काठमाडौँ । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति ६.५ म्याग्निच्युडको भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अरु सयौँ घाइते भएका छन् ।
अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएको ती मुलुकका सरकारी अधिकारीहरूले बताएका छन् । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयका लागि तालिबान सरकारका प्रवक्ता शराफत जमान अमरले भूकम्पबारे जानकारी दिएका हुन् ।
भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तान नजिकै पर्ने अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।
उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरको छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।
भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ भने धेरै स्थानीय घाइते भएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको अस्पताल प्रशासनले बताएको छ ।