसको तयारी स्वरूप पार्टीहरूबीच भेटघाट र छलफल भइराखेका छन्’ प्रचण्डले भने, ‘देशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा मन्थन जारी छ ? सरकारले कस्ता कामलाई प्राथमिकता दिने भन्ने छ ?’ अहिलेको निर्वाचन २०६४,७० र ७४ सालको भन्दा फरक भएको प्रचण्डले टिप्पणी गरे ।
‘यो निर्वाचनले प्रमुख दललाई चुनौती दिएको छ । केही अवसर पनि दिएको छ । अब सहज र सरल ढंगले मात्रै लिएर हुँदैन’ प्रचण्डले भने, ‘अब गम्भीर समीक्षासहित आउने दिनमा सुशासन, विकास र समृद्धिको दृष्टिकोणले नयाँ अभियान सुरु गर्न सकेनौ भने आउने दिनमा निकै अप्ठ्यारा दिन आउन सक्छन् ।’
यो निर्वाचनबाट केही राजनीतिक दलहरू जन्मिएको विषयलाई सकारात्मक रुपमा लिनुपर्ने प्रचण्डले बताए । ‘मधेस र पहाडमा केही नयाँ पार्टीहरू जन्मिएका छन् । यो संविधान अन्तर्गत जन्मिएकाले हामीले सकारात्मक रुपमा लिनुपर्छ । त्यसले हामीलाई नेपाली जनताको सेवामा समर्पित हुने अवसर मिलेको छ’ प्रचण्डले भने ।