काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएको बताएका छन् ।
आइतबार उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा उनले सत्ता गठबन्धन सरकार गठननजिक भए पनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको बताए ।
“जनताले हामीलाई सरकार गठनको जनादेश दिएका छैनन् । सत्तारूढ गठबन्धनले सरकार गठनको म्यान्डेट त प्राप्त गरेको छैन, यद्यपि सरकारको गठननजिक छ । तर, स्वार्थको सौदाबाजीमा अल्मलिरहेको छ,” उनले भने, “गठन्धनको प्रधानमन्त्री को भन्न सक्दैनन् । गठबन्धनको नीति, उद्देश्य के हो भन्न सकिरहेका छैनन् ।”
गठबन्धन राष्ट्रको चुनौती सामना गर्ने विषयमा असफल रहेको उनको भनाइ छ । गठबन्धन ‘स्वार्थहरूको झुन्ड’ भएकाले राष्ट्रिय समस्या समाधान गर्न नसक्ने उनको टिप्पणी छ ।