उपप्रधानमन्त्री श्रेष्ठ र बेलायतका सांसद शर्माबीच भेटवार्ता



काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद वीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गरेका छन् । बेलायतको लेबर पार्टीका सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति पनि हुन् ।

सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायतको सेना र ब्रिटिश गोर्खा सेनाबीच समानता हुनुपर्ने धारणा राखेको उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधान गर्ने विषयमा चासो राख्दै यसमा सांसद शर्माबाट विशेष सहयोगको अपेक्षा गरेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलकबाट स्तरोन्नति हुँदै गरेको प्रसङ्गमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै तथा नेपालले पाउँदै आएको सुविधा निरन्तर कायम राख्न अनुरोध गरे ।

जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उनले भने, “जलवायु परिवर्तनको असर र मार नेपालजस्तो मुलुकमा बढी परेको छ । यसमा बेलायतको भूमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ ।” उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगका बारेमा चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्