मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १४ खेलको प्रतियोगिता गर्दै



काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा विभिन्न १४ खेलको प्रतियोगिता हुने भएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा ७ खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।

विविध खेलकुदअन्तर्गत मंगलबारदेखि राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा यु–१५/यु–१९ ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । क्वाटरफाइनल पुग्ने खेलाडीलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

सातै प्रदेशमा बैशाख २७ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । पोखरामा जेठ २३ गतेदेखि केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता हुनेछ । ६ टिमको सहभागिता रहने पूर्व क्रिकेटर शक्ति गौचनले जानकारी गराए । त्यसमा भारतबाट पनि १ टिमले सहभागिता जनाउने बताइएको छ । विजेताले १० लाख तथा उपविजेताले ५ लाख नगद पुरस्कार जित्ने छन् । उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

बैशाख २८ गतेदेखि सातै प्रदेशमा मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । जेठ ४ गतेदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा खुला पुरुष तथा महिला बास्केटबल हुनेछ । पहिलो हुने टिमले १ लाख ५० हजार तथा दोश्रोले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । झापाको विर्तामोडमा बैशाख २० गतेदेखि राष्ट्रव्यापी कराते प्रतियोगिता हुने तालिका छ । विभिन्न १५ स्पर्धा समावेश प्रतियोगितामा एक इभेन्टका पदक विजेतालाई जम्मा २५ हजार नगद पुरस्कार तोकिएको छ । भक्तपुरमा बैशाख १९ गतेदेखि राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुनेछ । यो खेलमा पनि नगद पुरस्कार राखिएको छ । बामती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता बैशाख २५ देखि काठमाडौंमा हुँदैछ । प्रथम हुने टिमले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार जित्ने छन् ।

खुला मधेश प्रदेश डोरी तान प्रतियोगिता सप्तरीमा असार २२ गते हुनेछ । पहिलो हुने टिमले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । सुर्खेतमा रेस्लिङ जेठ ३१ गते हुनेछ । विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख रुपैयाँ रहेको छ । बैशाख २५ गतेदेखि भक्तपुरमा खुला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानमा पहिलो हुनेले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार हात पार्ने छन् । बुटवलमा असार २ गतेदेखि राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २० हजार, १० हजार र ७ हजार नगद पुरस्कार पाउने छन् । बुटवलमै विद्यालयलाई लक्षित गरी आत्मरक्षा तालिम जेठ ३ देखि ५ गतेसम्म हुनेछ ।

सातै प्रदेशमा असार १ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटसल प्रतियोगिता हुनेछ । पहिलो हुनेले १ लाख तथा दोश्रोले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता बाहेक काठमाडौंमा जेठ ३ गते खेलकुद विकास अन्तरक्रिया सञ्चालन गरिने छ । कार्यक्रम सम्पन्न करिब ७ करोड २८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्