वालिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होमस्टेको पहिचान दिन संस्कृतिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमाअवस्थित सिरुबारी सामुदायिक घरबास (होमस्टे) को रजत जयन्तीका अवसरमा आज सिरुबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘घरबासमा आउने पाहुनालाई जे जति सकिन्छ स्थानीय परिकारहरू र स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिऔँ, यसले होमस्टेको पहिचान दिने बताएका हुन् ।
घरबासमा सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका परिकारहरू दिन आग्रह गर्दै उनले भने, घरबास भनिए पनि कतिपय ठाउँमा बजारबाटै खरिद गरेर ल्याइएका सामग्रीहरुको प्रयोग हुन्छ’, ।
स्थानीयस्तरमा उत्पादन भएको खाद्यान्नको प्रयोगले स्थानीयता पनि झल्कने र गाउँको आम्दानी गाउँमै रहने भएकाले आर्थिक विकासमा समेत महत्वपूर्ण उपलब्धि हुने उनले बताए ।
यो घरबासको २०५४ कात्तिक २३ गते विधिवत् स्थापना भएको थियो । क्याप्टेन रुद्रमान गुरुङले सिरुबारीलाई दक्षिण एसियाकै पहिलो सामुदायिक घरबासका रुपमा स्थापना गरेको जनाइएको छ ।
घरबासको रजत जयन्तीका अवसरमा गत बिहीबारदेखि विविध कार्यक्रमहरू गरिएका छन् । होमस्टेको राजधानी अर्थात् पाठशालाका रुपमा स्थापित सिरुबारीले विभिन्न पुरस्कारहरू प्राप्त गरिसकेको छ । सिरुबारीले सामुदायिकस्तरमा पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानलाई कदर गर्दै प्यासिफिक एसिया ट्राभल एसोसिएसन–२००१ ‘पाटा अवार्ड’ प्राप्त गरेको छ । विसं २०७४ मा उत्कृष्ट होमस्टेका रुपमा पनि पुरस्कार प्राप्त गरेको छ । देशकै एकसय नयाँ पर्यटकीय गन्तव्यमध्ये सिरुबारी सामुदायिक घरबास पनि सूचीकृत छ । ३९ घरबाट सुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ ।