बारा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियानका क्रममा बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताएका हुन् ।
१० वैशाखमा हुने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रुपमा मैदान हुनुनै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाई थियो ।
नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा(२ का मतदाता उत्साहित देखिएको बताए । लामो समयदेखि बाराको भूगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मूल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिए ।