उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता



काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ ।

नेपालगन्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमासमेत उनीहरुबीच छलफल भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे ।

उनले सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने बताएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्