काठमाडौं । बीडी त्यागी स्मृति केन्द्रले बीडी त्यागी स्मृति सम्मान २०८० को लागि पाँच प्रतिभा चयन गरेको छ ।
केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको कार्य समिति बैठकले बीडी त्यागी स्मृति सम्मान साहित्यकार राधेश्याम लेकालीलाई एक सय एक रुपैयाँको सिक्काको थैली, साहित्यकार रामचन्द्र दाहाललाई बीडी त्यागी योगदान सम्मान, प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे र साहित्यकार सरु पोखरेललाई बीडी त्यागी प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
केन्द्रले हरेक वर्ष साहित्यिक गतिविधि र उत्थानका लागि अनुकरणीय कार्य गर्ने गैर साहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराईलाई अर्पण गर्ने भएको छ ।
उपन्यासकार शङ्कर भारती संयोजक र साहित्यकार गङ्गा पौडेल र संस्थाका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरिएको केन्द्रले जनाएको छ ।
आगामी बैशाख १८ गते साहित्यकार बीडी त्यागीको २० औं स्मृति दिवसको अवसरमा एक कार्यक्रम बीच सम्मान प्रदान गरिने अध्यक्ष कृष्ण आचार्यले परिवर्तन खबरलाई बताए ।
१०८ स्वामी गोपालानन्द गिरी परिचयात्मक काव्य, बन्द झ्यालको शिशा भित्र कथा संग्रह, उत्पात हास्यव्यङ्ग्य उपन्यास, बैराग्य नाटक, शुभेच्छा कवितात्मक एल्बम, अठार अध्याय गीता महात्म्य, धोती न टोपी लोककथा संग्रह, समृद्धि सपना राजनैतिक उपन्यास, चार थुम्का उपन्यास संग्रह कृतिहरु प्रकाशित भएका साहित्यकार बीडी त्यागीको २०६० साल बैशाख १९ गते ६४ वर्षको उमेरमा निधन भएको थियो ।