आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की



विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्नुपर्ने बताएका छन् ।

प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्नुपर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व रहेको बताएका हुन् ।

मूल समारोह समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने जनाउँदै जनताको सङ्घर्ष तथा वीर वीरा¬ङ्गना सहिदको बलिदानबाट स्थापित भएको प्रजातन्त्र आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहेको छ” ।

उनले भने, प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षको मार्गदर्शन स्वरुप नेपालको वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था अङ्गीकार गरेको छ । न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने हाम्रो लक्ष्य छ ।

मुख्यमन्त्री कार्कीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्न सकोस् शुभकामना पनि दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्