झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् ।
बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताएका हुन् ।
उनले चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताए । त्यस्तै एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह पनि गरे ।
अध्यक्ष ओलीले भने, ‘खेतको होस् या बारीको पाटो, सहर, गाउँबस्ती, देशविदेश सबै क्षेत्रमा एमाले पुगेको छ’,। उनले पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न आग्रह गरे । ‘साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ’, उनले भने , ‘यसले पार्टीलाई कमजोर बनाउँछ । देश बनाउने अभियान हाम्रो काँधमा छ । विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौँ, पार्टीलाई बलियो बनाऔँ ।’