काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको शक्तिका अगाडि जस्तोसुकै निरङ्कुश शासकहरूले पनि घुँडा टेक्नु पर्ने बताएका छन् ।
प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौँको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले जनताको शक्तिका अगाडि जस्तोसुकै निरङ्कुश शासकहरूले पनि घुँडा टेक्नै पर्ने बताएका हुन् ।
उनले भने, लोकतान्त्रिक चरित्र भएको नेता नै सच्चा जनप्रिय नेता हुन्छ, ‘विश्वको इतिहासले पनि यही देखाएको छ। रुसमा जारको निरङ्कुश शासन, फ्रान्समा लुई सोहौँको निरङ्कुश शासन, बेलायतको गौरवमय क्रान्ति यसका केही उदाहरण हुन्,’।
जनताको आन्दोलनले निरङ्कुश राणा शासनलाई घुँडा टेकाएको सात दशक पूरा भएको छ। एक सय चार वर्षसम्म राणाहरूको स्वेच्छाकारी शासनले जनताको हकहितलाई कुण्ठित पारेको थियो। मानव अधिकारको उपयोग गर्न पाएका थिएनन्। राणाहरूको निरङ्कुश शासनबाट दबिएका जनता बिस्तारै सङ्गठित भई प्रजातन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए । देशमा विद्यमान एकतन्त्रीय राणा शासनविरुद्ध सुरु भएको जनताको क्रान्तिले २००७ फागुन ७ गते सफलता पाएसँगै राणा शासनको अन्त्य गरी प्रजातन्त्रको घाम उदाएको थियो,’ उनले भने।
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। तर, आज देशभित्र विद्यमान रहेका समस्याहरूको कारण बहुदलीय व्यवस्था हो कि भन्ने भ्रमजाल छर्ने काम लोकतान्त्रिक व्यवस्थाको जन्मजात विरोधीहरूबाट भइरहेको छ। गल्ती(कमजोरी, असल(खराब राज्य सञ्चालकहरूको हातबाट हुनसक्छ तर विषयहरूको समाधान तथा हल भने लोकतान्त्रिक प्रणाली भित्र मात्र सम्भव छ,’ महरले भने। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने अभिव्यक्ति दिएसँगै उक्त अभिव्यक्तिलाई इङ्गित गर्दै महरले उक्त धारणा राखेका हुन्।
त्यसैले जुनसुकै कुनाकन्दराबाट थालिएको लोकतान्त्रिक व्यवस्था विरोधी ‘कृत्रिम ब्ल्याकहोल’ निर्माण गर्ने दिवास्वप्न छोडेर लोकतान्त्रिक पद्धतिका माध्यमबाटै जनता र देशको समुन्नतिको महाअभियानमा लाग्ने प्रेरणा लोकतन्त्रवादी र सबै खाले अतिवादीहरूमा मिल्नुपर्ने उनले बताए।