निसीखोला गाउँपालिकाले नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै



काठमाडौं । अहिले पनि बागलुङको निसीखोलामा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । यहाँका नागरिकले उपचारका लागि बुर्तिबाङ झर्नुपर्छ ।

बुर्तिबाङ पनि उपचार हुनसकेन भने पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता छ । वर्षौँ अगाडिदेखि स्वास्थ्य बीमाका कार्यक्रम सञ्चालन भए पनि धेरैले त्यो सेवा लिएका छैनन् । निसीखोला गाउँपालिकाले अहिले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ ।

गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पालिकाभरका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका थिए । सोहीअनुसार गाउँपालिकाले गाउँ–गाउँमा पुगेर निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले पालिकाभर रहेका २३ हजार तीन सय बढी नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन निःशुल्क स्वास्थ्य बीमा गर्न थालिएको बताए ।

उनले अशिक्षित तथा आर्थिक अभावका कारण नागरिकले सामान्य रोगको उपचार नपाएको भन्दै उनीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमलाई तीव्रता दिएको बताए । गरिबीका कारण कयौँ नागरिकले उपचार नपाए ज्यान गुमाउनु परेको भन्दै अब कोही पनि आर्थिक अभावमा रोग पालेर बस्न नपर्ने अध्यक्ष घर्ती मगरले बताए । उनले नेपाल सरकारले लिएको स्वास्थ्य बीमा अभियानमा गाउँपालिकाले हातेमालो गरी दूरदराजमा रहेका सबै नागरिकलाई यो अभियानमा सहभागी गराउने बताए ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले पुस महिनाभर सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिसक्ने गरी अभियान चलाइएको बताए । उनले गाउँमै स्वास्थ्य बीमा गर्ने गरी सात वटै वडामा कर्मचारी खटाइने बताए । निःशुल्क स्वास्थ्य बीमाका लागि गाउँपालिकाले यस वर्ष रु दुई करोड बजेट विनियोजन गरेको छ । उपाध्यक्ष घर्ती मगरले भने, “स्वास्थ्य बीमा यो महिनाभरि गरी सक्छौँ, यो अभियानबाट कोही पनि नागरिक छुट्ने छैनन्, सबै वडामा स्वास्थ्यकर्मी तथा कर्मचारी खटिने छन्, त्यसका लागि सबै व्यवस्थापन पूरा भएको छ ।” स्वास्थ्य बीमा गरेका नागरिकले एक वर्षसम्म रु एक लाख बराबरको निःशुल्क उपचार र औषधि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्