काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन् ।
बिहीबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानिसहरुले माओवादी केन्द्र स्थिर भएको भनिरहेपनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गरे ।
“राजनीतिमा अहिले हरेक स्थानमा चुनौती रहेको छ । त्यसलाई चिरेर अघि बढ्नुपर्छ,” उनले भने, “माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी सम्हालिरहेको छ ।”
उनले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरु अघि नबढ्ने दाबी गरे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बताए ।