काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ । छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
प्रतियोगिताको तयारी बैठकमा उद्घाटन तथा सन्चालन सम्बन्धमा छलफल भएको थियो । प्रतियोगितामा सहभागी खेलका संघहरुले खेल प्रतिभाको खोजीका लागि समिति बनाउने, प्रतियोगिता सन्चालन निर्देशिकामा गर्नु पर्ने संशोधनका लागि बैशाख मसान्त सम्म सुझाव दिनु पर्ने निर्णय भएको छ ।
यस्तै प्रतियोगिताको उद्घाटनमा विभिन्न विद्यालयहरुबाट मार्चपासमा विद्यार्थीहरु सहभागी गराउने र मार्चपासमा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई पुरस्कृत गरिने भएको छ । छलफलमा परिषद्का सदस्यहरु, कराते महासंघका अध्यक्ष युवराज लामा, परिषद्का विभागिय प्रमुखहरु, भलिवल, एथलेटिक्स, कवड्डी, कराते, तेक्वान्दो र उसु संघका प्रतिनिधि र मुख्य प्रशिक्षकहरुको सहभागिता थियो ।