काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् ।
जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङ्गलुरुमा हुँदैछ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।
पौडेलसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् ।
नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको वेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको छ । जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरु सदस्य छन् ।