त्रिविका ४४ आंगिक क्याम्पसको नतिजा अनेरास्ववियु पहिलो, माधव नेपालको विद्यार्थी संगठन शून्य !



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक क्याम्पस मध्ये ४४ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमाले निकट अनेरास्ववियुले १९ क्याम्पसहरुमा सभापति सहित बहुसंख्यक पदाधिकारीहरु जितेर पहिलो भएको छ ।

माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले एउटा पनि क्याम्पसमा स्ववियु जित्न सकेन । मत परिणाम अनुसार ४४ मध्ये १९ क्याम्पसमा अनेरास्ववियु, दोस्रोमा नेपाली कांंग्रेस निकट नेपाल विद्यार्थी संघले १८ क्याम्पसको स्ववियु सभापतिमा जित निकाल्दा माओवादी निकट अखिल क्रान्तिकारी ४ वटामा सिमित भएको छ ।

यसैगरी, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले २ वटा र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले एउटा क्याम्पसको सभापति जितेको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये २२ वटा काठमाडौं उपत्यकाभित्र र ४० वटा काठमाडौं बाहिर छन् ।

काठमाडौं उपत्यकाका नेपाल कमर्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, त्रिचन्द्र, आरआर लगायतको निर्वाचन भएको छैन । काठमाडौं बाहिर मोरङ, विरगञ्ज, सुर्खेत, पोखराका क्याम्पसमा पनि निर्वाचन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्